७ वैशाख २०८१ शुक्रबार
राजनीति

भ्रष्टाचार संस्थागत गर्न सरकारले जनतालाई पानीजहाज र रेलको भुलभुलैयामा पार्‍योः नेता पौडेल

बुटवल– नेपाली कांग्रेसका शीर्ष नेताहरुले भ्रष्टाचारलाई संस्थागत गर्न वर्तमान सरकारले जनतालाई पानी जहाज र रेलको भुलभुलैयामा पारेको बताएका छन्। कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै नेताहरुले विकासको नाममा ठूला सपना देखाएर त्यसकै आडमा भ्रष्टाचारलाई संस्थागत गरिरहेको आरोप लगाए। वाइडबडी काण्ड र बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण जस्ता काण्डमा आफ्ना मन्त्री र नेताले गरेका भ्रष्टाचारलाई ढाकछोप गर्ने अभियानमा सरकार लागेको उनीहरुको आरोप छ। 

भेलालाई सम्बोधन गर्दै पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भुलभुलैयामा पारेर प्रधानमन्त्री स्वयम्ले वाइडबडी काण्डमा तत्कालिन पर्यटन मन्त्री रबीन्द्र अधिकारीलाइ चोख्याउन खोजेको बताए। जनताको सेन्टिमेन्ट बटुलेर घटना सामसुम पार्न अधिकारीको निधन भएको केही दिनमै प्रधानमन्त्रीले उनी निर्दोष भएको अभिव्यक्ति दिएको नेता पौडेललको भनाई थियो। ‘प्रधानमन्त्रीले  सत्य लुकाउन असत्य प्रचार गरियो आरोप लगाइयो भन्नु भयो। यदि प्रम ओलीलाई सत्य थाहा रहेछ भने खोइ त सत्य के हो सरकारले यथार्थ ल्याउनु पर्दैन?’ नेता पौडेलले भने। 

त्यस्तै भुमाफियाको मिलेमतोमा सरकारी जग्गा हत्याउने एउटा पार्टीको महासचिवलाई चोख्याउन सरकारका सञ्चार मन्त्रीले उनी निर्दोष भएको र उल्टै ठगिएको भनेर अभिब्यक्ति दिनु नेपालकै इतिहासमा लाजमर्दो घटना भएको नेता पौडेलले बताए। नेकपा महासचिव पौडेलले भुमाफियाहरु मार्फत पार्टीलाइ करोडौं चन्दा सहयोग गराई सरकारी जग्गा हत्याएको भन्दै नेता पौडेलले त्यसको निष्पक्ष छानबिन गरी कारबाही हुनुपर्ने बताए। 

नेता पौडेलले ठूला र महत्वाकांक्षी योजनाहरुको नाममा करोडौं रकम आफ्ना आसेपासेलाई बाँडेको आरोप पनि लगाए। ‘जनताले स्वस्थ पिउने पानी खान पाएका छैनन्। गाँउ ठाँउमा सडक, शौचालय छैन। सिँचाइ नहुँदा किसानका खेत बाँझै छन। तर केपी ओलीलाई जनताका ती आधारभूत आवश्यकताप्रति चासै छैन। चीनबाट रेल र भारतबाट पानीजहाज ल्याउँछौं भन्दै डिपिआरका नाममा करोडौ रकम सिध्याउनु हुन्छ’, बरिष्ठ नेता पौडेलले भने। जनताको आधारभुत आवश्यकता के हो र देशले खोजेको विकास के हो भन्नेतर्फ सरकारले चासै नदिएको भन्दै बरिष्ठ नेता पौडेलले ओली सरकार कुहिरोको काग भएको बताए। प्रम ओलीले विकासको जस बटुल्नकै लागि कांग्रेसले सुरु गरेका महत्वपूर्ण र बहुपयोगी आयोजनाको उद्घाटन शिलान्याश गर्दै हिडेको पनि आरोप लगाए। प्रम ओलीले फोटो खिचाएर आफूलाइ बिकास प्रेमी प्रमाणित गर्न भेरी बबइ डाइर्भसन, बुटवल–नारायणगढ ४ लेन, भैरहवा विमानस्थल जस्ता आयोजनाहरुको उद्घाटन शिलान्याशमा कुदिरहेको आरोप नेता पौडेलले लगाए।

केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कम्युनिष्ट सरकारको अधिनायकबाद बिरुद्ध लडन पार्टीलाइ बलियो बनाएर अगाडि बढनुपर्ने खाँचो औल्याए। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री ओली नियन्त्रित शासन प्रणालीको पक्षमा रहेको बताए। उनले सभामुख पनि सत्ताको छायामुनी दबिँदा संसदका कामकारबाही समेत प्रभावकारी र निष्पक्ष हुन नसकेको बताए। 

केन्द्रिय सदस्य तथा युवा नेता गगन थापाले बर्तमान सरकारबाट संविधान र लोकतन्त्रमाथि ठूलो खतरा रहेको औल्याए। सर्वोच्च अदालत, अख्तियार, लगायत संवैधानिक अगंहरु सरकारसंग डराउनु पर्ने अवस्था सृजना गरेर अधिनायकबाद लादन खोजेको उनको भनाइ थियो। 

नेता थापाले  भ्रष्टाचारलाई संस्थागत गर्न सरकारले सघाइरहेको भन्दै ललिता निवास जग्गा प्रकरणमा नेकपा महासचिव बिष्णु पौडेल ठगिएको भन्ने भनाइप्रति व्यंग्य पनि गरे। ‘यही जिल्लाका सांसद बिचरा बिष्णु पौडेल भुमाफियाबाट ठगिनु भएछ। बालुवाटार किन्दा ठगिएकै भएर होला बिचरा उहाँले पशुपति भने किन्न भ्याउनु भएको रहेन छ’, नेता थापाले भने। 

कार्यक्रममा केन्द्रीय सदस्य बद्री पाण्डे, हरी नेपाल लगायतका नेताहरुले बोल्दै जनताको पक्षमा काम गर्न सक्ने क्षमता नै नभएको सरकार दुई तिहाइको दम्भमा अधिनायकबादको बाटोमा हिडेको आरोप लगाएका थिए।

प्रकाशित: ७ वैशाख २०७६ १६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App