१५ चैत्र २०८० बिहीबार
राजनीति

देउवाकाे दुखेसाे : केन्द्रीय सदस्य मान्दैनन्, मैले मात्र के गर्ने ?

झापा– केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था नौलो नभएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।

यसलाई नयाँ व्यवस्था गरेजस्तै गरी प्रचार गरेको भन्दै देउवाले आपत्ति जनाए। ‘यो व्यवस्था गिरिजाबाबु सभापति हुँदै आएको हो, यो व्यवस्था ल्याउँदा विधान मस्यौदा समिति संयोजक सिटौलाजी(कृष्णप्रसाद सिटौला)नै हुनुहुन्थ्यो। तर अहिले मैले के के न गरेँ भने जस्तो बनाइएको छ’, उनले भने।

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय समिति कार्यालय उद्घाटन कार्यक्रममा पुगेका सभापति देउवाले केही समूहले पार्टीभित्र अनावश्यक विवाद झिक्न खोजेको आरोप लगाए।

जिल्ला सभापतिहरुले उठाएको केन्द्रीय सदस्य तलैबाट निर्वाचित भएर आउनुपर्ने र एक पटकभन्दा बढी समानुपातिकमा अवसर पाउन नहुने विषय महासमितिबाट पारित नभएको दाबी गरे। ‘यो मुद्दा सभापतिहरुले उठाएको हो। तर महासमितिबाट पारित भएको हैन। महासमितिले त केन्द्रीय समितिलाई जिम्मेवारी दिएको हो’, उनले भने, ‘पारित गरेको भए केन्द्रीय समितिले चलाउन मिल्ने थिएन।’

आफूले जिल्ला सभापतिहरुको माग पूरा गर्ने प्रयत्न गरे पनि ८० प्रतिशतन केन्द्रीय सदस्यहरु यसको विपक्षमा उभिएपछि पछि हट्नुपरेको देउवाले स्पष्ट पारे। ‘मैले हुन्छ पनि भनेको हुँ। तर केन्द्रीय समितिमा ८० प्रतिशत नेता यसको विपक्षमा उभिनुभयो। ८ जना मात्र पक्षमा हुनुहुन्थ्यो’, उनले भने, ‘यति हुँदाहुँदै मैले जबरजस्ती निर्णय गर्ने कुरा भएन।

उपसभापति विजयकुमार गच्छदारले पार्टीमा झगडा गरेर प्रजातन्त्रको रक्षा गर्न नसकिने बताए। पार्टीको सामान्य विवादलाई विपक्षीले ठूलो बनाएको भन्दै आक्रोश व्यक्त गरे। कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले जिल्ला सभापतिहरुको मागलाई सभापतिले समेट्नुपर्ने दाबी गरे। सभापतिले प्रतिबद्धता गरेपछि त्यसबाट दायाँबायाँ गर्न नमिल्ने उनको भनाइ थियो।

उनले पार्टी एकताका लागि महत्वपूर्ण पक्ष विश्वास भएको बताउँदै कांग्रेसमा विश्वासको संकट भएको बताए। ‘पार्टी एक हुनका लागि सैद्धान्तिक एकता, कार्यक्रम र नीति चाहिन्छ’, उनले भने, ‘त्यसका लागि विश्वासको वातावरण आवश्यक छ। तर कांग्रेसमा विश्वासको संकट छ। पार्टी नेतृत्वले विश्वासको वातावरण तयार गर्नुपर्छ।

त्यसका लागि एकअर्काको पारस्परिक सहयोगी भावना हुनुपर्छ।’ उनले सहमति र सहकार्यबाट मात्रै पार्टीलाई निकास दिन सकिने बताए। आफ्नो गृह जिल्ला पुगेका सभापतिसहित शीर्ष नेतालाई झापाबाट एकताका लागि योजना लिएर फर्कन पनि सिटौलाले सुझाए।

महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस पराजित हुनुमा टिकट वितरण पनि भएकाले आगामी दिनमा योग्य मान्छेलाई मात्र टिकट दिनुपर्ने बताए।

कार्यक्रममा सभापति देउवा, उपसभापति गच्छदार, नेता सिटौला, महामन्त्री डा. कोइरालासहित सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु भीष्मराज आङ्देम्बे, धनराज गुरुङ, सरिता प्रसाई, महालक्ष्मी उपाध्यय डिनालगायत पुगेका थिए।
 

प्रकाशित: ९ वैशाख २०७६ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App