coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘सरकारले मजदुरलाई आश्वासन मात्रै बाँड्यो’

नेपालगन्ज– नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले मजदुरलाई आश्वासन मात्रै बाँडेको आरोप लगाएका छन्। १३० औं श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले बुधबार नेपालगन्जमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै साउदले मजदुरको हकहितका निम्ति विगतको सरकारले गरेको कामको जस वर्तमान सरकारले लिईरहेको जिकिर गरे।

विगतमा शेरबहादुर देउवा नेतृत्वको सरकारले मजदुरको हकहितको निम्ति सामाजिक सुरक्षा ऐन पारित गराएको हो, तर वर्तमान केपी ओली सरकारले काम केही नगरेर बिजुलीका पोल–पोलमा आफ्नो प्रचार गरिरहेको छ’ उनले भने।  कम्युनिष्ट पार्टीले नारा एउटा दिएर काम अर्कै गर्ने ठोकुवा गरे। मुलुकमा दिनहुँ हत्या, हिंसा, बलात्कारको श्रंखला बढिरहेको भन्दै सरकारले आम नागरिकको जिउधनको सुरक्षामा खेलवाड गरेको आरोप लगाए। प्रहरी, प्रशासनको मनोबल खस्किएको छ, कम्युनिष्टका कार्यकर्ताले जति ठुलो अपराध गरेपनि प्रहरीले मुद्दा चलाउन सक्दैन, कांग्रेसका कुनै कार्यकर्ता साधारण घटनामा संलग्न भएमा २४ घण्टाभित्रै मुद्दा दर्ता गर्ने स्थिति छ’ उनले भने प्रहरी प्रशासनलाई नेकपा सरकारले आफ्नो भातृ संस्था बनाईरहेको छ।’

मजदुर आन्दोलनबाटै कांग्रेसको उत्पति भएको बताउँदै नेता साउदले नेपालको मजदुर आन्दोलन र कांग्रेस पर्यायवाची रहेको बताए। नेपाली कांग्रेस नेतृत्वको हरेक सरकारले ट्रेड युनियनको मागलाई पुरा गर्दै आएको स्मरण गराए। अर्को प्रसंगमा उनले ट्रेड युनियन आन्दोलनलाई पनि पुर्नसंरचना गर्न जरुरी रहेको औल्याए। अहिले ट्रेड युनियन आन्दोलनमा ब्लु कलर र ह्वाईट कलरको उपस्थिति देखिन्छ’ उनले भने ‘भविष्यमा दुबैको प्रतिनिधित्व गराएर ट्रेड युनियन कांग्रेसलाई महासंघको रुपमा अगाडी बढाउनुपर्छ।’

कांग्रेसको भातृ तथा शुभेच्छुक संस्था मध्ये ट्रेड युनियन कांग्रेसभित्र संगठनात्मक सुधारको अवस्था राम्रो रहेको साउदले बताए। नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संगठन अराजकतातर्फ उन्मुख भईरहेको भन्दै उनले यी संगठनलाई अध्यावधिक र व्यवस्थित गर्नुपर्ने देखिएको धारणा राखे। पार्टीभित्र अन्तरघातको अवस्था झन् बढेकोमा चिन्ता व्यक्त गर्दै साउदले पार्टीले समयमै रोकथाम गर्न सकारात्मक सन्देश दिन जरुरी रहेको बताए। जबसम्म पार्टीलाई अनुशासित गराउन सकिदैन, तबसम्म पार्टी चल्न सक्दैन’ साउदले भने ‘पार्टीलाई ट्रयाकमा ल्याउने काममा तपाई आम कार्यकर्ताले पनि दबाब दिनुपर्छ।’

सो क्रममा कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे, कांग्रेस बाँकेका सभापति किरण कोइराला, प्रदेश ५ का सांसद सुरेन्द्र हमाल, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठ, बाँके अध्यक्ष रामबहादुर मल्ललगायतले बोलेका थिए।

दिवसको अवसरमा बुधबार बिहान कांग्रेस पार्टी कार्यालय नेपालगन्जबाट -याली सुरु भई जिल्ला समन्वय समितिको सभा कक्षमा पुगेर सभामा परिणत भएको थियो। दिवसको अवसरमा विभिन्न ट्रेड युनियन सम्वद्ध संघ, संगठनले पनि -याली तथा कार्यक्रम गरेका छन्।

प्रकाशित: १८ वैशाख २०७६ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App