coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘म सधैंभरी पदमा बस्ने हो र! आफू होइन सिस्टमलाई शक्तिशाली बनाउन खोजेको हुँ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सिस्टमलाई शक्तिशाली बनाउन खोजेको बताएका छन्। उनले आफू सधै पदमा नरहने भन्दै विकास र सुशासनका लागि सिस्टम बलियो हुनुपर्ने तर्क गरे। 

राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभागलगायत निकाय प्रधानमन्त्री कार्यालयमातहत ल्याएको र नेपाली सेनाको परिचालन अधिकारसमेत आफू मातहत ल्याउन प्रयास गर्दा प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबाट विरोध भएपछि प्रधानमन्त्री ओलीले पदलाई नभई सिस्टमलाई शक्तिशाली बनाउन खोजेको प्रष्ट पारेका हुन्। 

‘कतिले प्रधानमन्त्रीले सबै अधिकार लिएर शक्तिशाली बन्न खोज्यो भन्छन्’, ओलीले आफ्नो विरोध र आलोचना गर्नेतर्फ संकेत गर्दै भने, ‘प्रधानमन्त्री पदमा सधैभरी मै बस्ने हो र! सिस्टम बसाउन खोजेको हुँ। प्रश्न मलाई होइन सिस्टमलाई गर्नुस्। सिस्टम देशअनुसार हुन्छ। पहिला देश, सिस्टम अनि मात्र व्यक्ति हुन्छ।’

उद्योग वाणिज्य दिवसका अवसरमा विहीबार उद्योग वाणिज्य महासंघद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास सुशासनबाट हुने र सुशासनका लागि बलियो सिस्टम चाहिने तर्क गरे। सुशासन कायम गर्नकै लागि प्रधानमन्त्री पदलाई शक्तिशाली बनाउन खोजेको उनको आशय थियो। 

प्रधानमन्त्री ओली सत्तामा आएपछि सरकारका महत्वपूर्ण निकायहरु आफूमातहत राखेर शक्ति सञ्चयतर्फ लागेको भन्दै विरोध भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार ओलीले सत्ता सम्हालेको १ वर्षमा राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, महान्यायाधिवक्ताको कार्यालयलगायतका १८ वटा निकाय आफू मातहतमा ल्याएका छन्। 

गत चैत १ गते नेपाल राजपत्रमा प्रकाशित नेपाल सरकार कार्यविभाजन नियमावली पहिलो संशोधन नियमावली २०७४ अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको मातहतमा ४८ कार्यविभाजन तोकिएको छ। अर्थात ओली प्रधानमन्त्री भएपछि ४८ निकाय मातहत आएका छन्।   

यसक्रममा ओलीले पछिल्लो पटक आफै अध्यक्ष रहेको राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकमार्फत सेना परिचालनको अधिकार पनि आफैमा राख्नेगरी मस्यौदा तयार गरी संसदमा पठाएका थिए। प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने प्रावधान उल्लेख गरेर संसदमा पठाइएको उक्त विधेयक प्रमुख प्रतिपक्षी कांग्रेसको विरोधका कारण अगाडि बढ्न सकेन। यो विधेयक ल्याउँदा प्रधानमन्त्री ओलीको चौतर्फी विरोध भयो। कांग्रेस नेताहरुले अहिलेसम्म पनि यो विषयलाई लिएर विरोध गरिरहे पछि प्रधानमन्त्री ओलीले सिस्टम बलियो बनाउन खोजेको भन्दै आफ्नो बचाउ गरेका छन्। 

प्रकाशित: २८ चैत्र २०७५ १०:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App