१६ चैत्र २०८० शुक्रबार
राजनीति

नेपालको प्राथमिकताअनुसार सहयोग गर्ने चिनियाँ प्रतिबद्धता

काठमाडौ - चीनले नेपालको प्राथमिकताअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। चीनको राजकीय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँगको दुईपक्षीय भेटमा चिनियाँ राष्ट्रपति सी जिङफिङले यस्तो प्रतिबद्धता जनाएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिएका छन्। राष्ट्रपति भण्डारीसँगै चीन भ्रमण गएका परराष्ट्रमन्त्री ज्ञवालीले चीन नेपालको प्राथमिकता अनुसार सहयोग गर्न तयार देखिएको बताएका हुन्।

राष्ट्रपति सीले नेपाल चीनबीच हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कको बृहत्तर फ्रेमवर्कअन्तर्गत सीमापर रेलमार्गलगायत पूर्वाधार विकासमा चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सीले नेपालको राष्ट्रिय प्राथमिकताका आधारमा शिक्षा, निर्यात व्यापार प्रवद्र्धन र नाकाहरू खोल्ने लगायतका विषयमा पनि सघाउन चीन तयार रहेको बताएको परराष्ट्रमन्त्रीले जानकारी दिए। नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्न तथा नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पनि सहयोग गर्ने प्रतिबद्धता राष्ट्रपति सीले जनाएको ज्ञवालीले जानकारी दिए।

नेपालका राष्ट्रध्यक्षको पहिलो राजकीय भ्रमणलाई नेपाल र चीन दुवै मुलुकले उच्च प्राथमिकता दिएको ज्ञवालीले जानकारी दिए। भ्रमणका क्रममा दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको र महŒवपूर्ण सम्झौतामा हस्ताक्षर भएको भन्दै ज्ञवालीले भ्रमण उपलब्धिपूर्ण भएको बताए। राष्ट्रपछि भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि भ्रमण छोट्याएर बुधबार स्वदेश फर्किएकी छिन्।

बिहीबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले पारवहन सम्झौता कसैका विरुद्ध गरिएको सम्झौता नभएर थप सम्भावना र अवसरको ढोका खोल्ने प्रयास भएको बताए। ‘यो कसैका विरुद्ध गरिएको कुरा होइन, जतिधेरै विविधता भयो, त्यति धेरै फाइदा हुन्छ,’ उनले भने। पारवहन सम्झौता पहिले नै हुनुपर्ने भन्दै उनले ढिलै भए पनि राम्रो भएको बताए। उनले नेपाल स्वतन्त्र मुलुक भएकाले निर्णय गर्न आफ्नो हितका लागि कुनै पनि निर्णय गर्न स्वतन्त्र रहेको समेत बताए। बिआरआईमा नेपालको संलग्नताका विषयमा जानकारी गराउँदै उनले नेपालले आफ्ना प्राथमिकताका विषय पेस गरिसकेको उनले जानकारी दिए। मन्त्री ज्ञवालीले तातोपानी नाका मेबाट सञ्चालनमा आउने भन्दै त्यसका लागि चीनतर्फबाट दू्रत गतिमा काम भइरहेको र नेपालका तर्फबाट पनि काम अघि बढिरहेको बताए।

प्रधानमन्त्रीले वैशाख २६ देखि भियतनाम भ्रमण गर्दै
प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय विदेश भ्रमणका लागि वैशाख २६ गतेदेखि दक्षिण पूर्वी एसियाली मुलुक भियतनाम जाने भएका छन्। प्रधानमन्त्री ओली त्यहाँका प्रधानमन्त्री न्याङगेन सुआन फुकको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन्। वैशाख ३० सम्म हुने भ्रमणका क्रममा उनले ‘वैशाख समारोह’ र थिंकट्याकको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। वैशाख समारोह बौद्ध मार्गीले बुद्ध पूर्णिमाको अवसरमा मनाउने पर्व हो। भ्रमणबाट भियतनामले युद्धको चपेटाबाट उठेर कसरी महŒवपूर्ण आर्थिक उपलब्धि हासिल गर्न सक्यो भन्ने कुरा सिक्न मद्दत पुग्ने विश्वास लिइएको ज्ञवालीले जानकारी दिए। भियतनामका अधिकांश जनता मौद्धमार्गी भएकाले उनीहरूलाई नेपालमा आकर्षण गर्नका लागि पनि भ्रमणले मद्दत गर्ने सरकारले विश्वास लिएको छ।

प्रधानमन्त्री ओलीले वैशाख ३० देखि अर्काे दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडिया पनि जाने भएका छन्। त्यहाँ कम्बोडियाली प्रधानमन्त्री हु सेनको निमन्त्रणमा उनी कम्बोडिया जान लागेका हुन्। प्रधानमन्त्री हु सेनले एसिया प्यासिफिक सम्मेलनमा भाग लिन नेपाल आएका बेला प्रधानमन्त्री ओलीलाई कम्बोडिया भ्रमणको निम्तो दिएका थिए। प्रधानमन्त्री ओली जेठ १ गतेसम्म कम्बोडियामा रहनेछन्। कम्बोडिया भ्रमणका क्रममा त्यस देशले गरेको विकासबारे जानकारी लिने र त्यहाँका बौद्धमार्गीलाई नेपाल भ्रमका लागि आकर्षित गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भियतनाम र कम्बोडिया दुवै युद्धको चपेटाबाट निस्किएर आर्थिक विकासको बाटोमा अघि बढेका मुलुक हुन्।

प्रकाशित: २० वैशाख २०७६ ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App