१६ चैत्र २०८० शुक्रबार
राजनीति

मनमौजी स्थानीय सरकार, वर्षासँग बिलाउँदै विकास

सिरहाको सुखिपुर गाउँपालिका २ छजना टोलमा नगरपालिकाले ठेक्केदारमार्फत गराएको पोखरीको पर्खाल निर्माण काम वर्षासँगै भत्किएर पोखरीमा बिलाएको छ। तस्विरःमिथिलेश यादव

लहान- सिरहाको सुखिपुर नगरपालिकाले ठेक्केदारमार्फत निर्माण गराएको पोखरीको रिटेनिङ वाल(पर्खाल) निर्माण सकिएसँगै भत्किन सुरु भयो। चैत ३० गत्तेको झरीसँगै पुरै निर्माण बगेर पोखरीमा बिलाएको छ।

सुखिपुर नगरपालिका–२ छजना स्थित रामजानकी माध्यमिक विद्यालय अगाडिको पोखरीमा रिटेनिङ वाल निर्मार्ण गर्न देव कन्सट्रक्सनसँग १७ लाख १९ हजारमा नगरपालिकाले सम्झौता गरेको थियो। गत्त वर्ष (०७५/७६) भएको उक्त ठेक्का सम्झौता अनुसार निर्माण काम असार मसान्तसम्ममै सम्पन्न हुनुपर्ने थियो। तर, भदौमा सम्पन्न भएको स्थानीयहरु बताउँछन्। कागजी रुपमा असारमै सम्पन्न भएपनि यथार्थमा काम भदौमा सम्पन्न भएको स्थानीय हरेराम ठाकुरले बताए।

निर्माण लगत्तै पार्खाल भत्किनुमा गलत डिजाइन र कमसल कामलाई कारण बताउँछन स्थानीयबासी इन्जिनियर जिवछ यादव। हिलो र पानीमा कमसल इँटाले गरिएको हतारको जोडाइको काम कसरी टिकाउ हुन्छ ? उनले प्रश्न गरे। कमसल काम भैरहँदा स्थानीय चुपचाप भने बसेनन्। यसबारे लिखित रुपमै निवदेन लिएर रामसरोबर यादव, किसन सिँह, रामचन्द्र यादव, रामनारायण यादव लगायतका स्थानीयहरु नगर प्रमुख रामअवतार यादवसमक्ष पुगेका थिए। तर, यादवले निवदेन लिन मानेनन रामसरोबरले भने,‘मेयर साबले गम्भीरता देखाएको भए लगानी खेर जादैन्थ्यो।’

जगबाटै गुणस्तरहिन कामको सुरुवात हुँदा नियामक निकायले बेवास्ता गर्यो जसको परिणम लाखौंको लगानी पोखरीमा बिलाएको छ स्थानीयको एकस्वर गुनासो छ। 'यहाँको निर्माण काम गुणस्तरीय नभएको गुनासो मैले इन्जिनियर र मेयर दुबैलाई गरेको थिएँ' यस वडाका अध्यक्ष भुवनेश्वर यादवले भने। इन्जिनियर डोमी यादव निर्माण स्थलमा आएर राम्रै काम भएको भन्दै फर्केका थिए। त्यसको दुइतीन महिना नबित्दै पश्चिम तर्फको पर्खाल भत्केको थियो।

नगरपालिकाका इन्जिनियर डोमी यादवका अनुसार काम भएको १० महिना भैसकेपछि पर्खाल भत्किएको छ, पानीभित्रको पर्खाल धेरै टिक्दैन। निर्माण कामको डिजाइजनमा कमजोरी भएको उनले स्वीकारे। भत्किने त भत्किसक्यो इन्जिनियर यादवले भने,‘भत्केको पर्खाल ठड्याउन लगाउँला।’

जेठमा सम्झौता गरेर असारमा बजेट खर्च भएको कागज बनाउने खेलले निर्माण काममा गुणस्तर कायम हुन नसक्ने प्राविधिकहरु बताउँछन्। हिलाम्य खाल्डोमा बालुवा र सिमेन्ट घोलेर ठड्याइएको दुइ नम्बर इँटाको पर्खाल समान्य वर्षाको धक्का समेत थेग्न नसकि भत्किएको स्थानीयहरु बताउँछन्। लापरबाहीपूर्ण ढंगबाट भएको कामलाई प्रत्यक्ष देख्ने स्थानीयहरु इस पर्खालको आयु धेरै नहुने त्यतीबेलै अनुमान गरिसकेका थिए।   विकास निर्माणको बजेट सक्न यस्ता निर्माणमा हुने लगानी बालुवामा पानी साबित हुने निश्चित छ, स्थानीय बुद्धिजिवि हरेराम ठाकुरले भने। र, यसले विकास निर्माण होइन, सरकारी रकमको चरम दुरुपयोग भएको देखाउँछ। बर्खामा भएको खर्च बर्खासँगै बगेर बिलाएको उनले बताए।

गुणस्तरहीन कामको दोष आकाशे  झरीलाई लगाए पुगिहाल्छ। खाखिर नगरपालिकाका इन्जिनियर यादवले पनि झरीलाई नै दोष लगाएका छन्।

आर्थिक वर्ष सकिन लाग्दा सरकारी कर्मचारीको विकास निर्माण कार्यमा ‘मोह’ देखिन्छ। जेठमा सम्झौता गरेर असारमा काम सम्पन्न हुन सक्दैन भन्ने जान्दाजान्दै पनि कमिसनकै लोभमा करोडौं रकम निकासा गर्छन् जसअनुरूप काम हुन सक्दैन। तैपनि कागजमा काम हुने तर व्यवहारमा नहुने यस्तै किसिमको असारे विकासको प्रवृत्ति मौलाएको छ, मौलाउँदै ठाकुरले भने।

सुखिपुर नगरपालिकाको निर्माण काममा भएको अनियमितताको यो घटना उदाहरण मात्र हुन। यहाँ अनियमितताको चाँङ नै छ। अख्तियार दुरुपयोग अनुसन्धान अयोगले जिल्ला समन्वय समितिको कार्यालय सिरहामा पठाएको ताकेता पत्रबाट यस नगरपालिकाको अनियमितताको फेहरिस्त प्रष्ट पार्छ।

चनं ३७१ को पत्रमा अख्तियारले जिल्ला समन्वय समितिलाई यस नगरपालिकाको भ्रष्टाचारको शिर्षक उल्लेख गरेर अनुसन्धान प्रतिवेदन पेश गर्न ताकेता गरेको छ। जसमा पोखरी खन्ने, बोरिङ जडान गर्ने योजनाको काम सम्पन्न नभइकनै भुक्तानी भएको ,योजनका सम्झौता पत्र, नापी किताब, कार्यक्रम सम्पन्न प्रतिवेदनको प्रमाणीत प्रतिलिपी तथा योजना भुक्तानीको विवरण पत्र समेत संलग्न गरि प्रतिवेदन पठाउन अख्तियारले समन्वय समिलाई ताकेता गरेको छ। भदौ अन्तिम साता आएको पत्रको जवाफ समितिले अझसम्म फर्काएको छैन्। समितिका प्रशासन फाँट प्रमुख विनोद पासवानले भने,‘हामीसँग कर्मचारी थोरै भएकाले काम गर्न कठिनाइ भएको जानकारी अख्तियारलाई दिएका छौं।’

अनियमितता र बजेटको मनोमानी खर्चको अर्को उदाहरण हो सिरहाको लक्ष्मिपुरपत्तारी गाउँपालिका ।

कात्तिक ७ गत्ते लक्ष्मीपुरपत्तारी गाउँपालिकाले ११ हजार भोल्टको तार टसाएर निर्माण गराइरहेको दुईतल्ले शौचालयमा काम गर्ने राजमिस्त्री सोही गाउँपालिका–३ का ३० वर्षीय बिरेन्द्र दास (तत्मा)को ज्यान गयो।

स्टिमेट, डिजाइन, उपभोक्ता समिति, ठेक्का बिना नै गाउँपालिकाले हाई भोल्टेज तारमा दुई तल्ले शौचालय निर्माण गराईरहेको थियो। गैरकानुनी रुपमा भइरहेको निर्माणले मजदुरको ज्यान गएको बताउने यस गाउँपालिकामा धेरै छन्। बिना ठेक्का, बिना उपभोक्ता समिति गाउँपालिकाका अधिकृत र अध्यक्षको लापरबाही घटनाको कारण बन्यो, यादवले भने। तर, मृतक परिवारलाई गाउँपालिकाबाट पाँच लाख क्षतिपुर्ती दिइयो। व्यक्तिको लापरबाहीको भरपाई गाउँपालिकाको बजेटबाट भर्नु अनुचित भएको स्थानीयहरु बताउँछन्।

अनियमित प्रक्रियाबाट भैरहेको उक्त निर्माण कार्यका कारण व्यक्तिले ज्यान गुमाउँदा पनि अनियमिततामाथी सम्बन्धित निकायको आँखा नपर्दा एक पछि अर्को अनियमितता थपिँदै गएको स्थानीयहरु बताउँछन्।

०७३ सालमा तत्कालिन महेशपुर गाविसले गाविस भवनको पछाडि भुइँतल्ले शौचालय निर्माण गरेको थियो। भुइँतल्ले शौचालयमाथी तल्ला थप्ने काम प्रमुख प्रशासकिय अधिकृत रबिन्द कुमार महतले सुरु गराए। त्यो पनि अनियमित तरिकाले, उपभोक्ता समिति वा ठेक्का बिना नै। उनले त्यो बेला उक्त निर्माण कामको ठेक्केदार श्रीप्रसाद यादव भएको जीकिर गरे। तर, पछि त्यो काम ठेक्का बिना नै अधिकृतले आफूखुसी गराएको खुल्यो। राजमिस्त्री दासको मृत्युपछि रोकिएको उक्त निर्माण काम सुरु हुन सकेको छैन्।

घटनापछि पीडित परिवारले गाउँपलिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई विपक्षी बनाएर मुद्दा दर्ता गराउने तयारी गर्दा क्षतिपुर्तीको प्रलोभन दिएर रोकिएको स्थानीयहरु बताउँछन्। गाउँपालिका अध्यक्ष र अधिकृतले पीडित परिवारसँग मुद्दा दर्ता नगराउने सर्तमा गरेको ‘डिल’ पाँच लाख भुक्तानी दिएर पूरा गरेको स्थानीयहरु बताउँछन्।

प्रमुख प्रशासकिय अधिकृत महतले नागरिकसँग भने,‘गाउँपालिकाले चाहेको खण्डमा यस्ता घटनाहरुमा क्षतिपुर्ती दिन सक्छ। सोही अनुरुप हामीले पीडित परिवारलाई पाँच लाख क्षतिपुर्ती दिएका हौं, उनले प्रष्ट्याए।’

गाउँपालिका कार्यालयको दक्षिणतर्फ रहेको एतिहासिक पत्तारी पोखरी पुर्णनिमाणका आर्थिक वर्ष २०७४/७५ मा १ करोड ५१ लाख छुट्याइयो। ठेक्का मार्फत हुने भनिएको काम हुन नसक्दा पोखरी जिर्णोधारका लागि अशोक कुमार साहको अध्यक्षतामा उपभोक्ता समिति गठन गरियो। साह अध्यक्ष रहेको समितिलाई सुरुमा १० लाख रुपैयाँ छुट्याइयो। पछि पटक पटक रकम थप्दै ३४ लाख पुर्याइयो। जसमा पोखरी पुर्णनिर्माणका लागि छुट्याइएको रकमको १० प्रतिशत अर्थात १५ लाख रुपैयाँ, धनगढी लक्ष्मीपुर पत्तारी सडकमा छुट्याइएको रकमबाट १६ लाख, लक्ष्मीपुर पत्तारी माविको मैदानमा माटो भर्न छुट्याइएकोबाट २ लाख सहरी विकासको २ लाख पटक पटक थपेर ३४ लाख पुर्याइएको पाइएको छ।

गाउँपालिकाको पश्चितर्फ शिव मन्दिर छ। त्यस मन्दिरमा शिव लिंग स्थापना गरि कार्यक्रम गर्न कर्मचारी रञ्जित कुमार साहलाई ९ लाख पेश्की दिइएको छ। साह करारमा भर्ती गरिएका कर्मचारी हुन।

स्थानीय राहुल यादवका अनुसार यस गाउँपालिकामा लाखौं सरकारी रकम दुरुपयोग भएको छ। जसको छानविन गरि कारबाहीका लागि स्थानीयबासीले अख्तियारमा उजुरी समेत गरिसकेको अवस्था छ। कर्मचारी भर्ना, सम्पन्न नै नभएको योजनामा भुक्तानी, योजनामा अनियमिताका थुप्रै घटना छन्, जसको अनुसन्धान तथा कारबाहीका लागि अख्तियार गुहारेका छौं, उनले भने।

 

 

 

 

 

 

प्रकाशित: १२ वैशाख २०७६ ०५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App