१५ चैत्र २०८० बिहीबार
राजनीति

निकुञ्ज ऐन संशोधन अघि बढेको छ : दाहाल

चितवन - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले माडीका जनतालाई निकुञ्ज पार गरेर जाँदा एउटा देशबाट अर्को देशमा गए जस्तो हुनु हँुदैन भनेर निकुञ्ज ऐन संशोधन गर्ने प्रक्रिया अगाडि बढाएको बताए। निकुञ्ज ऐनका कारण यहाँका जनतालाई र माडीको विकासमा भएको अवरोध हटाउन आफू निर्वाचित भएदेखि नै बहस अघि बढाएको उनले बताए।

माडी क्याम्पसको प्रथम क्याम्पस सभा उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले ऐनको परिपालना गर्ने क्रममा माडीवासीलाई भएको अप्ठेरो हटाउन धेरै लामो समय लागेको बताए। नेपाली राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रबीच समस्या रहने परम्परा पहिलेदेखि चल्दै आएका बताउँदै उनले व्यवहारिकरूपमा स्थानीयलाई सजिलो हुने गरी काम गर्न पटक–पटक छलफल गरे पनि व्यावहारिक रूपमा बदल्न कठिन भएको उनले बताए। माडीबाट भरतपुर जाँदा हुने मनोवैज्ञानिक यातना मुक्तिका कुरा यसअघि नै सोचिएअनुसार पटक–पटक छलफल र बहस अघि बढाइएको उनले बताए।

‘२०२९ सालमा बनेको निकुञ्जको ऐनले जनावरलाई मात्र देख्छ। जनतालाई देख्दैन,’ उनले भने, ‘मध्यवर्ती क्षेत्रमा बस्ने जनताका लागि अभिसापका रूपमा रहेको यो ऐनले जनावरलाई मात्र होइन मानिसलाई पनि हेर्नुपर्छ भनेर बहस सुरु गरेको धेरै समयपछि माडी क्षेत्र विकासका लागि प्रमुख समस्या बनेको निकुञ्जसम्बन्धी ऐन संशोधनको लागि कानुन समितिमा छ।’ ऐन संशोधन पनि माडीको प्रमुख समस्या समाधान हुने अध्यक्ष दाहालको भनाइ छ।
माडीमा रहेको सुकमबासी समस्या समाधान गर्न छलफल भइरहेको उनले जानकारी गराए। लालपुर्जा दिनुपर्ने ठाउँमा दिने र स्थानान्तरण गर्नुपर्नेलाई स्थानान्तरण गर्ने विधेयक अन्तिम चरणमा पुगेको उनी बताउँछन्। यसअघि नै नापी भएका स्थानमा लालपुर्जा नहुनेलाई र वर्षौदेखि बसेर जीविकोपार्जन गर्दै आएकालाई पनि दिन मिलेसम्म लालपुर्जा दिइने उनले बताए। उनी भन्छन्, ‘प्राकृतिक र सुरक्षाका कारणले बस्न नसक्ने ठाउँका बासिन्दालाई स्थानान्तरण गर्ने काम विधयक पास भएपछि सुरु गरिनेछ।’

बाँदरमुढे घटना संवेदनशील र दुःखद् भएको बताउँदै उनले पीडितलाई सहयोग उपलब्ध गराउन यसअघि नै गरेको प्रतिबद्धता आगामी बजेटबाट सम्बोधन गरेर पूरा गर्ने बताए। बाँदरमुढेमा पार्क बनाउन १० करोड रुपैयाँ छुट्याइएको र प्रक्रिया अघि बढाइएको अध्यक्ष दाहालको भनाइ थियो। पूर्वाधार निर्माणतर्फ प्रदेश र संघको निर्वाचनको क्रममा नै बनाइएकोे निकुञ्ज क्षेत्र पार गर्न तथा माडी र भरतपुर महानगरपालिकालाई जोड्ने ध्रुवघाटदेखि वनकट्टासम्म आकाशे पुल निर्माण, माडीमा चक्रपथ निर्माण, नदीहरूमा तटबन्ध, कृषिमा आधुनिकीकरण, विविधीकरण र व्यवसायीकरण गर्ने, हुलाकी मार्गलाई तटबन्ध र रिङ रोडसँग जोड्ने योजना अघि बढाइसकिएको उनले बताए।
कृषि उत्पादन वृद्धि गर्ने र सकारले दिने अनुदानका लागि माडीलाई उच्च प्राथमिकतामा राखिने उनको भनाइ छ। पर्यटन विस्तार गर्न माडीलाई पनि एकसय वटा नयाँ गन्तव्यभित्र राखिएकाले पर्यटन विकासमा पनि राज्यका तर्फबाट योगदान हुने उनले बताए। देशको समग्र विकास र समृद्धिको सबैभन्दा ठूलो पूर्वाधार शिक्षाले नै देशलाई सभ्य र सुसंस्कृत र समृद्धि बनाउन योगदान गर्ने प्राथमिक भूमिका खेल्छ। विज्ञान र प्रविधिको शिक्षालाई आम जनताको उत्पादनक कार्यसँग जोड्न सकेमा समृद्धि यात्रा उचित ढंगबाट अगाडि बढ्ने उनको भनाई छ। अध्यक्ष दाहाल माडीमा भएको कार्यकर्तासँग अन्तक्र्रिया तथा पार्टी प्रवेश कार्यक्रम, दिवाकर स्मृति प्राविधिक शिक्षालयको भवन शिलान्यास कार्यक्रममा अध्यक्ष दाहाल सहभागी भएका छन्। अध्यक्ष दाहालले सँगै शिक्षामन्त्री गिरीराजमणी पोखरेल र भौतिक योजना मन्त्री रघुवीर महासेठसमेत माडी आएका थिए।

प्रकाशित: २८ चैत्र २०७५ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App