coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण : भुलचुकले होइन, सुविचारले ‘मेरो सरकार’ राखियाे

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा सरकारद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शब्दावली भुलचुकले होइन, सुविचारले राखिएको बताएका छन्। उनले भने, ‘ भुलचुकले होइन । जानीबुझी राखिएको र आवश्यक शब्दावली नै हो ‘मेरो सरकार’।’

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गत २० गते सङ्घीय संसद्मा प्रस्तुत गरेकी नीति तथा कार्यक्रममा पटक पटक ‘मेरो सरकार’ भन्ने शब्दावलीको प्रयोग गरेपछि चौतर्फी आलोचना भएको थियो।

भुलबस नभई सुविचारित ढंगले जानीबुझी कन राखिएको आवश्यक शब्दावली भएको भन्दै उनले जनताको प्रतिनिधि सरकारले मेरो सरकार भनेर अपनत्व लिएको स्पष्ट पारे । विपक्षी दलले महत्वहिन विषयलाई धेरै उचालेको भन्दै उनले पहाड खन्दा मुसो फेला परेको भन्दै प्रतिपक्षी दललाई व्यंग्य गरे।

उनले भने ‘सबभन्दा बढी बल त्यसमा लगाएको देखिन्छ जहाँ खन्यो पहाड निल्यो मुसो भने जस्तो यो पहाड खनेर मुसो पनि ननिक्लने विषयहरुमा बढ्दा ध्यान र जोड के के न पाए जस्तो गरेर उधुम नै मच्चाएको पनि मैले पाएँ।’

बेलायतकी महारानीको जस्तो सम्बोधन भन्नु कुटनीतिक मर्यादा विपरित हुने भन्दै त्यसतर्फ ध्यान दिन उनले विपक्षी दलका नेतालाई आग्रह गरे। विपक्षी दलका नेता शेर बहादुर देउवाले राष्ट्रपतिले बेलायती महारानीको जस्तो सम्बोधन गरेको टिप्पणी गरेका थिए।

उनले भने प्रतिपक्षीलाई आफ्नो सरकार भन्न अलि गाह्रै हुन्छ होला नेपाल सरकार भन्न त सजिलै छ। त्यो गाहो हुदैन। प्रतिपक्षीले पनि यो सरकारलाई त आफ्नै सरकार भने हुन्छ। अब बजेट हेर्नुहोला न प्रतिपक्षका लागि बजेटमा कति काम हुन्छ। अनि आफ्नो सरकार भन्न के भो र?’

उनले संविधान संसोधन भनेको जुनसुकै मौसममा पनि गाउन मिल्ने गीत नभएको भन्दै आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने स्पष्ट पारे। अनावश्यक ढंगले संविधान संसोधनको विषयलाई उचाल्न आवश्यक नरहेको भन्दै उनले उद्देश्य र आवश्यकता अनुसार संसोधन गर्न सकिने बताए। उनले भने ‘संविधान संशोधन भनेको जुनसुकै मौसममा पनि गाउन गीत भयो। अहिले पनि संविधान संशोधन, भरे पनि संविधान संशोधन। कुन विषयमा? त्यो त छलफल गर्न सकिन्छ नि। कुन कुन विषयमा गर्नुपर्यो संशोधन। के के मा आवश्यकता पर्यो। ‘पब्लिक कन्जम्सन’का लागि सधै एउटा भन्ने कुरा जस्तो भयो। यस्तो नगरौं।’

नीति तथा कार्यक्रमले राती देख्ने सपना नभई देश बनाउने र भविष्य बनाउने सपना देखेको स्पष्ट पारे। उनले भने ‘यहाँ देश बनाउने कुराको सपना हो। हाम्रो भविश्यको सपना हो। यो निदाएको बेला देख्ने सपना होइन जागै हुँदा देख्ने सपना हो। शहिदको सपना भनेको निदाएर घुरेर देख्ने सपना हो?’

प्रदेशका स्थानीय तहका सरकारले के कति काम गर्ने भन्ने अभ्यास स्थापित गर्नुपर्ने भन्दै उनले त्यस तर्फ सरकार गम्भीर रहेको बताए। प्रदेश सरकार संघीय सरकारकै मातहतमै हुने भन्दै उनले त्यसमा धेरै नअलमलिन आग्रह गरे। उनले भने ‘म हिजो सुन्दै थिएँ भन्दै हुनुहुन्यो प्रदेश सरकार मानिलिउँ केन्द्रको मातहत हो कि जस्तो व्यवहार भएको छ भनेर केन्द्रको मातहत नै हो। संघीय सरकारका मातहतमै संघीय कानुनका मातहतमै प्रदेश सरकार र स्थानीय सरकारहरु हुन्छन्। यो पनि कुनै अनौठो कुरा हो र भन्या? स्वतन्त्र सरकार त होइनन् नि। यी केन्द्रीय संघीय सरकारकै मातहतमा हो। यस्ता कुराहरुमा अलमल राख्नु हुदैन।’

विगतमा भएको भ्रष्टाचारको छानविन आफ्नो सरकारले गरिरहेको उनले दाबी गरे। उनले भने ‘यो सरकार बनेपछि खुला मञ्च मास्या हो र? अहिले त्यो खुलामञ्चलाई फिर्ता ल्याउने काम हुँदैछ। अहिले बालुवाटारको जमिनको समस्या पैदा भएको हो? अहिले त छानविन हुदैछ। वाइडवडीको कारोबार अहिलेको सरकार आएर गर्या हो? छानविन हुदैछ अहिले।’

सरकारले एक वर्षका लागि मात्रै नभई दुरगामी दृष्टिका साथ नीति तथा कार्यक्रम ल्याएको दाबी पनि उनले गरे। राष्ट्रलाई सम्मृद्धि बनाउन संविधानले सुम्पेको अभिभारा अनुसार सामाजिक न्याय र समानताको बाटो  नीति तथा कार्यक्रमले दाबी गरे। विगतमा पनि बहुमतका सरकार भएको तर स्थिरता र स्थायीत्व नभएको भन्दै उनले शान्ति र स्थायित्वलाई बुझेको वर्तमान सरकारले नीतिगत स्पष्टता, अग्रगामी सोच र अठोट सहितको स्थिरता र स्थायीत्वका कुरा नीति तथा कार्यक्रममा ल्याएको दाबी गरे। 

पृथकतावाद अन्त्य भएको, शान्ति सुव्यवस्था कायम भएको, सामाजिक सुरक्षा, रोजगारीका अवसर श्रृजना गर्ने, विकास निर्माणलगायत सवालमा थुप्रै युगान्तकारी कामहरु भएको भन्दै उनले चालु आर्थिक वर्ष सबै कोणबाट आधार बर्षको रुपमा रहेको बताए।

प्रकाशित: २४ वैशाख २०७६ ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App