४ वैशाख २०८१ मंगलबार
राजनीति

कोइराला समूहले गरेको कार्यक्रम देउवा समूहद्वारा बहिस्कार

रौतहट- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा गुटगत राजनीति तल्लो तहसम्म मौलाएको छ। एउटा पक्षले आयोजना गरेको कार्यक्रम अर्को पक्षले बहिष्कार गर्नेसम्म बेथिति रौतहटमा पनि देखिएको छ।

नेपाली कांग्रेसको रौतहट क्षेत्र नम्बर २ ले आयोजना गरेको विशाल जनसभामा पार्टीका जिल्ला सभापति कृष्णप्रसाद यादव नै अनुपस्थित भए। एक पक्षीय कार्यक्रम भएको र पार्टीको कार्यक्रम नै नभएको जिल्ला सभापति यादवको भनाइ छ।

कार्यक्रम भव्यताका साथ सम्पन्न बनाउनको लागि पार्टी सभापति शेरबहादुर देउवालगायतका केन्द्रीय नेताहरुको प्रचारप्रसार गरिएको थियो। शक्ति प्रदर्शनका लागि कांग्रेसका सांसद महम्मद आफताब आलम गुटले राखेको कार्यक्रममा पार्टी सभापति देउवा उपस्थित भएनन्, जिल्ला सभापति यादव पनि गएनन्। रौतहट क्षेत्र नम्बर २ बाट संघीय संसदका लागि निर्वाचित सांसद एवं पूर्वजिल्ला सभापति महम्मद आफताब आलम र पूर्व सांसद तथा वर्तमान जिल्ला सभापति कृष्णप्रसाद यादवको गरी जिल्लामा कांग्रेसमा दुई गुट छन्। यादव समूह देउवासँग निकट मानिन्छ भने आलम समूह पहिलेदेखि नै कोइराला गुटको नजिक मानिन्छ।

जिल्लामा कार्यक्रम राखिएको तर जिल्ला कार्य समितिका पदाधिकारीहरुलाई नै थाहा नभएको अवस्थामा पार्टीको कार्यक्रमभन्दा व्यक्तिको कार्यक्रम भएको जिल्ला सभापति यादवको दाबी छ। उनले भने 'कांग्रेसको कार्यक्रम नभएकाले पार्टी सभापति देउवा नआएका हुन्।'

कांग्रेसकाका पूर्व कोषाध्यक्षको देहावसान भएकोले शोक मनाउन तेह्रौं पुण्य तिथिसम्म पार्टीको तर्फबाट कुनै औपचारिक कार्यक्रम नगर्न र सम्भव भएसम्म शोक मनाउन निर्देशन जारी भएको थियो। पार्टीको केन्द्रीय निर्देशनलाई नमानेर कुनै व्यक्तिले कार्यक्रमको आयोजना गर्दा त्यसमा पार्टी सभापति विवादमा मुछिएर निर्देशनको अपहेलना हुने देखिएकोले देउवा कार्यक्रममा उपस्थित नभएको यादव पक्षको दाबी छ।

केन्द्रीय निर्देशनविपरीत कार्यक्रमको आयोजना गरिएको प्रति कांग्रेसको एक पक्षले तीव्र असन्तुष्टि जनाएको छ। असन्तुष्ट पक्षको तर्क र पार्टी सभापति देउवा उपस्थित हुन नसकेको बारे पूर्व मन्त्रीसमेत रहेका संघीय सांसद आलमले पाटी एकीकरणको लागि र देशमा एउटा फरक किसिमको सन्देश दिने उदेश्यले नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले कार्यक्रमको आयोजना कांग्रेसले जनाएको छ।

कार्यक्रममा पार्टीका दुइ शिर्ष नेता रामचन्द्र पौडेल र सशांक कोइराला आएपछि कार्यक्रममा मानव सागर नै ओर्लिएको अफतावले बताए।  जिल्ला पार्टी कार्यकर्तालाई एक हुन मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका कांग्रेसबाट दुर्गा भगवती गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित अरुण साहले जिल्लाको अहिलेको राजनीतिक अवस्था चिन्ता लाग्दो भएको प्रतिक्रिया दिएका छन्। पार्टीको आन्तरिक मतभेदलाई पार्टीभित्रै छलफलद्वारा समाधान गर्नुपर्नेमा विवाद बाहिर आएकोमा साहले दुःख व्यक्त गरेका छन्।

प्रकाशित: १५ वैशाख २०७६ १२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App