७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘सर्वोच्चको कुर्सीमा सुहाउने न्यायाधीश पठाउनुस्’

काठमाडौं - संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका लागि प्रस्तावित केही न्यायाधीशको योग्यतामाथि गम्भीर प्रश्न उठाउँदै सर्वोच्चको कुर्सीमा सुहाउने न्यायाधीश पठाउन आग्रह गरेका छन्। बुधबार सुनुवाइ समितिमा परेको उजुरी छलफलमा उजुरीकर्ताले प्रस्तावित न्यायाधीशका योग्यतामा प्रश्न उठाएका हुन्।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतका लागि न्यायाधीशमा प्रस्तावित मनोजकुमार शर्मामाथि गम्भीर प्रश्न उठाएका हुन्। थापा आफै उजुरीकर्ता भएकाले समितिमा उपस्थित भएर सर्वोच्च अदालतलाई ‘डिप्रेसन’तिर लगिएको दाबी गरे। सुनुवाई समितिमा करिब डेढ घन्टा लामो उजुरी छलफलमा सवाल जवाफ गरेका थापाले न्यायाधीश सिफारिस ‘उदेकलाग्दो’ भएको टिप्पणी गरे।

संविधानको धारा १२९ को उपधारा ५ मा भएको न्यायाधीश नियुक्तिविरुद्धमा न्यायपरिषद्बाट सिफारिस गरिएको थापाले उजुरीमा प्रश्न उठाएका छन्। ‘न्यायाधीशका विषयमा गम्भीरतापूर्वक छलफल गर्नुस्, तपाईंकै मानिससँग सम्बन्धित छ। तपाईंकै कार्यकर्तासँग सम्बन्धित छ’ थापाले भने, ‘सिफारिसलाई चेक गर्नुस्। सर्वोच्चको कुर्सीमा सुहाउने न्यायाधीश पठाउनुस्, संविधानले चिनेको मान्छे पठाइदिनुस्।’

समितिमा मनोजकुमार शर्मा र हरिप्रसाद फुयाँलको विषयमा थापाले प्रश्न उठाए। शर्माको हकमा लिडिङ केस र नजिरसमेत मागेर हेर्न सांसदलाई थापाले आग्रह गरे। ‘केही साथीको सरकारसँग घनिष्ठता छ भन्ने जनताले भनेका छन्,’ उनले भने, ‘त्यो घनिष्ठता कसरी तोड्नुहुन्छ ?’ हामीले राजा फाल्यौं, किस्तीमा राखेर योग्यता र हैसियत नै नभएको न्यायाधीश तपाईंले दिनु भयो भने के हुन्छ ?’ उनले समितिलाई प्रतिप्रश्न गरे।

थापाले सुनुवाइ समितिमा न्यायाधीशमा प्रस्तावित भएकाविरुद्ध वस्तुगत र सैद्धान्तिक प्रश्नमा उजुरी गरेका छन्। सिफारिस भएकाले कतिवटा फौजदारी र देवानी मुद्दामा बहस गरे भन्ने विषयमा संख्या माग्नसमेत आग्रह गरे। २०७१ सालसम्म वकालत गरेका शर्मा पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्ति भएका थिए। पूर्व प्रधानन्यायाधीश दामोदर शर्माका भतिज रहेका मनोजको योग्यता नभएको भन्दै सिफारिस भएदेखि नै टिप्पणी गरिँदै आएको छ।

यस अघि मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीका विषयमा सुनुवाइ नै नभई नियुक्ति हुँदा संसदीय सुनुवाइ समितिको आस्था गिरेको थापाले टिप्पणी गरे। ‘मुस्लिम आयोग अध्यक्षको सुनुवाइ नहुँदा सार्वभौमसत्ता खोज्नेको आस्थालाई केही गिराएको छ,’ उनले भने, ‘नियुक्तिको सिफारिस कसरी हुन्छ ? एकपटक कागजपत्र मगाइयोस्।’

योग्यतै नपुग्नेलाई न्याय परिषदले कसरी सिफारिस पठायो भन्दै थापाले प्रश्न गरे, ‘तपाईंहरूले बनाएको संविधानअनुसार चलेको छैन।’ अर्का अधिवक्ताले न्यायाधीश सिफारिसको विषय उठाउँदै वरिष्ठता, विषयवस्तुको ज्ञान के कुराले मापन गर्छ ? कानुनको क्षेत्रमा के योगदान छन् ? कति मुद्दामा बहस गर्नुभएको छ ?,’ उनले भने, ‘मन्त्रीको, प्रधानन्यायाधीश र अर्कोको खल्तीबाट ल्याएको हेर्ने यही समिति हो।’ उनले सर्वोच्च बेरोजगारलाई रोजगार दिनका लागि नभएको बताए।

सांसद योगेश भट्टराई, सुरेन्द्र पाण्डे, भीमसेनदास प्रधानले नेपाल बारका पूर्वअध्यक्ष थापाको संसदीय समितिमा उजुरी छलफलमा उपस्थितिले गरिमा बढाएको बताएका थिए। समितिका सदस्य पाण्डेले सुनुवाइ प्रणालीको सुधारको प्रक्रियामा रहेको बताए। प्रणालीको अझै सुधार गर्नुपर्नेमा जोड दिए।

न्यायाधीशमा सिफारिस हरिप्रसाद फुयाँलविरुद्ध उजुरी दिएका उजुरीकर्ताले झुठो व्यहोरा पेस गरेर सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेकाले योग्य नभएको दाबी गरेका थिए। चितवनको एक तत्कालीन गाविसको विवाद विषयमा फुयाँलले झुठा विवरण पेश गरेर पुनरावेदन दर्ता गरेको उजुरीकर्ताको दाबी छ। न्यायाधीशमा प्रस्तावित सुष्मलता माथेमा र वरिष्ठ अधिवक्ता कुमार रेग्मीविरुद्ध भने खासै नकारात्मक उजुरी परेका थिएनन्।

संसदीय समितिमा धरधरी रुँदै न्याय मागिन्
संसदीय सुनुवाइ समितिमा केही उजुरीकर्ता आफ्नै गुनासो लिएर गएका थिए। आफूले न्यायाधीशका कारण मुद्दा हारेको गुनासो लिएर समितिमा पुगेकी एक महिलाले ‘मलाई न्याय दिलाइदिनुस्’ भन्दै धरधरी रोइन्। सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश प्रकाशकुमार ढुंगानाविरुद्ध उजुरी दिएकी एक महिला सुनुवाइ समितिमै रोएकी हुन्। एक ठगी मुद्दामा आर्थिक लेनदेन गरी तीनपटकसम्म मुद्दा एउटै बेन्चमा पारी सेटिङ मिलाएर फैसला भएको भन्दै उनले न्यायाधीश ढुंगानाविरुद्ध उजुरी दिएकी थिइन्। उच्च अदालत पाटनमा मुद्दा तीनपटकसम्म एउटै न्यायाधीशकोमा पारेर फैसला भएको आरोप लगाइन्।

उजुरीकर्ता अन्जुकुमारी दाहालका पति योगेन्द्रमणि ठगी मुद्दामा नख्खु जेलमा भएको बताइन्। दाहाल पतिको कुनै गल्ती नभएको र न्यायाधीशले प्रमाण नपढी फैसला गर्दा ‘सेटिङ मिलाएको थाहा भएको’ बताइन्। पतिको कुरा गर्दागर्दै उनी ग्वाँग्वाँ रोइन्। समितिका सभापति लक्ष्मणलाल कर्णले नरोई आफ्ना कुरा राख्न आग्रह गरेपछि ‘मलाई न्याय दिनुस्’ भन्दै हात जोडेकी थिइन्।

न्यायाधीशहरुको सुनुवाइ बिहिबार हुँदैछ। न्याय परिषद् बैठकले सर्वोच्चका लागि प्रस्तावित पाँचजना न्यायाधीशको उपस्थितिमा सुनुवाइ हुँदैछ।

प्रकाशित: ५ वैशाख २०७६ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App