coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘मदन–आश्रितका हत्यरालाई कानुनी दायरामा ल्याइन्छ’

काठमाडौं - तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित सडक दुर्घटनामा परी निधन भएको २५ वर्ष पूरा भएको छ। भण्डारी तथा संगठन विभाग प्रमुख आश्रितको सडक दुर्घटनामा नभइ नियोजित रूपमा हत्या भएको एमालेले बताउँदै आएको छ। तर उनीहरूको निधन भएको २५ वर्ष पुग्दासमेत सो घटना हत्या हो वा दुर्घटना भन्ने खुल्न सकेको छैन।

घटना भएको २५ वर्षमा तत्कालीन एमाले पाँच पटक सरकारमा पुगिसकेको छ भने नेपाली कांग्रेस, तत्कालीन माओवादी केन्द्रसँग मिलेर मात्र होइन राष्ट्रिय प्रजातन्त्र पार्टी नेतृत्वको सरकारमा समेत सहभागी भएको छ। तत्कालीन एमालेले पटकपटक उक्त घटना छानबिन गरी यर्थाथ बाहिर ल्याउने बताउँदै आएको पनि २५ वर्ष बितिसकेको छ। शुक्रबार भण्डारी तथा आश्रितको २६औं स्मृति दिवसमा गृहमन्त्रीसमेत रहेका एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापाले मदन भण्डारीको षडयन्त्रपूर्वक हत्या भएको बताउँदै हत्यरालाई कानुनी दायरामा ल्याउने बताए।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटना हुँदा दुई नेताको मृत्यु भएपछि त्यसलाई हत्या भएको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी रहेको ान्दोलनमा उत्रिएको थियो। भण्डारी चढेको जिप दुर्घटना हुँदा चालक अमर लामा भने बाँचेका थिए। उनको पनि २०६० सालमा अज्ञात समूहद्वारा हत्या गरियो। प्रहरीले उनको हत्यरा अहिलेसम्म पत्ता लगाउन सकेको छैन। प्रहरीले लामाको हत्या तत्कालीन माओवादीले गरेको भन्दै पन्छिने गरेको छ। हालका गृहमन्त्री थापा तत्कालीन माओवादीका वरिष्ठ नेता र पार्टी एकीकरणपछिका सचिवालय सदस्य हुन्।

तत्कालीन एमालेका नेताहरूले अमर लामाले कसको षडयन्त्रमा परेर जिप दुर्घटना गराए भन्दै आन्दोलनमा भएका बेला सरकारले लामालाई जेल चलान गरेपछि छानबिन तथा अनुसन्धानको पाटो टुंगियो। यद्यपि तत्कालीन सरकारले पूर्वन्यायाधीश प्रचण्डराज अनिलको नेतृत्वमा छानबिन आयोग बनायो। सो आयोगको प्रतिवेदनमा एमाले सन्तुष्ट हुन सकेन बरु आन्दोलनलाई चर्काउन पुग्यो। पछि तत्कालीन बहालवाला न्यायाधीश त्रिलोकप्रताप राणा नेतृत्वयको आयोग गठन भयो। तर सो आयोगले पनि जिप दुर्घटना हो वा हत्याकाण्ड हो खुलाउन नसकेपछि एमालेले त्यसबारे छानबिन गर्न तत्कालीन स्थायी समिति सदस्य केपी ओलीको नेतृत्वमा छानबिन समिति गठन भयो। पद्मरत्न तुलाधर संयोजनमा पनि अर्को समिति पनि बन्यो। ओली तथा तुलाधर दुवै समितिले घटनालाई षड्यन्त्रमूलक हत्या भएको ठहर ग¥यो तर दुवै आयोगले षडयन्त्र कसले गरेको हो र हत्या कसले गराएको हो भन्ने यकिन खुलाएनन्।

राणा आयोगको प्रतिवेदनबारे तत्कालीन एमालेका नेताहरूले खासै अध्ययन गर्न मानेन। ओली र तुलाधर आयोगको प्रतिवेदन कहाँ छ भन्ने समेत जानकारी नभएका पछिल्लो अवस्थामा गृहमन्त्री थापाले हत्यरालाई कानुनी दायरामा ल्याउने बताएपछि राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न गराएको छ।

उनको निधनपछि भएको मध्यावधि निर्वाचनमा एमालेले ठूलो दलका रूपमा उदायो। २०५१ सालमा पार्टी अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भए। एमाले एक्लैले बनाएको सो सरकारले त्यस विषयमा अनुसन्धान गर्ने चासो दिएन। त्यसपछि पनि एमाले पटकपटक सरकारमा गयो। २०५४ मा लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको एमाले २०५७ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा पनि सामेल भयो। त्यस्तै २०६३ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि एमाले सरकारमै थियो।

२०६५ सालमा तत्कालीन माओवादी केन्द्रले बहुमत ल्याएपछि पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि एमाले सरकारमै थियो। २०६६ सालमा एमालेकै माधव नेपाल प्रधानमन्त्री भए भने २०६८ मा तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भए। २०७० मा नेपाली कांगेसका सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको सरकारमा पनि एमाले सहभागी भयो। २०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भए। तर जतिपटक सरकारमा गएपनि तत्कालीन एमाले नेतृत्वले मदन–आश्रित दुर्घटना अनुसन्धान प्रक्रिया अघि बढाउन सकेन।

अहिले एकीकृत पार्टी नेकपाका अध्यक्ष रहेका ओली सरकारको नेतृत्वमा छन्। उनकै नेतृत्वमा रहेका गृहमन्त्री रामबहादुर थापाले मदन भण्डारी र जीवराज आश्रितको हत्यारालाई कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु गरेको बताएका छन्। २६ औं मदनआश्रित स्मृति दिवसमा शुक्रबार बिहान कोटश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन मदन–आश्रितको हत्या गराइएको बताउँदै हत्यरा अझै पत्ता नलागेकाले वर्तमान सरकारले अनुसन्धान प्रक्रिया अघि बढाएको दाबी गर्दै कानुनी दायरामा ल्याउने बताएका हुन्। ‘कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न उहाँहरूका हत्या गरेको हत्याराले नेपालमा कम्युनिस्ट शक्तिशाली हुन्छन् भन्ने सोचेका थिएनन्। त्यसकारण हत्या बारे अब छानबिन हुन्छ कानुनी दायरामा ल्याइन्छ,’ गृहमन्त्री थापाले भने। उनले मदन भण्डारीको विचारकै उपलब्धिका कारण आजको कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको बताए। ‘आजैका दिन शक्तिशाली कम्युनिष्ट पार्टीको स्थापना भएको छ।

मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण भएको यो ऐतिहासिक दिनमा नेपालको कम्युनिस्ट आन्दोलन र नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सफल पार्न उहाँको योगदानलाई सधैं सम्झनुपर्छ,’ उनले भने।

‘मदनको विचारलाई परिमार्जन गर्छौं’

मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउने क्रममा पार्टीका नेताहरूले फरकफरक दृष्टिकोण सार्वजनिक गरेका छन्। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मदन भण्डारीको दृष्टिकोण र धारणालाई समयसापेक्ष परिमार्जन गरी समयानुकल बनाउने बताए। मदन भण्डारीको विचारलाई परिवर्तन गर्नु नहुने भन्ने नभएको बताउँदै दुवै अध्यक्षले भण्डारीको विचार बाइबल या पुराण वा धर्मशास्त्र नभएको बताउँदै यसमा समयानुकुल परिमार्जन हुने बताए। दुवै अध्यक्षले जनताको बहुदलीय जनवाद परिवर्तन गरी जनताको जनवादतर्फ पार्टीलाई उन्मुख गराउने बताए।

पार्टीभित्र मदन भण्डारीको जबजलाई नै मान्नुपर्ने तर्क उठिरहेका बेला दुवै अध्यक्षले त्यसलाई ‘जडसुत्रवाद’ भने। पार्टी अध्यक्ष दाहालले एकता प्रक्रिया टुंगिसकेकाले पार्टीको ध्यान जिल्ला अधिवेशन हुँदै महाधिवेशनतर्फ अघि बढ्नुपर्ने संकेत गरे भने प्रधानमन्त्रीसमेत रहेका ओलीले भने मदनको विचार दृष्टिकोणलाई समयानुकूल अघि बढाउने बताए। अध्यक्ष दाहाले प्राप्त उपलब्धिलाई सम्मान गर्दै युग सुहाउँदो विचार अघि सार्नुपर्ने बताएका थिए। उनले पार्टी एकतामा विचारको दम्भ लिएको भए पार्टी एकता नै नहुने दाबी समेत गरे।

ओलीले पनि विचारको बहसलाई अघि बढाउनु आवश्यक भए पनि अहिलेको समयलाई ध्यान दिनुपर्ने बताए। ‘विचारलाई दम्भका रुपमा लिएको भए एकता हुने नै थिएन। हामीले अन्धो भएर पार्टी एकता गरेका होइनौं। हामी नयाँ प्रक्रियामा जाँदैछौं। जनताको बहुदलीय जनवादलाई पनि वैज्ञानिक समाजवादतर्फ लैजानुपर्छ,’ अध्यक्ष दाहालले भने।
दुवै अध्यक्षले मदन भण्डारीको हत्या भएको बताइरहँदा त्यसबारेको अनुसन्धानबारे कुनै धारणा सार्वजनिक गरेनन्। तर गृहमन्त्री थापाले भने नेपालमा बढ्दै गएको कम्युनिष्ट आन्दोनबाट अत्तालिएका शत्रुहरूले भण्डारीको हत्या गरेको आरोप मात्रै लगाएनन् त्यसको अनुसन्धान गरेर कानुनी दायरामा ल्याउने दाबी समेत गरे।

प्रकाशित: ४ जेष्ठ २०७६ ०१:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App