१६ चैत्र २०८० शुक्रबार
राजनीति

स्थापना दिवसमा अलगअलग कार्यक्रम

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली विद्यार्थी संघ नेतृत्वबिहीन बनेको तीन महिना भएको छ। पार्टीका शीर्ष नेताहरूबीच सहमति जुट्न नसक्दा नेतृत्वविहीन बनेको संघले शुक्रबार ४९औं स्थापना दिवस मनाएको छ।

नेतृत्वविहीन संघमा आबद्ध विद्यार्थीले स्थापना दिवस भने गुटगत आधारमा कार्यक्रम गरी मनाएका छन्। पार्टीभित्र मौलाउँदै गएको गुटगत संस्कृतिबाट ग्रस्त संघका नेता तथा कार्यकर्ताले पनि स्थापना दिवसलाई आआफ्नो शक्ति प्रदर्शनका रुपमा उपयोग गरे। पार्टी केन्द्रीय समितिको निर्देशनअनुसार नेवि संघ काठमाडौंले बिहान राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना ग-यो। पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट संघका काठमाडौं अध्यक्ष मनोज वैद्यसँग असन्तुष्ट नेता तथा कार्यकर्ता सो कार्यक्रममा सहभागी भएनन्। पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, नेता सिंहसहित सो कार्यक्रममा सहभागी भए। तर, संघका निवर्तमान अधिकांश पदाधिकारी उपस्थित भएनन्। उल्टै उनीहरुले राजधानीका अन्य ठाउँमा गुटगत कार्यक्रम आयोजना गरे। ती कार्यक्रममा पार्टीका पदाधिकारी र नेताहरु पनि सहभागी भए।

‘हाम्रो नेवि संघ संगठित र प्रशिक्षित नेवि संघ’ को नाममा थापागाउँमा रहेको लेखनपुन्जमा महामन्त्री शशांक कोइरालाको उपस्थितिमा कार्यक्रम गरियो। संघका नेता नीलकन्ठ रिजालले साथीभाइ दिउँसोको कार्यक्रम तयारीमा जुट्नुपरेकाले बिहानको कार्यक्रममा नआएको दाबी गरे। पार्टीका अर्का नेता कृष्णप्रसाद सिटौला निकट संघका नेताले पनि धुमबाराहीमा रहेको स्र्माट क्याफेमा अलगै कार्यक्तम गरे। संघ सुदृढीकरणका लागि खुला बहस नाम दिएर सिटौला समूहले कार्यक्रम ग-यो। पार्टी नेतृत्वले संघमाथि अन्याय गरेकाले सभापतिसहितका नेता सहभागी बिहानको कार्यक्रममा आफूहरु सहभागी नभएके दाबी गर्दै संघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले भने, ‘हामीले छुट्टै भव्य कार्यक्रम ग¥यौं, बिहानकोमा गएनौं।’

त्यस्तै, स्ववियु परिषद् नेपालको नाममा शुक्रबार दिउँसो कमलादीमा अर्को कार्यक्रम भयो। उक्त कार्यक्रममा पार्टी सहमहामन्त्री प्रकाशरण महतसहितका नेता सहभागी भए। कार्यक्रम गर्न सहयोगी भूमिका खेलेका संघका ऋषिकेश शाहले केन्द्रीय समिति नभएकाले अलगअलग कार्यक्रम भएको बताए। पार्टी सभापतिसहितका नेता सहभागी कार्यक्रममा पनि सहभागी भएको बताउँदै उनले भने, ‘संघको केन्द्रीय नेतृत्व नहुँदा सबैले आआफ्नै ढंगले कार्यक्रम गरेका हुन्।’ विधानअनुसार तत्कालीन नेतृत्वले महाधिवेशन गराउन नसकेपछि माघ २ गतेदेखि संघ नेतृत्वविहीन छ। पार्टी केन्द्रीय समिति बैठकले संघको नेतृत्व छनोट गर्न सभापतिलाई अधिकार दिए पनि अहिलेसम्म टुंगो लाग्न सकेको छैन।

संघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले छिट्टै संघले नयाँ नेतृत्व पाउने दाबी गरे। संघकै नेताहरुसँगको परामर्श आधारमा सभापतिको उम्मेदवार बन्न ३२ वर्षे उमेर हद लागू गर्ने नगर्ने विषयमा फरकफरक मत आएकाले नेतृत्व चयनमा ढिला भएको बताउँदै देउवाले भने, ‘अब छिट्टै नेतृत्व पाउनुहुन्छ ढुक्क हुनुहोस्।’ केपी ओली नेतृत्वको सरकारले जनतालाई दुःख मात्र दिएको भन्दै देउवाले यसबाट मुक्ति पाउन आन्दोलन गर्ने बेला आएको बताए। त्यसका लागि तयार हुन संघका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘ओली सरकारबाट मुक्ति खोज्ने बेला आएको छ। भोलिका दिनमा आन्दोलन गर्न विद्यार्थीले पूरा तयारी गर्नुपर्छ।’

कार्यक्रममा महामन्त्री कोइरालाले वर्तमान सरकार कुरा गर्ने काम नगर्नेतर्फ अगाडि बढेको आरोप लगाए। सरकारविरुद्ध संघ एकताबद्ध भएर सडकमा उत्रिने बेला आएको बताउँदै उनले भने, ‘संघको कार्यसमिति चाँडो गठन हुन्छ, उक्त कार्यसमिति संगठन विस्तार र सरकारको गलत क्रियाकलापविरुद्ध लाग्नुपर्छ।’ नेता सिंहले वर्तमान सरकारले कम्युनिस्ट अधिकायकवाद लागू गर्न खोजेको आरोप लगाए।

 

प्रकाशित: ७ वैशाख २०७६ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App