७ वैशाख २०८१ शुक्रबार
राजनीति

विशेषमा न्यायाधीश कम हुँदा मुद्दा छिन्न ढिलाइ

काठमाडौं – विशेष अदालतमा न्यायाधीश कम हुँदा भ्रष्टाचार, अनियमिततासम्बन्धी मुद्दा छिन्न ढिलाइ भैरहेको छ। आइतबार चुडामणि शर्मा ढकाल र तिलक रावलसमेतको भ्रष्टाचार मुद्दा हेर्न नभ्याइनेमा राखिए। भ्रष्टाचार, अनियमिततासम्बन्धी मुद्दा छिटोछरितो फैसला गर्ने उद्देश्यले बनाइएको विशेष अदालतमा तीनजना न्यायाधीश सरुवा भएपछि दैनिक एउटा मात्रै बेञ्च बस्ने गरेको छ।

दुई महिनाअघि विशेषका तीनजना न्यायाधीशलाई न्यायपरिषद् सचिवालले सरुवा गरेको थियो। दुई महिनासम्म रिक्त रहेका न्यायाधीश पठाउन नसक्दा मुद्दा छिन्न ढिलाइ हुन थालेको हो। गत फागुनको दोस्रो साता न्यायपरिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विशेष अदालतका न्यायाधीशहरू चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द, नारायण पोखरेललाई सरुवा गरेका थिए।

अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिकामान जोशी, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलास मात्रै चलेको छ। विशेष अदालतमा अनियमितता, भ्रष्टाचारसम्बन्धी ३ सय २३ वटा मुद्दा छन्। चुडामणि शर्मा पौडेल, तिलक राउत, पूर्वमन्त्री विक्रम पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकलगायतका भ्रष्टाचारसम्बन्धी मुद्दा हेरिएका छैनन्।

एउटा मात्रै इजलास हुँदा दुई महिनायता ठूला मुद्दा पेशी चढे पनि सर्ने गरेका छन्। हेर्न नभ्याएका कारण मुद्दा नभ्याइनेमा राख्ने गरिएका छन्। ‘एउटा मात्र बेन्चले पनि मुद्दाका फैसला गर्न पाउँछन् तर, दुईवटा बेञ्च हुँदा बढी मुद्दा हेरिन्थे। दुईवटा बेञ्चले जस्तो काम भ्याइएको छैन,’ विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले भने। जनशक्ति कम हुँदा जनताले छिटोछरितो सेवा दिन नसकिएको पाण्डेले स्वीकारे। वैशाख महिनामा १३ थान मुद्दा फछ्र्यौट भएको प्रवक्ता पाण्डेले जानकारी दिए। घुस लेनदेनका मुद्दा एकैदिनमा टुंगिने र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा समय लाग्ने गरेका छन्। न्यायपरिषद्को चैत १९ को बैठकले सर्वोच्च अदालतका लागि ५ जना र उच्च अदालतका लागि १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो। त्यसपछि न्यायाधीश नियुक्तिका लागि वैठक बस्न नबसेको सचिवालयले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०७६ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App