१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘अबको संसद अधिवेशनमा संविधान संशोधन अघि नबढाए सरकारमा टाँसिरहँदैनौं’

काठमाडौं– सत्तारुढ दल संघीय समाजवादी फोरमका महासचिव रामसहाय प्रसाद यादवले बारा र पर्सामा हावाहुरीका कारण प्रभावित बनेका पीडितहरुको लागि स्थायी बसोबासका लागि सरकारले घोषणा गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका छन्। 

महासचिव यादवले पीडित परिवारको दुःख, कष्ट निवारणमा सरकार जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने ध्यानाकर्षण गराए। उनले भ्रष्टाचारीलाई सरकारले कारबाही गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘भ्रष्टाचारी, कमिशनखोर, अपराधीलाई सरकारले पत्ता लगाउनुपर्छ। अहिले चर्चामा आएका भ्रष्टाचारीहरुलाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्छ। भ्रष्टाचारीहरुलाई खोजी खोजी कानूनी कठघरामा उभ्याउनुपर्छ।’

वर्तमान सरकार गठन भएको परिस्थितिको बारेमा उल्लेख गर्दै यादवले भने, ‘विगत तीन वर्षमा नभएका काम यो सरकारले गरेको छ। संविधानले परिकल्पना गरेबमोजिम ऐन, कानूनहरु आएका छन्।’

सरकारले जनताको हितमा काम गरिराखेको पनि जिकिर गरे। यद्यपि जनताले अपेक्षा गरेबमोजिम सरकारले काम गर्न नसकेको उनको स्विकारोक्ति थियो। उनले भने, ‘सरकारको कामको गति बढेको छैन्। अब यसतर्फ पनि सोच्नुपर्छ।’ विगतको तुलनामा भ्रष्टाचार झनै बढेको उनको आरोप छ। 

यादवले सरकारले विगतमा आफूहरुसँग गरेका सहमति तथा सम्झौताहरु कार्यान्वयन नगरेकोमा भने आक्रोश पोखे। उनले भने, ‘संविधान संशोधन गर्न यो सरकार संवेदनशील बनेन। सरकार अझैपनि सहमति कार्यान्वयन गरेर जाओस् भन्ने नै हामी चाहन्छौं। आउने संसद–अधिवेशनमा संशोधन प्रस्तुत भएन भने हामी सरकारमा टाँसिरहँदैनौं, बाहिरिन्छौं।’

संविधान संशोधन गर्नको लागि दुई तिहाई बहुमत चाहिने भएकोले आफूहरु सरकारमा सहभागी भएको उनको जिकिर छ। संविधान संशोधनको लागि अब धेरै कुर्ने बेला नभएको उनले जिकिर गरे। 

प्रकाशित: ७ वैशाख २०७६ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App