१५ चैत्र २०८० बिहीबार
राजनीति

‘प्रधानमन्त्रीको भ्रमणको पूर्वतयारी भएन’

काठमाडौं– परराष्ट्र मामिलाका जानकार तथा पूर्वराजदूत डा. शम्भुराम सिंखडाले प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम तथा कम्बोडिया भ्रमणको पर्याप्त तयारी नभएको बताएका छन्। उनले भियतनाममा हुने वैशाखी सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता हुने र सम्बोधन गर्ने कुरा राम्रो भए पनि नेपालको आन्तरिक राजनीतिाई विचार गरेर भ्रमणको तयारी गर्नुपर्नेमा जोड दिए। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बाेल्दै सिंखडाले भने, ‘प्रधानमन्त्रीको भ्रमणमा पूर्व तयारी भएको भए उपयुक्त हुन्थ्यो, विदेश नीतिमा आम सहमति हुनुपर्छ।’ उनले नेपालको संक्रमणकालीन न्याय जटिल विषयवस्तु बनेर आउन सक्ने खतरा पनि औंल्याए। अहिलेको सरकार नेपालको इतिहासमै तेस्रो ठूलो प्रवाह भएकाले अब आफ्नो छवि कस्तो बनाउने भन्ने कुरा उसको प्रस्तुतीकरणमा भर पर्ने उनको भनाइ थियो। सिंखडाले ओलीको भियतनाम र कम्बोडियाको भ्रमण सांस्कृतिक कूटनीतिलाई बढावा दिन महत्त्वपूर्ण हुने बताए।

उनले भियतनाम र कम्बोडिया दुवै देश संक्रमणकालीन अवस्थाबाट माथि उठेर उच्चस्तरको आर्थिक वृद्धिद्धर हासिल गरेका मुलुक भएकाले भ्रमणको क्रममा त्यसबाट लाभ लिन सक्नुपर्ने सुझाव दिए।

कार्यक्रममा प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओलीको भ्रमण भियतनाम र कम्बोडियासँग द्विपक्षीय सम्भावनाको खोजीमा केन्द्रित हुने बताए। उनले भने, ‘भियतनामसँग हाम्रो कूटनीतिक सम्बन्ध धेरै पूरानो हो। तर, यो बीचमा द्विपक्षीय क्रियाकलाप सघन रूपमा हुन सकेका थिएनन्। भियतनाम दक्षिणपूर्वी एसियाको उदाउँदो राष्ट्र हो। द्वन्द्वपछि शान्ति कायम गर्दै स्थायित्व हासिल गरेको राष्ट्र हो। प्रधानमन्त्री ओलीको भ्रमणबाट हामीले लाभ लिन सक्छ।’

उनले भ्रमण सांस्कृतिक पक्ष आदान–प्रदानमा पनि केन्द्रित हुने बताए। भट्टराईले बहुंख्यक भियतनामी जनताले बुद्ध धर्म मान्ने भएकाले नेपालमा बुद्धिष्ट पर्यटक भित्र्याउनका लागि पनि प्रधानमन्त्रीको भ्रमण फलदायी हुने विश्वास दिलाए। उनले भने, ‘लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ। हामीले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउँदैछौं। त्यसैले धार्मिक पर्यटक भित्र्याउनका लागि पनि यो भ्रमण फलदायी हुनेछ।’

उनले कम्बोडियासँग पनि द्विपक्षीय व्यापार लगानीको सम्भाव्यताबारे खोजी गरिने बताए। ‘पछिल्लो समय कम्बोडियाले पर्यटनको विकासमा चमत्कार नै गरेको छ। नेपालले पनि कम्बोडियाको पर्यटन विकासबाट सिक्नुपर्छ।’ प्रधानमन्त्रीको भ्रमणलाई लिएर विज्ञले गरेको टिप्पणीप्रति बोल्दै उनले थाहा नभएकाले बोल्न नहुने सुझाव दिए।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले भियतनाम र कम्बोडिया दुवै देशसँग नेपालको पुरानो र प्राचिन सम्बन्ध भएकाले प्रधानमन्त्री ओलीको भ्रमण फलदायी र सफल हुने विश्वास दिलाए। वैशाखी–डेमा प्रधानमन्त्रीले मुख्य वक्ताको रूपमा बोल्ने कार्यक्रम रहेकोले उक्त सम्मेलनमार्फत ग्लोवल बुद्धिज्म र लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा प्रर्बद्धन गर्न पनि कोशेढुंगा हुने श्रेष्ठको दाबी छ। बिहीबारबाट दुई देशको भ्रमणमा निस्कने प्रधानमन्त्री जेठ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित: २५ वैशाख २०७६ ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App