८ वैशाख २०८१ शनिबार
राजनीति

आश्वासन बढी, काम शून्य

तीन हजार जनाको क्षमता भएको सभागृह निर्माणाधीन अवस्थामा। तस्बिर : युवराज/नागरिक

दमक - अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफ्नो क्षेत्रमा विकासे योजनाको थुप्रो ल्याउने बताएका थिए। उनले कागजमा केही योजना पनि ल्याए। तर, ती कार्यान्वयनमा भने अझै गएका छैनन्। २०६४ सालको संविधानसभा निर्वाचनबाहेक हरेक निर्वाचनमा आफैंले जित्दै आएको झापालाई उनले कागजी ‘सरप्राइज’ दिए तर त्यो अहिलेसम्म कामका रूपमा देखा परेको छैन। विगतका निर्वाचनमा विकासमा चासो नराखेको आरोप खेप्ने ओलीले यसपटक भने सबैलाई चकित पार्ने योजना ल्याएका छन्। त्यसमाथि उनकै गृहनगर दमकमा योजना थुप्रिएका छन्। दमकबाहेक अन्यत्र दीर्घकालीन महत्व राख्ने योजना छैनन्।

ओलीको पहलमा थालिएको सभागृह मात्रै निर्माणको चरणमा छ। अरु योजना कागजमा मात्रै सीमित छन्। दमक, कमल गाउँपालिका र गौरादह नगरपालिकामा २ हजार २ सय बिघामा बन्ने औद्योगिक क्षेत्र निर्माणका लागि ओलीले चीनसँग अघिल्लोपटक प्रधानमन्त्री हुँदा समझदारी गरेका थिए। त्यसैअनुसार औद्योगिक पार्कका लागि जग्गा अधिग्रहणको काम भइरहेको छ। दमकको उत्तरी क्षेत्रमा निर्माण हुने भनिएको विश्वको सबैभन्दा अग्लो बुद्धमूर्ति र बौद्ध विश्वविद्यालय बनाउने योजना पनि ओलीको छ। यसमा भने चीनसँगै दक्षिण कोरिया, म्यानमार, भियतनाम जस्ता मुलुकको पनि लगानी रहनेछ। ओलीले असारमा चीन भ्रमणका क्रममा गरेको समझदारीअनुरूप झापाका सबै नदीको तटबन्ध पनि हुने भएको छ। यसबारे चिनियाँ प्राविधिक टोलीले स्थलगत अनुगमन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। झापाका नौवटा नदीको तटबन्धको काम यसै वर्षबाट चीनले गरिदिँदैछ।

दमक बहुमुखी क्याम्पसका प्रमुख उत्तम भट्टराईले विगतमा ओलीले पटक्कै काम नगरेको आरोप खेपेको बताए। ‘यसपटक योजना भने ल्याउनुभयो तर कार्यान्वयन कहिले हुने भनेर स्थानीय सशंकित छन्,’ उनले भने, ‘मान्छेले कहिले कल्पना नगरेको दक्षिण एसियाकै ठूलो औद्योगिक क्षेत्र दमकमा बन्छ भनिएको छ। त्यसका लागि स्थानीयको अपेक्षा धेरै छ तर हेर्दा काम अघि बढेको छैन।’

चिनियाँ लगानीमा दमक, कमल र गौरादहमा बन्ने चीन नेपाल इन्डस्ट्रियल पार्कका लागि जग्गा अधिग्रहण सकेर मुआब्जा वितरणको काम भइरहेको छ। औद्योगिक पार्क निर्माणका लागि आवश्यक २ हजार २ सय बिघा जग्गाका अधिग्रहण गर्ने योजना छ। पार्क बनाउनकै लागि ९ सय ४२ बिघा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेटका नाममा आइसकेको छ। यसैगरी, ४ सय २१ बिघा जग्गाको मुआब्जा वितरणको काम भइरहेको छ। लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले औद्योगिक क्षेत्र बनाउन काम अघि बढिरहेको दाबी गरे। ‘तुरुन्तै रिजल्ट देखिनेगरी काम हुँदैछ,’ बस्नेतले भने, ‘प्रधानमन्त्रीको योजनाअनुरूप नै काम भएको छ।’ स्थानीय भने यो दाबी स्वीकार गर्न तयार छैनन्। दमकमा बन्ने विश्वकै अग्लो मूर्ति, औद्योगिक पार्क र भ्युटावर निर्माणले अहिलेसम्म गति लिएको छैन। बुद्धमूर्तिका लागि त अहिलेसम्म जग्गा विवाद नै सुल्झिएको छैन। वन क्षेत्रभित्र बन्ने मूर्तिका लागि तीनै तहको अनुमति चाहिन्छ।

भ्युटावरका लागि टेन्डरमात्रै खुलेको छ। काम अघि बढेको छैन। भ्यु टावर बन्ने स्थानमा धुलाम्मे बाटो हुँदर्छ। ‘सडक संरचना बनेकै छैन’, स्थानीय डिल्ली चापागाइंले भने, ‘सडक पनि बन्नुपर्छ अनि भ्यु टावर पनि आवश्यक छ।’ यस्तै दमकको उत्तरी क्षेत्रमा ५ सय ४२ फिट अग्लो बुद्ध मूर्तिका लागि जग्गा अधिग्रहण र प्राप्तिको काम अघि बढेको छैन। त्यसका लागि प्राविधिक जटिलता भएको नगरपालिकाले जनाएको छ। निर्माण स्थलमा सामुदायिक वन भएकाले प्राप्तिमा कठिनाइ भइरहेको छ। प्राध्यापक श्याम आचार्य ओलीका योजनाले सार्थकता लिनेमा सशंकित छन्। ‘मूर्ति बनाउने भनेको चार वर्ष नाघ्यो, अहिलेसम्म जग्गाको टुंगो छैन’, उनले भने, ‘भ्युटावर बन्न सुरु गर्ने भनेको पनि दुई वर्ष बितिसक्यो।’ आचार्यले ओली र उनको दलले हरेक निर्वाचनमा भ्युटावर र बुद्धमूर्ति निर्माणकै अजेन्डा ल्याउने गरेको बताए। ‘काम अहिलेसम्म देखिनेगरी भएको छैन,’ उनले सुनाए, ‘कि मतदातालाई आस नै देखाउनु हुँदैनथ्यो।’

२८ करोड ४० लाख रुपैयाँकोे लागतमा सभागृहको अहिले निर्माणको काम धमाधम भइरहेको छ। यस्तै प्राम्भमा १ अर्ब ५५ करोड रुपैयाँको लागतमा निर्माणको तयारी थालिएको भ्यु टावरको लागत अहिले बढेरे विस्तृत परियोजना प्रतिवेदनमा २ अर्ब ७४ करोड लाग्ने अनुमान छ। १८ तल्लाको भ्युटावर निर्माण गरिने भनिएको पनि ४ वर्ष बितिसकेको छ। दमक ३ मा निर्माण हुने मूर्तिको डिपीआर तयार भइसकेको दाबी दमक नगरपालिकाको छ। १५ अर्ब ७५ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको यो परियोजना २ सय ६५ बिघामा रहने छ। ‘स्थानीयको सकारात्मक सहयोग छ, उनीहरु तत्काल काम अघि बढाउन दबाब दिन थालेका छन्, दमक ३ का वडाध्यक्ष नवीन बरालले भने, ‘जग्गा प्राप्तिको काम अघि बढेपछि अन्य काम अघि बढ्नेछन्।’ ओलीले दमकलाई विश्व बुद्ध सर्किटका रूपमा विकास गर्नका लागि योजना ल्याएको दाबी गर्ने गरेका छन्। लुम्बिनीसम्म आएका पर्यटकलाई दमकसम्म ल्याउने गरिको तयारी गरिएको छ, उनले बाम्बार भन्ने गरेका छन्। मूर्तिसँगै बुद्ध विश्वविद्यालय र पाठशाला, ध्यानकेन्द्रसमेत रहने छ।

यस्तै झापाका सबै भन्दा बढी क्षति गर्ने रतुवा, कन्काइ, बिरिङसहितका नदीको तठबन्धका लागि चिनियाँ अधिकारीले १० दिनसम्म नदीको अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएका छन्। त्यसपछि न चिनियाँले काम अघि बढाएका छन्, न सरकारी अधिकारीले नै,’ गौरादह ५ का रतुवा नदीपीडित मनोज अधिकारीले भने, ‘अब यसपटक पनि बाढीले बगाउँछ भन्ने पीर छ।’ चिनियाँले झापा भएर बग्ने कन्काई, बिरिङ, कमल, सतासी, रतुवा, मावालगायत नौ नदीको प्रारम्भिक सर्वेक्षण गरी तटबन्धनका साथै खोला नदी कटानको स्थायी समाधान खोज्ने भनिएको थियो।

प्रधानमन्त्री कार्यालयका विकास विज्ञ होमबहादुर थापाले ओलीले ल्याएका योजना कार्यान्वयन हुने चरणमा रहेको बताए। ‘अब प्रधानमन्त्रीको निर्देशनअनुसार बाँकी रहेका सबै काम यसवर्षको बजेटका समेटेर अघि बढ्छ,’ थापाले भने, ‘अधुरा कामहरू बहुवर्षीय योजनाभित्र समेटिने छन्।’

प्रधानमन्त्री ओलीको चलाखी
झापाको कमल गाउँपालिका ५ मा निर्माण हुने भनिएको आदीबासी रंगशालाका पक्षधरलाई ओलीले घुँडा टेकाएका छन्। उनले मदन भण्डारी रंगशाला नामकरण गर्न सरोकारवालालाई सहमत गराएका हुन्। ३५ बिघाभन्दा बढी क्षेत्रफलमा रहेको क्षेत्रमा २०६७ साल अगाडि कंक्रिट चिहान थिए। २ सय ३३ वटा चिहान हटाएर त्यहाँ रंगशाला र स्मृति पार्क बनाउने तयारी अगाडि बढेको थियो। तर रंगशालाको नाम मदन भण्डारी राख्न स्थानीयले नदिने भएपछि ओलीले बजेट रोकिदिएका थिए। रंगशालाको नाममा विवाद भएपछि २०६७ सालमा एक करोड रुपैयाँबाहेक अरु रकम छुट्याइको छैन। रंगशालालाई मदन भण्डारी बनाउन दिन नहुने पक्षमा कांग्रेसकी सांसद महेन्द्रकुमारी सुब्बासमेत छन्।

चैतमा झापा आएका ओलीले रंगशालालाई मदन भण्डारी बनाउन सरोकारवालाई समेत राजी गराए। नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहालको संयोजत्कवमा निर्माण भएको एउटा समितिले हुकुमसिंह राई नेतृत्वको आदिवासी रंगशाला निर्माण समितिसँग सहमति गरेको थियो। समितिका अध्यक्ष राईले आदिवासी समुदायको चिहान मासेर रंगशाला नै निर्माण हुनुपर्ने अडान ओलीसँग राखिएको बताए। ‘रंगशालाको विवादका कारण काम रोकिएको हो, अब रोकिँदैन भनेर प्रधानमन्त्रीले आश्वास्त पार्नु भएको छ,’ राईले भने, हामीले स्मृतिपार्क बनाउनुपर्ने अडान पनि सँगसँगै राखेका छौं। नेकपाका नेताहरूले भने मदन भण्डारी रंगशाला बनाउने विषयमा सहमति भएको उल्लेख गरे।

प्रकाशित: २२ वैशाख २०७६ ०१:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App