काठमाडौं – पार्टी एकताको ११ महिना बिते पनि सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनहरूको एकता अझै टुंग्याउन सकेको छैन। संगठनहरूको एकता नहुँदा नियमित काममा त असर परेको छ नै एक वर्षदेखि संगठनले गर्नुपर्ने काम पनि ठप्प जस्तै छ।
हालसम्म नेकपाले जिल्ला नेतृत्व मात्रै घोषणा गरेको छ, त्यो पनि पूरै कमिटी छैन। नेकपाका दर्जन बढी संगठनको एकता नहुँदा नेता÷कार्यकर्ता बेरोजगारजस्तै भएका छन्।
नेता उत्पादन गर्ने संगठनको रुपमा युवा र विद्यार्थी संगठनलाई लिइन्छ। तर यी संगठनहरूको एकता नहुँदा संगठनलाई मात्र नभई पार्टी र सरकारलाई समेत असर गरेको नेताहरू बताउँछन्। तत्कालीन नेकपा एमालेको युवा संगठन युवा संघ नेपाल र तत्कालीन माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल)बीच एकता हुन नसक्दा युवासामु आफ्नो एजेन्डाहरू प्रस्तुत गर्न नसकेको नेताहरू बताउँछन्।
वाईसीएल र युवा संघका नेताहरू आफ्नो संगठनमा नेतृत्व कसले लिने भन्नेमा विवाद नरहेको बताउँछन्। ‘अब एक हप्ताभित्र युवा संगठनको एकता टुंगिन्छ’, वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटाले नागरिक न्युजसँग भने, ‘एकता नहुँदा संगठनमा धेरै समस्या छ, काम गर्न पनि पाएका छैनौं।’ वाईसीएलको मात्रै २ लाख बढी सदस्यहरू एकता नटुंगिदा बेरोजगार जस्तै भएको सापकोटा बताउँछन्।
सापकोटाका अनुसार एक वर्षमा संगठनले गर्नुपर्ने काम ठप्प छ। पार्टी नेतृत्वको सरकार भएकाले उसले गरेको कामबारे युवाहरू माझ पु-याउन नसकेको सापकोटाले बताए। संगठनको एकतापछिको अध्यक्षका लागि आफूले पार्टी नेतृत्वलाई कुनै दबाब नदिएको उनी बताउँछन्। ‘पार्टी नेतृत्वले अध्यक्ष जसलाई बनाउँछ सहजै स्वीर्काछु’, सापकोटाले भने।
संगठनकै नेतृत्व कसले लिने भन्नेमा सापकोटाको भन्दा फरक मत छ, युवा संघका अध्यक्ष रमेश पौडेलको। ‘सापकोटाजी पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ, मेरो व्यवस्थापन कतै हुन सकेको छैन’, पौडेलले नागरिकसँग भने, ‘संगठनको नेतृत्व मलाई दिए हुन्थ्यो।’ पौडेल पनि पार्टी नेतृत्वको निर्णय मान्न तयार छन्।
एकता प्रक्रिया ढिला हुँदा संगठनले गर्नुपर्ने नियमित काममा असर परेको उनले बताए। ‘अहिलेको नयाँ युवाहरूमा हाम्रो भिजन र मिसनबारे जानकारी दिन सकेका छैनौं’, पौडेलले भने, ‘युवाको रोजगारी, शिक्षा र स्वास्थ्यबारे एकतापछि जनतामाझ जान्छौं।’
युवा जस्तै विद्यार्थी संगठनको पनि हालत उस्तै छ। तत्कालीन एमालेको अनेरास्ववियु र माओवादी केन्द्रको अखिल (क्रान्तिकारी)का नेताहरू एकता नटुंगिएकाले समस्या भएको बताउँछन्। नियमित कामसँगै नयाँ विद्यार्थीहरू माझ जान नसकेको विद्यार्थी नेताहरू बताउँछन्। अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङका अनुसार एकता हुन नसकेकाले संगठन निष्क्रिय भएको छ, नियमित काम ठप्प छन्, कमिटीले पूर्णता पाउन सकेको छैन।
‘पार्टी र सरकार दुवै सञ्चालन गर्नुपर्ने भएकाले ढिला भएको हो’, तामाङले नागरिकासँग भने, ‘अब त छिट्टै टुंगिन्छ होला।’ एकता हुन नसक्दा नयाँ भर्ना भएका विद्यार्थीमाझ जान नसकेको तामाङको भनाइ छ। संगठनमा अध्यक्षको दाबेदार आफू मात्रै भएको तामाङ दाबी छ। तामाङका अनुसार केही दिनअघि संगठनको बैठकले आफूलाई नेतृत्वको लागि पठाउने निर्णय भएको छ।
विद्यार्थी संगठनको एकता अब छिट्टै टुंगिने अनेरास्ववियुका उपाध्यक्ष रश्मि आर्चाय बताउँछन्। एकता चाँडै हुन्थ्यो तर विधिले नेतृत्व चयन गर्ने कि व्यक्तिले भन्ने विवादको कारण ढिलाइ भएको आचार्यको भनाइ छ। आचार्यका अनुसार विद्यार्थी संगठनको एकताका लागि तीन वटा कार्यदल बनेको थियो।
रवीन्द्र अधिकारीको संयोजकमा रमेश मल्ल, नवीना लामा र रञ्जित तामाङ सदस्य रहेको कार्यदल बनेको थियो। उक्त कार्यदलले संगठनको नाम टुंग्याएर सुझाव सिफारिससमेत गरेको थियो। जसमा अनेरास्ववियुबाट २६९ र अखिलबाट २३० सदस्य हुनेगरी आयोजक कमिटीसमेत बनाएको थियो।
‘एकता नभएको कारण सांगठनिक जीवन मृत जस्तै भएको छ’, आर्चायले भने, ‘विधिभन्दा व्यक्ति हाबी हुन खोजेर एकतामा ढिलाइ भयो, पार्टीको विधिअनुसार जसलाई नेतृत्व दिए पनि स्वीर्कार्छौं।’
प्रकाशित: १२ वैशाख २०७६ ०९:१४ बिहीबार