१६ चैत्र २०८० शुक्रबार
राजनीति

सार्वजनिक कार्यक्रममै आरोप–प्रत्यारोप

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सहभागी कांग्रेस सभापति सहतिका शीर्ष नेताहरू। तस्बिर : चिरञ्जिवी घिमिरे ÷ नागरिक

युवराज विवश/चिरञ्जीवी घिमिरे
झापा - नेपाली कांग्रेसमा लामो समयदेखि अन्तरद्वन्द्व र अन्तर संघर्ष चल्दै आएको छ। पार्टी केन्द्रमा देखिएको गुटगत स्वार्थ तल्लो तहसम्म पनि उस्तै छ। पार्टी सभापतिदेखि नेतासम्म आफ्नो गुटगत स्वार्थअनुसार एकअर्काको आलोचना सार्वजनिक कार्यक्रममा नै गर्दै आएका छन्। गत पुसमा सम्पन्न महासमिति बैठकदेखि भने नेताहरू एउटा मुद्दाका कारण विभाजित छन्। महासमिति बैठकमा जिल्ला सभापतिहरूले उठाएका दुईवटा मुद्दाका कारण सभापति शेरबहादुर देउवा र असन्तुष्ट खेमाका नेताहरूले आ–आफ्नै मुद्दा बनाएका छन्।

जिल्ला सभापतिहरूले महासमिति बैठकमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि हुन तल्लै तहबाट निर्वाचित भएर आउनुपर्ने र समानुपातिकमा एउटैलाई पटकपटक अवसर दिन नहुने प्रस्ताव अघि सारेका थिए। यो प्रस्तावमा सभापति देउवाले पनि बैठक सक्दै गर्दा सहमति जनाए तर पछि केन्द्रीय समिति बैठकमा भने यसको विपरीत बहुमतबाट विधान पारित गरे।

त्यसयता यो विषयले कांग्रेसलाई गर्माएको छ। सभापति समूह र असन्तुष्ट खेमाका नेताहरू एकअर्काको प्रतिरक्षामा उत्रिएका छन्। सार्वजनिक कार्यक्रममै यही विषयलाई लिएर नेताहरूले आरोप प्रत्यारोपसमेत गर्दै आएको छ। सोमबार झापाको दमकमा क्षेत्र नम्बर ५ को कार्यालाय उद्घाटन समारोहमा पनि कांग्रसभित्रको गुटगत राजनीति छताछुल्ल भयो। सभापति देउवासहित शीर्ष नेता उपस्थित कार्यक्रममा नेताहरू एकअर्काको आरोप–प्रत्यारोप मै उत्रिए।

आफ्नै गृहजिल्लामा आएका सभापति देउवालाई नेता कृष्णप्रसाद सिटौलाले जिल्ला सभापतिहरूको माग किन समेटिएन भनेर प्रश्न गरेपछि सार्वजनिक कार्यक्रममै नेताहरूबीच आरोपप्रयारोपको श्रृंखला अघि बढ्यो। देउवाले केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था नयाँ नभएको भन्दै स्पष्ट पार्ने प्रयास गरे। उनले यसलाई नयाँ व्यवस्था गरेको जस्तै गरेर प्रचार गरेको भन्दै आपत्ति जनाए। ‘यो व्यवस्था नयाँ हैन। गिरिजाबाबु सभापति हुँदा आएको व्यवस्था हो’, सभापति देउवाले थपे, ‘यो व्यवस्था ल्याउँदा विधान मस्यौदा समितिको संयोजक सिटौलाजी(कृष्णप्रसाद सिटौला)नै हुनुहुन्थ्यो। तर अहिले मैले के के न गरेँ भने जस्तो बनाइएको छ।’

सभापति देउवाले केही समूहले पार्टीभित्र अनावश्यक विवाद झिक्न खोजेको आरोप लगाएका छन्। उनले जिल्ला सभापतिहरूले उठाएको केन्द्रीय सदस्य तलैबाट निर्वाचित भएर आउनुपर्ने र एकपटकभन्दा समानुपातिकमा अवसर पाउन नहुने विषय महासमितिबाट पारित नभएको दाबी गरे। ‘यो मुद्दा सभापतिहरूले उठाएको हो। तर महासमितिबाट पारित भएको हैन। महासमितिले त केन्द्रीय समितिलाई जिम्मेवारी दिएको हो’, उनले भने, ‘पारित गरेको भए केन्द्रीय समितिले चलाउन मिल्ने थिएन।’

आफूले जिल्ला सभापतिहरूको माग पूरा गर्ने प्रयत्न गरे पनि ८० प्रतिशतन केन्द्रीय सदस्यहरू यसको विपक्षमा उभिएपछि पछि हट्नुपरेको देउवाले स्पष्ट पारे। ‘मैले हुन्छ पनि भनेको हुँ। तर केन्द्रीय समितिमा ८० प्रतिशत नेता यसको विपक्षमा उभिनुभयो। ८ जना मात्र पक्षमा हुनुहुन्थ्यो,’ उनले भने, ‘यति हुँदा हुँदै मैले जबरजस्ती निर्णय गर्ने कुरा भएन। ८० प्रतिशतन केन्द्रीय सदस्यले नमानेपछि मैले के गर्ने ?’ यस्तै, उपसभापति विजयकुमार गच्छदारले पार्टीमा झगडा गरेर प्रजातन्त्रको रक्षा गर्न नसकिने बताए। उनले पार्टीमा समान्य झगडा हुँदा पनि विपक्षीले ठूलो झगडा भएको जस्तै गरेर प्रचार गरेको दाबी गरे।

उक्त कार्यक्रममा नेता सिटौलाले जिल्ला सभापतिहरूको मागलाई सभापतिले समेट्नुपर्ने बताए। सभापतिले प्रतिबद्धता गरेपछि त्यसबाट दायाँबायाँ गर्न नमिल्ने उनको भनाइ थियो। उनले पार्टी एकताका लागि महत्वपूर्ण पक्ष विश्वास भएको बताउँदै कांग्रेसमा विश्वासको संकट भएको बताए। ‘पार्टी एक हुनका लागि सैद्धान्तिक एकता, कार्यक्रम र नीति चाहिन्छ,’ उनले भने, ‘त्यसका लागि विश्वासको वातावरण आवश्यक छ। तर कांग्रेसमा विश्वासको संकट छ। पार्टी नेतृत्वले विश्वासको वातावरण तयार गर्नुपर्छ। त्यसका लागि एकअर्काको पारस्परिक सहयोगी भावना हुनुपर्छ।’ उनले सहमति र सहकार्यबाट मात्रै पार्टीलाई निकास दिन सकिने बताए। आफ्नो गृहजिल्लामा पुगेका सभापतिसहित शीर्ष नेतालाई झापाबाट एकताका लागि योजना लिएर फर्कन पनि सुझाव दिए। यस्तै, महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र एकता आवश्यक रहेको बताए। उनले कांग्रेस पराजित हुनुमा टिकट वितरण पनि भएकाले आगामी दिनमा योग्य मान्छेलाई मात्र टिकट दिनुपर्ने बताए।

सहमहामन्त्री डा. प्रकाशरण महतले भने केन्द्रीय समितिबाट भएको निर्णयको बचाउ गरे। उनले केही जिल्ला सभापतिहरू कपोकल्पित विषय ल्याएर प्रपोगान्डा मञ्चाउन खोजेको आरोप लगाए। ‘केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि थप एकजना आउन पाउँछ। त्यसो हुँदा किन ठाउँ ओगट्ने ?,’ उनले भने, ‘त्यसै माइनर कुरालाई मेजर बनाए मात्र हुन्छ ?’ उनले पार्टीभित्र आफ्नै नेताको आलोचना, आक्रमण र निषेधको राजनीति बढेको भन्दै यसले पार्टीलाई फाइदा नगर्ने बताए। उक्त कार्यक्रममा सभापति देउवा, उपसभापति गच्छदार , नेता सिटौला, महामन्त्री डा. कोइरालासहित सहमहामन्त्री डा. महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू भीष्मराज आङ्देम्बे, धनराज गुरुङ, सरिता प्रसाई, महालक्ष्मी उपाध्यय डिनालगायत पुगेका थिए।

प्रकाशित: १० वैशाख २०७६ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App