coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारप्रति जनताको विश्वास घट्दो : देउवा

क्याप्सन कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार कास्कीमा सहयोग हस्तान्तरण गर्दै। तस्बिर : नागरिक

पोखरा - कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको बताएका छन्। उनले एक वर्षमा पनि सरकारले सोचेजति काम गर्न नसकेकाले जनताले विश्वास गर्न नसकेको बताए। देउवाले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दीखोलामा कांग्रेस वडा एकाइ समितिले निर्माण गरेको बिपी स्मृति भवनको शुक्रबार उद्घाटन गर्दै सरकारले जनताको मन जित्न नसकेको बताए। ‘एक वर्ष अवधिमा सरकारले सोचेजति काम गर्न सकेन,’ उनले भने, ‘त्यसले गर्दा जनताले पत्याएका छैनन्।’

बालुवाटारको जग्गा किनबेच भएकोे विषयलाई गम्भीर रुपमा लिएको उनले बताए। ‘बालुवाटारको जग्गा राष्ट्रियकरण भएको जग्गा हो, यो जग्गा कसले किन्यो, कसले बेच्यो, गम्भीर छ,’ उनले भने, ‘यो विषय त्यत्तिकै छोड्नेवाला छैनौं।’ एक वर्षमा सरकारले एउटा पनि काम गरेर देखाउन नसक्दा सरकारप्रति विश्वास घट्दै गएको उनले बताए। सरकारले देश र जनता लुटेको आरोपसमेत उनले लगाए। ‘देश र जनतालाई नलुटेको भए लुट्न सके लुट् कान्छा भन्ने गीतसँग किन डराएको’, उनले प्रश्न गरे। सभापति देउवाले कर र भ्रष्टाचार बढाएको सरकारले बलात्कारीसमेत लुकाएको आरोप पनि लगाए।

सार्दीखोलामा निर्माण गरिएको बिपी स्मृति भवनले अन्य जिल्लालाई पनि भवन निर्माणका लागि उत्साहित बनाउने विश्वास उनले व्यक्त गरे। कांग्रेस केन्द्रीय सदस्य अर्जुन जोशीले आन्दोलनको नेतृत्व गरेको, संविधान बनाएको र तीन तहको निर्वाचन गराएको कांग्रेस कमजोर नरहेको बताए। ‘पार्टीभित्र एकता र सौहार्दता नहोला तर कांग्रेस कमजोर छैन,’ उनले भने, ‘सिद्धान्त र विचारमा उत्कृष्ट छ।’ उनले सरकारका कारण लोकतान्त्रिक व्यवस्थासमेत खतरामा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरे।

अर्का केन्द्रीय सदस्य धनराज गुरुङले सबै मिलेर मात्र राष्ट्रियता बलियो बनाउन सकिने उल्लेख गरे। उनले मिठो कुरा बाँडेको र मिठो सपना देखाएको कम्युनिस्ट सरकारले केही गर्न नसकेको टिप्पणी गरे।
कास्की सभापति कृष्ण केसीले सरकारका कारण ज्यादती, मनोमानी र अराजकता बढेकाले भोट दिएका जनतासमेत वाक्क भएको बताए। कार्यक्रममा भवन निर्माणका लागि आर्थिक सहयोग गरेकालाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा सूर्यबहादुर केसी, हितमान गुरुङ, गुन्जमान गुरुङ, लक्षिण–अमृत गुरुङ, पानबहादुर तामाङ, इन्द्र गुरुङ, राम गुरुङ, पूर्ण राई, कुलबहादुर गुरुङलगायत छन्।

तत्कालीन सार्दीखोला गाविसका अध्यक्ष एवं कांग्रेसका अग्रज नेता आशबहादुर गुरुङले उपलब्ध गराएको आठ आना जग्गामा दुईतले भवन निर्माण गरिएको छ। भवन निर्माणका लागि ५० लाख रुपैयाँभन्दा बढी लगानी भएको छ।

प्रकाशित: ७ वैशाख २०७६ ०२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App