७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपालको खानी उत्खननमा चीनको चासो, कृषि आधुनिकीकरणमा सघाउने

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनको कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले शिष्टाचार भेट गरेका छन्। बुधबार अपरान्ह उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उपराष्ट्रपति पुनले नेपाल र चीन शताब्दीऔँ पूराना साथी भएको बताए। उनले दुई देशबीच भौगोलिकमात्र नभएर सांस्कृतिक, ऐतिहासिक र भावनात्मक सम्बन्ध रहेको बताए। नेपाल चीनबीचको सम्बन्ध घनिष्ठ रहेको र जनस्तरसम्म फैलिएको उनको भनाई थियो। 

भेटमा उपराष्ट्रपतिले नेपाल विकास र समृद्धिको मार्गमा अग्रसर रहेको बताए। उनले नेपालको विकास र समृद्धिको यात्रामा असल छिमेकी भएको नाताले चीनको सदैव साथ सहयोग रहने अपेक्षा व्यक्त गरे। उनले कृषिको आधुनिकीकरण र व्यवसायीकरण, जलविद्युत् उत्पादन वृद्धि, पर्यटनको विकास, खनिज पदार्थको उत्खनन् र पूर्वाधार निर्माण विकासको प्राथमिकतामा रहेको बताए। 
‘हामीले नेपाललाई छोटो समयमा विकसित र समृद्ध राष्ट्र बनाउने संकल्पका साथ अगाडि बढेका छौँ’, उपराष्ट्रपतिले भने, ‘यसका लागि हामीले कृषि, पर्यटन, जलविद्युत्, खनिज, पूर्वाधार तथा व्यापारलाई हाम्रो समृद्धिको आधार मानेका छौँ। यी सबै क्षेत्रमा हामी चीनसँग सहकार्य चाहन्छौँ।’

उपराष्ट्रपति पुनले गभर्नरसँगको भेटमा केहीं समय अघि भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण अत्यन्त सफल भएको बताए। उनले नेपालले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाबाट बढी लाभ लिन खोजेको बताए। उपराष्ट्रपति पुनले नेपालबाट चीनको उच्चस्तरीय भ्रमण भइरहेको बताउँदै दुवै देशबाट उच्चस्तरीय भ्रमण हुनुपर्ने धारणा राखे। उनले नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेको उल्लेख गर्दै चिनियाँ नागरिकहरुलाई भ्रमणका लागि आमन्त्रण गरे।

भेटमा कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले चीन र नेपालको सम्बन्ध घनिष्ठ र पूरानो भएको बताए। उनले चीन र नेपालले विकासका लागि सहकार्य गर्नुपर्ने बताए। 

गभर्नर रेन्जियानले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ र सहकार्य हुने बताए। उनले अर्थतन्त्र र व्यापार, यातायात र पूर्वाधार, जलविद्युत, संस्कृति र पर्यटन, कृषिको विकास र अनुभव आदन प्रदानमा सहकार्य गर्ने चीनको चाहना रहेको बताए। उनले नेपालको खानी उत्खनन्मा आफूहरुको चासो रहेको बताए।

कान्सुका गर्भनर रेन्जियानले नेपालको कृषि व्यवसायलाई आधुनिकीकरणका लागि नमूना उत्पादनमा सहयोग गर्ने बताए। ‘म नेपालको भ्रमण गर्दा प्रदेश ५ मा पुगेँ। त्यहाँ कृषिको आधुनिकीकरणको आवश्यकता छ। कान्सुको कृषि प्रविधि अति उच्च छ। हामी त्यसलाई यहाँ ल्याउन सक्छौँ,’ उनले भने, ‘केही महिनामा हामीले कृषिमा मोडन उत्पादन गर्न सक्छौँ।’ 

उपराष्ट्रपतिसँगको भेटमा कान्सु प्रान्तका गभर्नर रेन्जियानसँगै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायत सहभागी थिए।

प्रकाशित: १ जेष्ठ २०७६ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App