coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेश विकासको भोको छ : मुख्यमन्त्री शाही

रुकुम– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आफ्नो प्रदेश विकासको भोको भएको बताएका छन्। भोको कर्णालीको विकास निर्माणको लागि आवधिक योजना निर्माण गरेर आमुल परिवर्तनको लागि काम गर्न सुरु गरेको उनले बताए। यहाँको विकासको लागि योजना निर्माण गरेर मात्र नहुने भन्दै उनले कार्यान्वयनमा पनि उत्तिकै ध्यान दिनुपर्ने मुख्यमन्त्री शाहीको भनाई छ। आइतबार रुकुम (पश्चिम)को सदरमुकाम मुसिकोट खलंगामा सञ्चालन भएको बृहत्त साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उनले परम्परागत शैलीले विकासको गति लिन नसक्ने दाबी गरे। 

परम्परागत योजना निर्माण र लगानीले कर्णाली प्रदेशको विकास असम्भव भएकाले संस्कारको समेत परिवर्तन गरेर योजना नयाँ ढंगले कार्यान्वयनमा विशेष ध्यान दिने बताए। उनले यहाँको विकासका लागि द्रुतमार्गको प्रयोग अपरिहार्य रहेको समेत बताए। अहिले तीन तहका सरकार बने पनि कसले के काम गर्ने भन्ने कुरा अझैसम्म स्पष्ट नहुँदा काम गर्न केहि समस्या उत्पन्न भएको उनले स्वीकार गरे। 

अहिले पनि केही तत्वहरुले नयाँ संरचनालाई मन नपराएकाले थप चुनौती रहेको मुख्यमन्त्री शाहीले बताए। गरिबीको चपेटामा रहेका कर्णालीवासीलाई केहि वर्षभित्रै खुसी बनाउने तरिकाले सरकारले काम गरिरहेको उनको भनाई छ। यहाँ सरकारी तथा गैरसकारी संस्थाको ठूलो लगानी भएको भए पनि त्यसको परिणाम नदेखिएको भन्दै मुख्यमन्त्री शाहीले अबको लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा हुनुपर्ने बताए। 

पर्यटन, जलस्रोत, जडिबुटीका हिसाबले निकै मत्वपूर्ण क्षेत्रका रुपमा कर्णाली प्रदेश रहेकाले यसकै विकासबाट यहाँको समृद्धि ल्याउने उनले बताए। विभिन्न कला र संस्कृतिले धनी रहेको कर्णालीको पर्यटन क्षेत्रको समेत विकास गर्न आफूहरु लागि परेको उनले बताए। अन्य क्षेत्रको जस्तै कला र संस्कृतिले धनी रहे पनि प्रचार प्रसार र विकास नहुँदा पछाडि परेकाले यसको विकासको लागि सरकारले विशेष कार्यत्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए। सरकारले बनाउने योजनालाई सफल पार्नको लागि सहयोग गर्न मुख्यमन्त्री शाहीले आग्रह समेत गरे। 

साँस्कृतिक सम्मेलन उद्घाटन कार्यक्रममा पूर्वगृहमन्त्री जनार्दन शर्मा, कर्णली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी, राष्ट्रिय सभासदस्य ठगेन्द्रप्रकाश पुरी, कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्मा, रातो कामी लगायतको आतिथ्यता रहेको थियो।

प्रकाशित: २४ चैत्र २०७५ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App