coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भ्रष्टाचार जनस्तरबाट समाप्त पार्नुपर्छ : उपराष्ट्रपति पुन

रौतहट– उपराष्ट्रपति नन्दबहादुर पुनले सीतालाई महान नारीको संज्ञा दिएका छन्। रामायणको पात्र सीताको त्याग र समर्पणले उनलाई विश्वमा महान नारीको रुपमा स्थापित गराएको बताउँदै उपराष्ट्रपति पुनले आदर्श, त्याग, समर्पण, तपस्या, सतित्व र मातृत्व वात्सल्यका कारण माता सीताको आदर्श विश्वमा स्थापित भएको बताए।

रौतहटको कटहरिया नगरपालिकाद्धारा कटहरिया बजारमा जानकी जयन्ती समारोहको अवसरमा सोमवार आयोजित जानकी महोत्सवलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले महोत्सवले समाजमा उत्पन्न भएको महिलाहरुप्रतिको विभेद, हिंसा एवं उत्पीडनका घटनालाई अन्त्य गर्नमा मद्दत पुगोस भन्ने शुभकामना दिए। उपराष्ट्रपति पुनले नेपाल बहु जाति, बहुभाषीएवं बहु धार्मिक भएको हुँदा सवै समुदायको धर्मसंस्कृतिलाई जगेर्णा गरेमा मात्रै राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्न सकिने स्पष्ट पारे।

हिमाल, पहाड, चुरे, तराई मधेशलाई एकताको सुत्रमा यही धार्मिक संस्कृतिले एकताबद्ध गरेर राखेको हुँदा सदियौंदेखि सुन्दर देश नेपाल रहेको छ तर विभिन्न कालखण्डमा उठेका आन्दोलन एवं आवाजलाई समयअनुसार सम्बोधन गर्दै अघि बढेमा अझ आपसी एकता बालियो हुनेमा जोड दिए।

विभिन्न असमानताको कारण पछिल्ला केही बर्षयता मधेश, आदिवासी आन्दोलनसमेत भएको चर्चा गर्दै उक्त आन्दोलनबाट आएको मागहरुलाई संविधानमा समावेश गरिएको समेत उनले बताए। मधेशका जनताहरु सिमानामा ढाल बनेर नेपाली सीमाको अनवरत रुपमा रक्षा गर्दै आएकोमा धन्यवाद दिँदै आफनो मातृभूमिको रक्षा गर्न सबै नेपालीको कर्तव्य रहेको पनि बताए। स्थायी शान्ति भएपछि मात्रै दिगो विकासको परिकल्पना गर्न सकिने छ, हरेक जनताको आर्थिक रुपान्तरणमा समान ढंगबाट सम्बोधन गरी अघि बढेमामात्रै मुलुक समृद्ध भई सुखी नेपाली बन्नेछ उनको कथन थियो। 

विभिन्न समयमा राणालाई भगाउन, राजतन्त्रलाई अन्त्य गर्न र लोकतन्त्रलगायत राजनीतिक अधिकार स्थापित गराउनका लागि साझा रुपमा अघि बढेर प्राप्त गरिएका उपलब्धिलाई संस्थागत गराउनका निमित्त विकास र समृद्धिका लागि पनि संयुक्त रुपमा राजनीतिक सन्तुलन कायम हुनुपर्नेमा उनले जोड दिए।

मुलुकमा यतिखेर भ्रष्टाचार व्याप्त रहेको र यसलाई जनस्तरबाट समाप्त पारी सुशासन कायम गराउनमा मद्दत पुर्याउन सबैको कर्तव्य रहेको स्पष्ट पार्दै उपराष्ट्रपति पुनले प्रदेश प्रदेश बीच विकास निर्माण तथा जनताहरुलाई आत्मनिर्भर बनाउने अभियान संचालन गरेमा नेपाल केही बर्षभित्र विकसित मुलुकको पंक्तिमा उभिने भएको हुँदा आपसी मतभेदलाई बिर्सेर विकासको कार्यमा अघि बढ्न तथा जनमुखी कार्यमा अग्रसर हुन प्रदेश प्रमुखलाई सुझाव दिए।

नेकपा प्रदेश २ का अध्यक्ष तथा साँसद प्रभु साहले माता जानकीको जन्मदिनको अवसरमा जनकपुर बाहेक अन्य स्थानमा कुनै कार्यक्रम नहुँदा जानकीको योग्दानबारे जनमानसमा उनका कृतिबारे खासै जानकारी नभएकोमा पहिलोपल्ट जनकपुरबाहेक रौतहटको कटहरियामा यस महोत्सवको आयोजना गरिएको बताए। महोत्सवको माध्यमबाट समाजमा फैलिएको अन्धविश्वास, रुढीवादी, महिला हिंसा, उत्पीडनमा परिरहेका महिलाहरु तथा यस्ता घटना गराउनमा संलग्न रहेकाहरुमा चेतना जागृत गराउनमा मद्दत पुग्ने विश्वास लिएको पनि साँसद साहको भनजाई छ।

यसअघि उपराष्ट्रपति पुनले कटहरियामा निर्माण भएको तराई मधेश जनयुद्ध स्मृति प्रतिष्ठान भवनको एक समारोहकाबीच उद्घाटन गरेका थिए। 

प्रकाशित: ३० वैशाख २०७६ १५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App