८ वैशाख २०८१ शनिबार
राजनीति

नाम थाती, राजधानी विराटनगर

विराटनगर - तत्काललाई प्रदेश १ को नाम तोक्ने विषय थाती राख्दै सत्तारुढ नेकपाले प्रदेश १ को राजधानी बृहत् विराट विकास क्षेत्रको विराटनगर तोक्ने निर्णय गरेको छ। मुख्यमन्त्री शेरधन राईका अनुसार पार्टीभित्र तीन दिनदेखि जारी विभिन्न चरणको छलफलपछि यस्तो निर्णय लिइएको हो।

उनका अनुसार प्रदेशका प्रशासनिक संरचना भने इटहरी र गोठगाउँ क्षेत्रमा पनि निर्माण गर्ने निर्णय पार्टीले गरेको छ। पार्टी इन्चार्ज भीम आचार्यले भने इटहरी, गोठगाउँ र विराटनगर क्षेत्रमा राजधानीको संरचना बनाउने बताए। बुधबारदेखि जारी नेकपा बैठक शुक्रबार साँझसम्म चलेको थियो। बैठकपछि सञ्चारकर्मीसँग आचार्यले राजधानीका संरचना विराटनगर, इटहरी र गोठगाउँ क्षेत्रमा निर्माण गर्ने निर्णय भएको बताए।

‘प्रदेशको राजधानी बृहत् विराट विकास क्षेत्रभित्र हुनेछ’, इन्चार्ज आचार्यले भने, ‘विराटनगर, इटहरी र गोठगाउँ क्षेत्रमा यसका संरचना बन्नेछन्। स्याटेलाइट सिटीको अवधारणाअनुसार योजना अघि बढ्नेछ।’ आचार्यले कुन संरचना कहाँ निर्माण गर्ने भन्ने विषय छलफलद्वारा टुंगो लगाइने बताए।

मुख्यमन्त्री राईले बृहत् विराटनगरलाई राजधानी तोक्ने र नयाँ संरचना निर्माणपछि विराटनगरबाट सार्ने निर्णय भएको जानकारी दिए। बुधबार बिहानैदेखि छलफलमा जुटेका नेकपाका प्रदेश पदाधिकारीले पार्टीका सबै पक्षसँग गरेको छलफलको निष्कर्ष सुनाउँदै मुख्यमन्त्री राईले नामको विषय सर्वसम्मत गराउन समय अभाव देखिएका कारण नामको विषय स्थगन गरिएको बताए।

प्रदेशसभामा २२ गतेसम्ममा प्रदेशको नाम र राजधानीको विषयमा प्रस्ताव गर्न सभामुखले समयावधि दिएका छन्। नेकपाले आफूभित्र निर्णय गरेको भनिए पनि निर्णयको भाषा भने सार्वजनिक गरेको छैन। मुख्यमन्त्री राईले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गर्नुअघि सर्वदलीय सहमति हुने, त्यसपछि संसदीय दलको बैठकबाट टुंग्गो लगाउने र प्रस्तावको रुपमा दर्ता गरिने जानकारी दिए। ‘नेकपा संसदीय दलको बैठक २२ गते ११ बजे बस्छ, २० मिनेटदेखि २५ मिनेटभित्र बैठक टुंगिन्छ, विषयले औपचारिकता पाउँछ, त्यसपछि हामी प्रस्ताव दर्ता गराउँछौं,’ मुख्यमन्त्री राईले थपे, ‘त्यसअघि सर्वदलीय सहमति पनि हुन्छ।’

राजधानी टुंग्याउने विषय प्राथमिकतामा रहेको बताउँदै उनले जमिनको खोजी गर्ने क्रममा राजधानीको संरचना विराट क्षेत्रको इटहरी वा गोठगाउँ आसपास पनि पुग्न सक्ने सम्भावना रहेको उल्लेख गरे। ‘अब राजधानीको विषयमा हामी नयाँ संरचना निर्माणका लागि जग्गा खोज्छौं, म्यापिङ गर्छौं, त्यस क्रममा राजधानीको संरचना विराटनगरभित्रै पनि हुनसक्छ, गोठगाउँ वा इटहरीलाई छुन पनि सक्छ,’ उनले भने। प्रदेशका बहुसंख्यक सांसदको रायविपरीतको यो निर्णय टुंग्याउन नेकपाले ह्विप लगाउने तयारी गरेको छ।

प्रकाशित: २१ वैशाख २०७६ ०१:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App