१६ चैत्र २०८० शुक्रबार
राजनीति

केही वर्षभित्रै ल्हासाबाट रेल आउँदै छ : अध्यक्ष दाहाल

काठमाडाैं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही वर्षभित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दाबी गरेका छन्।

अध्यक्ष दाहालले चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नभएको बताए। विभूति सीता जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले भने, 'तपाई÷हामी जीवित रहँदारहँदै काठमाडौंमा रेल ल्याउने कामको सुरुवात भइसकेको छ।'

उक्त रेल लुम्बिनीसम्म लैजाने योजना तय गरिएको पनि उनले बताए। चीनको ल्हासा हुँदै काठमाडांै र काठमाडौंबाट लुम्बिनीसम्म रेल सञ्चालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुने पनि स्पष्ट पारे।

‘लुम्बिनी–पशुपति–जनकपुरलाई जोडने एउटा सर्किट दशेभित्रै बन्न जरुरी छ, नेपाल र भारत दुवै मुलुकका शक्तिपीठलाई मिलाएर एउटै शक्तिपीठ सर्किट बनाउने काम अघि बढिसकेको छ,’ उनले भने, ‘क्रान्ति ल्याउने कामलाई अघि बढाइसकियो।’

नेपालको धार्मिक पर्यटन क्षेत्रको विकासमा एउटा क्रान्ति नै आउने र दुवै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि छाउने उनको विश्वास थियो।

अध्यक्ष दाहालले आफूले पछिल्लो पटक भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शक्तिपीठ सर्किट निर्माणको विषयलाई जोड दिएर छलफल गरेको पनि स्मरण गराए। त्यस अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय विभूतिद्वय भृकुटी र सीताको महत्वलाई उजागर गरेर पनि मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्पष्ट पारे।

प्रकाशित: ३० वैशाख २०७६ ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App