२३ श्रावण २०७७ शुक्रबार
राजनीति

विप्लव समूह प्रमुख सुरक्षा चुनौती

पोखरा - गण्डकी प्रदेशमा प्रमुख सुरक्षा चुनौतीका रूपमा विप्लव समूह रहेको निष्कर्ष निकालिएको छ। शनिबार र आइतबार पोखरामा भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीले गण्डकी प्रदेशको सुरक्षा चुनौतीको पहिलो कारक विप्लव नेतृत्वको नेकपा निष्कर्ष निकालिएको हो। चुनौतीको पहिलो नम्बरमा राखिए पनि उक्त समूह सानो मात्र रहेको रिपोर्टिङ गरिएको छ।

सुरक्षा बैठकमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गण्डकी प्रदेशमा विप्लव समूहको सुरक्षा चुनौती भए पनि उनीहरूको समूह सानो मात्रै भएकाले नियन्त्रण गर्न सकिने रिपोर्टिङ गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए। बैठकमा प्रमुख जिल्ला अधिकारीहरूले गरेको रिपोर्टिङबारे जानकारी गराउँदै ती सुरक्षा अधिकारीले भने, ‘विप्लव समूह यस प्रदेशको सुरक्षा चुनौती हो, तर सो समूह सानो मात्र भएकाले नियन्त्रण गर्न सकिन्छ।’ उनका अनुसार एघारै जिल्लाका प्रमुख जिल्ला अधिकारीले हाल सुरक्षा चुनौतीका रूपमा केही नदेखिए पनि सम्भावित चुनौती चिर्न उच्च सुरक्षा सतर्कता अप्नाउनुपर्नेमा जोड दिए।

त्यस्तै, गण्डकी प्रदेशको सुरक्षा चुनौतीमा गिट्टी वालुवा उत्खनन्मा हुने दादागिरी र विवाद पनि सुरक्षा चुनौतीका रूपमा राखिएको छ। यसैगरी, विश्वविद्यालयमा उत्पन्न हुने विवाद र त्यसबाट उत्पन्न परिस्थिति, उपदान माग गर्दै भइरहेको चिकित्सकहरूको आन्दोलनलगायत पनि सुरक्षा चुनौतीको रूपमा हेरिएको बताइएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव रामकृष्ण सुवेदीले नियमित बैठक अन्तर्गत गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी भएको जानकारी दिए। उनले सुदूरपश्चिम, कर्णाली, प्रदेश नम्बर ५ हुँदै गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी गरिएको बताए। बैठकमा गण्डकी प्रदेशका एघारै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सम्बन्धित जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराएको उनले बताए।

गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा व्यव्स्था सुदृढ बनाउन निर्देशन दिए। उनले सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेकाले सो निर्णयलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको गृह स्रोतले बतायो। गृहमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ, सो निर्णय कडाइका साथ पालना गर्नु, उनीहरूको गतिविधिमाथि कडा निगरानी गरी नियन्त्रण गर्नु।’ विप्लव समूहलाई रक्षात्मक बनाएर मूलधारमा आउन बाध्य बनाउने सरकारको रणनीति भएकाले सुरक्षा व्यवस्था चुस्त बनाउन उनले निर्देशन दिए। गृहसचिव प्रेमकुमार राईले विप्लव समूहको गतिविधिमा पूर्णरूपमा प्रतिबन्ध लगाउन निर्देशन दिए। उनलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सरकारको निर्णय पूर्णरूपमा पालना गर्र्नु, विप्लव समूहका कुनै पनि गतिविधि हुन नदिनु।’ गण्डकी प्रदेशमा विप्लव समूहका १५ जना बढी पक्राउ परिसकेका छन्। गण्डकी प्रदेशमा कास्की, तनहुँ, पूर्वी नवलपरासीलगायतका जिल्लाबाट विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन्। गण्डकी प्रदेशको मनाङ र मुस्ताङ जिल्लामा भने विप्लव समूहको उपस्थिति अत्यन्त न्यून मात्रै रहेको बताइन्छ।

प्रकाशित: २५ चैत्र २०७५ ०९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App