८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारले सबैतिर हस्तक्षेप गर्‍याे : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले नेपाली सेनादेखि हरेक क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाएका छन्। सरकारबाहिर रहेका दलसँग आबद्ध ११ विद्यार्थी संगठनले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गर्दै मुलुकमा अराजकता फैलाइरहेको आरोप लगाएका हुन्।

संवैधाषद्देखि नेपाली सेनामा समेत सरकारको हस्तक्षेप बढिरहेको उल्लेख गर्दै देउवाले प्रधानमन्त्रीले नै सेना परिचालन गर्न पाउने अधिकारसहितको सुरक्षा परिषद्सम्बन्धी विधेयक कांग्रेसलाई मान्य नभएको बताए। उनले नेपाली सेना कसैको नोकर नभएको जनाउँदै प्रधानमन्त्रीले भन्नेबित्तिकै परिचालित हुनुपर्ने बाध्यता नरहेको जिकिरसमेत गरे।

नेपाल प्रहरीसहितका अन्य संगठनले नसकेको अवस्थामा मात्र नेपाली सेना परिचालित हुनुपर्ने जनाउँदै देउवाले भने, ‘अब सेना प्रधानमन्त्रीले परिचालन गर्ने रे, यो पनि कहीं हुन्छ ? हुकुममा चल्न सेना कसैको नोकर हो र ?’
सरकारको यसतो गलत प्रवृत्ति कायमै रहे सडक र सदनबाट आन्दोलन थाल्ने बताउँदै देउवाले ओली नेतृत्वको सरकारले एक वर्षमा एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाए। निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्नुको सट्टा संरक्ष्ण गरिरहेको आरोप लगाउँदै देउवाले महँगी, अराजकता र कर बढाउने काममात्र सरकारले गरेको दाबी गरे। एउटा जिल्लाबाट अर्को जिल्ला जान पनि कर लगाएको र कुखुरामा पनि कर लगाएको सुनाउँदै देउवाले भने, ‘केपी शर्मा ओलीको नाम अब करप्रसाद ओली राख्नुपर्ने भइसक्यो।’

सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिले राष्ट्रिय एकता र अखण्डतका विषयमा नै प्रश्न उठाएको उनले बताए। सरकारसँग सहमति गरेर गएको राउतले ‘नयाँ देश मधेसमा स्वागत छ,’ लेखेको ब्यानर बोकेको सुनाउँदै उनले भने, ‘नेपालको कुनै पनि भूभाग टुक्र्याउन जनमत संग्रह हुन सक्दैन। त्यसमा हाम्रो सहमति कहिल्यै कुनै हालतमा हुन सक्दैन।’
कार्यक्रममा मोहन वैद्य, सिपी मैनाली, राजेन्द्र महतोसहित विभिन्न दलका नेताहरूले सरकारको गलत प्रवृत्ति रोक्न आन्दोलन जरुरी रहेको औंल्याएका थिए।

कांग्रेसको नीति तथा प्रतिष्ठान विस्तार
काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान समितिलाई विस्तार गरेका छन्। उपसभापतिको नेतृत्वमा रहेको उक्त समितिमा शुक्रबार निधिले पार्टीका विभिन्न तहका ३८ नेता सहभागी समिति विस्तार गरेका हुन्।

गत वैशाखमा उपसभापतिको जिम्मेवारीमा पुगेका निधिले पार्टी विधानको ३६ (१) ग अनुसार आरजु देउवा, धु्रव वाग्ले, डिकबहादुर लिम्बू, मनोहरनारायण श्रेष्ठ, तुलसीनारायण श्रेष्ठ, जगदीशचन्द्र पोखरेल, तारानाथ दाहाल, गेजा शर्मा वाग्ले, वीरेन्द्र साह, राजु नेपाल, भद्रा भण्डारी पराजुली, राजकुमार नकर्मी, प्रमोदहरि गुरागाई, नानीमैया बास्तोलासहित ३८ नेतालाई थपेका छन्।

कांग्रेसका अन्य विभाग र समितिहरू अझै गठन हुन सकेका छैनन्। सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षका नेताहरूबीच सहमति जुट्न नसक्दा विभाग गठनमा विलम्ब हुँदै आएको छ। पार्टी विधानले महाधिवेशन भएको दुई महिनाभित्र सबै निकायहरूलाई पूर्णता दिइसक्नुपर्ने उल्लेख छ। तर, कांग्रेस महाधिवेशन भएको तीन वर्ष पूरा हुँदा पनि समिति र विभागहरू गठन हुन सकेका छैनन् भने गठन भएका निकायहरू पनि सक्रिय छैनन्।

प्रकाशित: ३० चैत्र २०७५ ००:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App