१५ चैत्र २०८० बिहीबार
राजनीति

असन्तुष्ट पक्षसँग बेग्लाबेग्लै भेट

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रियामा विवाद उत्पन्न भएपछि दुई अध्यक्षले असन्तुष्ट नेताहरुलाई एक्लाएक्लै भेट गर्न थालेका छन्। पार्टी एकीकरण प्रक्रियामा माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले असन्तुष्टि व्यक्त गरिरहेकै बेला प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले उनीहरुसँग बेग्लाबेग्लै भेट गरी छलफल थालेका हुन्।

पार्टी अध्यक्षद्वयले आइतबार बिहान गौतमलाई बालुवाटार बोलाएर एकीकरण विवादका विषयमा कुराकानी गरेका छन्। अध्यक्ष ओलीले एकीकरण प्रक्रिया टुंग्याउन जिल्ला कमिटी गठन पनि आकस्मिक रुपमा टुंगिने अभिव्यक्ति दिएलगत्तै नेपाल समूहले छलफल नगरी टुंग्याए समानन्तर जिल्ला कमिटी बनाउने चेतावनी दिएपछि अध्यक्षद्वयले उनीहरुसँग बेग्लाबेग्लै छलफल थालेका हुन्। आइतबार बिहान भएको छलफलमा सचिवालय सदस्य गौतमले एकीकरण प्रक्रिया सबै पक्षलाई मान्य हुनेगरी टुंग्याउन अध्यक्षद्वयलाई सुझाव दिएका थिए। ‘एकीकरणकै विषयमा छलफल भयो। केही कमजोरी देखिएका छन्। तिनीहरुलाई सच्याउनुपर्ने आवश्यकता छ। त्यसैअनुसार सुझाव दिइएको छ’, सचिवालय सदस्य गौतमलाई उद्धत गर्दै स्रोतले भन्यो, ‘नेता कार्यकर्तामा देखिएको निराशा कम गर्न र उचित जिम्मेवारी दिन अध्यक्षद्वयलाई उहाँको अनुरोध थियो।’

दुईतिहाइ बहुमतका साथ देशको नेतृत्व गरिरहेको अवस्थामा पार्टीका समानान्तर जिल्ला कमिटी बने त्यसले पार्टी र सरकार दुवैमा नकारात्मक असर पर्ने निष्कर्षसहित अध्यक्षद्वयले सकेसम्म सहमतिबाटै जिल्लाको नेतृत्व टुंग्याउनेगरी छलफल थालेको ओलीनिकट स्रोतले जानकारी दियो। एकीकरणका सम्बन्धमा पार्टी सचिवालयमा रहेका शीर्ष नेताहरूले नै आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकोमा ‘नोट अफ डिसेन्ट’ लेखेर अध्यक्षद्वय ओली र दाहालको पार्टी सञ्चालन कार्यशैलीको बारम्बार प्रतिवाद गर्दै आएका छन्। यसले गर्दा राम्रा कामको पनि प्रचार हुन नसकी सरकारको आलोचना बढेको ओली समूहको ठम्याइ छ।

नेपाल समूहले सरकारी पदमा रहेका नेता र जननिर्वाचित प्रतिनिधिलाई पार्टीमा कार्यकारी जिम्मेवारी नदिने मापदण्ड जोडतोडले उठाएको छ। यो मापदण्ड सात महिनाअघि नेकपा सचिवालय बैठकले पारित गरेको थियो। साबिकको कमिटीबाट वरिष्ठतालाई आधार मानेर पूर्वएमालेले पाउने भागबन्डामा जिल्ला अध्यक्ष वा सचिवको जिम्मेवारी दिनुपर्ने नेपाल समूहको दाबी छ। पूर्वएमाले र माओवादी समूहमध्ये एक पक्षले अध्यक्ष पाए अर्कोले सचिव लिनेगरी यसअघि भएको समझदारी कार्यान्वयन गर्न नेपाल समूहले माग गर्दै आएको छ।

दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकताका लागि राजनीतिक, वैचारिक कार्यदिशा र नेतृत्व टुंग्याउने विषय जटिल भएकाले एकता घोषणाअघि टुंगो लगाउने जिम्मेवारी सुरुमा दुई अध्यक्ष ओली र दाहाललाई दिइएको थियो। गत जेठमा पार्टी एकीकरण घोषणापछि सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, केही प्रदेश कमिटीबाहेक अन्य कुनै पनि कमिटी बनेका छैनन्। एकीकरण प्रक्रिया टुंग्याउन पटकपटक बनेका कार्यदलले पनि काम गर्न सकेनन्। पार्टी अध्यक्ष दाहाल अमेरिका भ्रमणबाट फर्केलगत्तै पार्टी एकीकरण प्रक्रिया टुंग्याउने बताइएको थियो। अध्यक्ष दाहाल नेपाल आएलगत्तै अर्का अध्यक्ष ओली १ नम्बर प्रदेशस्तरीय दुईदिने कार्यक्रममा सहभागी हुन गए। त्यसबीचमै बारामा विनाशकारी हुरी आएपछि पार्टीको सचिवालय बैठकसमेत बस्न सकेको छैन।

प्रकाशित: २५ चैत्र २०७५ ०१:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App