१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रदेश ५ को नाम मगरात राख्न मुख्यमन्त्रीलाई ११ लाख हस्ताक्षर

रुपन्देही– प्रदेश नं ५ को नाम मगरात राख्न माग गर्दै  मूख्यमन्त्री शंकर पोखरेललाई संकलित हस्ताक्षर बुझाईएको छ। नेपाल मगर संघ प्रदेश ५ समितिको अगुवाईमा प्रदेश ५ को नाम मगरात स्वायत्त प्रदेशको पक्षमा संकलन गरिएको ११ लाख ७ सय ३५ जनाको हस्ताक्षर आइतबार मुख्यमन्त्रीलाई बुझाईएको हो।

नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोकामगर, उपाध्यक्ष दलबहादुर वीरकट्टामगर, कोषाध्यक्ष कमला थापामगर, सदस्य धनबहादुर पुन, प्रदेश अध्यक्ष बिमल सारुमगरलगायत मगर अगुवा तथा मगरात अभियन्ताहरु संकलित हस्ताक्षर बुझाउन मुख्यमन्त्रीको कार्यालय पुगेका थिए।

हस्ताक्षर बुझाउँदै संघका केन्द्रीय अध्यक्ष नविनले मगरात मगर समुदायको मात्र नभई यो मानव पहिचान, भूगोल र यस क्षेत्रको इतिहाँस र माटोसँग जोडिएकाले नामाकरणमा दायाँवाया नगर्न मुख्यमन्त्रीसँग आग्रह गरे। मुख्यमन्त्री शंकर पोखरेलले हस्ताक्षर बुझ्दै प्रदेशभित्र बसोबास गर्ने सबै समुदायको भावनालाई समेट्ने गरि नामाकरण गर्ने आश्वासन दिए। प्रदेश ५ मा मगर सुमदायको बाहुल्यता रहेकाले प्रदेशको हरेक निर्णय र योजना कार्यन्वयनमा यो सुमदायलाई प्राथमिकतामा राखेर काम गरिएको मुख्यमन्त्रीको भनाई छ। नामाकरण र राजधानीका विषयमा आफुहरु बोली हाल्ने स्थिति नभएकाले मगरातको पक्षमा प्रदेश सरकारलाई स्मरण गराएकोमा खुशी व्यक्त गरे।

मगर अगुवाहरुको ठूलो संख्या र जनसमुदायको उपस्थितिमा मगरात लेखिएको झण्डा, व्यानरसहित संकलित हस्ताक्षर बुझाउन पुगेको मगर संघले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि मुख्यमन्त्री कार्यालय परिसर अगाडि कोणसभासमेत गरेको छ। सो सभामा संघका केन्द्रीय अध्यक्ष नविनले प्रदेश ५ को नामाकरण मगरात नराखिए पहिलो फायर मगर संघले खोल्ने चेतावनी दिए।

प्रदेश ५ मा सबैको पहिचान खुल्ने गरी नामाकरण गर्नुपर्ने मगर अगुवाहरुको भनाइ छ। यसअघि नामाकरण सम्बन्धमा मगर संघले संघीय र प्रदेश सरकारलाई पटक–पटक ज्ञापन पत्र बुझाइसकेको छ। ०६८ को जनगणनाअनुसार प्रदेश ५ मा मगरको जनसंख्या ७ लाख १ हजार ५ सय ८७ रहेको छ। मगर संघले प्रदेश ५ को कूल जनसंख्याको १९ प्रतिशत मगर समुदायको दाबी छ।

प्रकाशित: २९ वैशाख २०७६ १४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App