१६ चैत्र २०८० शुक्रबार
राजनीति

न्यायपरिषद् सदस्य र बार अध्यक्षबीच भनाभन

काठमाडौं - सर्वोच्च अदालतले कानुन दिवसका अवसरमा बिहीबार चियापान कार्यक्रम आयोजना गर्‍यो। राष्ट्रपतिदेखि उच्चपदस्थ अधिकारीहरु चियापानमा सहभागी भए। कार्यक्रम सकिनै लागेका बेला न्यायपरिषदका सदस्य र नेपाल बार एसोसिएसनका अध्यक्षबीच चर्काचर्की सुरु भयो। चियापानको विषयलाई लिएर भने चर्काचर्की भएको होइन। दुई महिनाअघि परिषद्ले सर्वोच्च र उच्च अदालतका लागि गरेको न्यायाधीश नियुक्ति सिफारिस विषयलाई लिएर उनीहरूबीच भनाभन भएको होे। उक्त विषयलाई लिएर गालीगलौजमा उत्रिए परिषद्का सदस्य रामप्रसाद सिटौला र नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ।

परिषद् सदस्य सिटौलाले बार अध्यक्ष श्रेष्ठलाई भेटेपछि आक्रमक शैलीमा सोधे, ‘तपाईले के पत्र पठाउनु भएको मलाई ?’ बार अध्यक्ष श्रेष्ठले उसैगरी उत्तर दिए, ‘कस्तो पठाएको हेर्नु भएन ?’ सिटौलाले ‘मेरो बारसँग नाता टुटिसक्यो’ भन्ने उत्तर दिए। श्रेष्ठले भने, ‘तपाईले त्यसो भन्न पाउनु हुन्न। पत्र बारले पठाएको हो। ‘जथाभाबी नियुक्ति गर्नुभएको छ। न्यायालयको मर्यादामा रहनु पर्दैन।’ दुवैमा रिसको पारो चढ्दै गयो। सिटौलाले झन् आक्रमक बन्दै भने, ‘तैंले सिकाउनु पर्दैन। तँलाई देखाइदिन्छु। तेरो पत्र मैले ...।’

बार अध्यक्ष श्रेष्ठले जवाफ दिइहाले, ‘हामी पनि एक्टिभिस्ट हौं। हामी पनि देखाइदिन्छौं।’ सिटौला बारको सिफारिसमा परिषद सदस्य बनेका हुन्। न्यायाधीश नियुक्ति विषयमा सार्वजनिक रुपमा टिप्पणी हुँदै आएको छ। यसै वषयमा परिषद सदस्य र बार अध्यक्षबीच सार्वजनिक कार्यक्रममै भनाभन हुनुलाई अर्थपूर्ण मानिएको छ।

बारले सिटौलालाई पठाएको पत्र
नेपाल बार एसोसिएसनले कार्यसमितिको वैशाख ९ मा बसेको बैठकको निर्णयअनुसार न्यायपरिषद्का सदस्य तथा वरिष्ठ अधिवक्ता रामप्रसाद सिटौलालाई पत्र पठाएको थियो। न्यायपरिषद सदस्य नियुक्ति सिफारिस तथा सम्पर्क समन्वय निर्देशिका बनाउन लागेको जानकारी गराउँदै पत्र पठाइएको थियो।

‘न्यायपरिषद् गतिविधि एवं निर्णय प्रक्रिया सम्बन्धमा माननीय सदस्यज्यूसँग भेटघाट तथा छलफल, रायसुझाव लिन समेतका लागि यहाँको अनुकूल समयमा बार कार्यालयमा उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्छाैं’, पत्रमा लेखिएको छ। सिटौलालाई अनुकूल समय जानकारी गराउनसमेत पत्रमा आग्रह गरिएको छ। सिटौलालाई सम्बोधन गरी बारका महासचिव लीलामणि पौडेलले हस्ताक्षर गरी पत्र पठाएका थिए। त्यही पत्रको विषयलाई लिएर बिहीबार दुवैजनाबीच भनाभन भएको हो।

कानुन दिवसका अवसरमा आयोजित चियापानमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरालगायत उपस्थित भए। कानुन दिवस २०७६ लेखेर टाँगिएको ब्यानरसँगै मन्च बनाइएको थियो। मन्चमा राष्ट्रपतिलगायत शीर्ष व्यक्तित्वलाई आसन गराएपछि चियापान सुरु भयो। प्रधानन्यायाधीशको मन्तव्य आउने भनिए पनि मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले सबैलाई सम्बोधनसहितको स्वागत गरेपछि चियापान सुुरु भएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधबार बेलुकी नै लिखित शुभकामना दिएका थिए। प्रधान न्यायालय ऐन २००९ साल वैशाख २६ बाट लागू भएको दिनको सम्झनामा कानुन दिवस मनाउने गरिन्छ। ‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहँदै निस्पक्ष, सक्षम न्यायपालिकाको प्रवद्र्धन गर्न’ प्रधानन्यायाधीशको शुभकामना सन्देशमा उल्लेख छ, ‘सहज पहुँचयुक्त एवं जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न थप हौसला प्रदान गर्ने विश्वास लिएको छु।’

प्रकाशित: २७ वैशाख २०७६ ०१:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App