७ वैशाख २०८१ शुक्रबार
राजनीति

देउवाले सच्याउलान् त निर्णय?

काठमाडौं– नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले सभापति शेरबहादुर देउवालाई दबाब दिने उद्देश्यले बुधबार र बिहीबार दुई दिन काठमाडौंमा बैठक गरे। भेलाको पहिलो निर्णय नै सभापति देउवाले केन्द्रीय समितिबाट बहुमतले पारित गरेको निर्णय सच्याउनुपर्ने थियो।

गत पुसमा सम्पन्न महासमिति बैठकमा जिल्ला सभापतिहरूले केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि हुन तल्लै तहबाट निर्वाचित भएर आउनुपर्ने र समानुपातिकमा एपटकभन्दा बढी अवस दिन नहुने मुद्दा अघि सारेका थिए।

महासमिति समापन गर्दै सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उनीहरूको मागलाई केन्द्रीय समितिबाट सम्बोधन गर्ने उद्घोष गरेका थिए। तर केन्द्रीय समिति बैठकमा सभापति देउवा समूहले महासमिति बैठकमा उठेका मुद्दालाई लत्याउँदै केन्द्रीय समिति बैठकबाट बहुमतले पार्टीको विधान पारित गरेका थिए।

केन्द्रीय समितिको यो निर्णयसँगै आक्रोसित बनेका जिल्ला सभापतिले शनिबार बस्ने केन्द्रीय समिति बैठकले निर्णय नसच्याए विशेष महाधिवेशनको पहल थाल्ने चेतावनी दिए। सभापतिलाई अप्ठ्यारोमा पार्न राखिएको यो बैठकबाट देउवा कति हच्किए? यसका लागि उनका आगामी गतिविधि हेर्नुपर्ने हुन्छ। तर सभापति देउवाले भने केही जिल्ला सभापति आफूविरुद्ध लाग्दैमा केही नहुने बताइसकेका छन्।

जिल्ला सभापतिहरूले बैठक गरेर दबाब दिए पनि सभापति देउवा निर्णय सच्याउने पक्षमा देखिँदैनन्। बिहीबार विराटनगर पुगेका सभापति देउवाले विशेष महाधिवेशन बोलाउन जिल्ला सभापतिहरूलाई चुनौती दिइसकेका छन्। उनले विशेष महाधिवेशन ‘फेस’ गर्न आफू तयार भएको बताए। जिल्ला सभापतिहरूको भेलामा देउवाले आफूनिकटका जिल्ला सभापतिहरूलाई सहभागी नहुने सर्कुलर नै जारी गरेका थिए।

तर जिल्ला सभापतिहरूले सभापति देउवाको यो चुनौतीप्रति आपत्ति जनाएका छन्। पार्टीलाई मिलाएर लैजानुपर्ने नेतृत्वको जिम्मेवारी भए पनि सभापतिले धम्कीको भाषा प्रयोग गर्न उचित नहुने जिल्ला सभापतिको तर्क छ। ‘उहाँ हाम्रो अभिभावक हो। सभापतिले थ्रेटको भाषा प्रयोग गर्नु स्वभनीय हुँदैन’, झापा सभापति उद्धव थापाले भने, ‘उहाँले सबैलाई मिलाएर लैजानुपर्छ। शान्तिपूर्ण ढंगले नै उहाँ अघि बढ्नुपर्छ।’ 

यसअघि केन्द्रीय समिति बैठकबाट गरेको निर्णय कुनै हालतमा सच्याउने पक्षमा देउवा देखिँदैनन्। लामो रस्साकस्सीपछि पारित भएको विधानलाई अब नचलाउने पक्षमा देउवा समूह छ।

बहुमत केन्द्रीय सदस्यले पारित गरेको दाबी गर्दै देउवा समूहले अनेक बखेडा नझिक्न संस्थापनइतर समूहका नेताहरूलाई आग्रहसमेत गरेको छ। जिल्ला केही सभापतिहरूले पार्टी सभापतिलाई  कमजोर बनाउन र पार्टीलाई सधैँ विवादमा धकेल्नलाई जिल्ला सभापतिहरूले यस्ता निर्णय गरेको देउवा समूहको निष्कर्ष छ।

‘एउटा केन्द्रीय समिति बैठकले गरेको निर्णय अर्को केन्द्रीय समिति बैठकले उल्ट्याउने कुरै हुँदैन’, देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘उहाँहरू (जिल्ला सभापति)ले उठाएको विषयमा हामीले न नयाँ ल्याएका छौं न पुरानोलाई चलाएका छौं। हामीले यथावत राखेका मात्रै हौं किन अनावश्यक विवाद झिक्नु?’

कुनै हालतमा पनि केन्द्रीय समितिले गरेको निर्णयमा पुनर्विचार नगर्ने सहमहामन्त्री डा. प्रकाशशरण महतको भनाइ छ। ‘केही व्यक्तिले भन्दैमा केन्द्रीय समितिको निर्णय उल्टिन्छ?’, उनले भने,‘यसलाई अनावश्यक ठूलो विषय बनाइयो।’

सभापति समूहले केही व्यक्तिले जिल्ला सभापतिको नाममा विवाद झिक्न खोजेको आरोप लगाएको छ। ‘जिल्ला सभापतिको नाममा केही व्यक्तिले स्वार्थपुर्ति गर्न खोजे। त्यहाँ भाग लिने अधिकांश सभापतिले अब पार्टीलाई विवादमा लानु हुँदैन। अब यस्तामा भाग लिँदैनौं पनि भनेका छन्’, पार्टी सहमहामन्त्री डा. महतले भने, ‘महासमिति बैठकमा उहाँहरुको मागमा निर्णय भएको थियो र? त्यो त उनीहरूको सुझाव न थियो। महासमिति बैठकमा माइक फोरेर अनुशासन उल्लंघन गर्नेले भन्दैमा हुन्छ?’

बरू आफूविरुद्ध लाग्ने केही जिल्ला सभापतिलाई नै कारवाही गर्ने तयारीमा देउवा लागेको स्रोतले बताएको छ। उनीविरुद्ध खनिएका केही जिल्ला सभापतिलाई निगरानीमा राख्न अनुशासन समितिका आफू निकट सदस्यलाई निर्देशन दिइसकेका छन्।

‘भेला र बैठक गर्दैमा त कारवाही हुँदैन। तर केही जिल्ला सभापतिहरू पार्टीको विरुद्ध अभिव्यक्ति दिने काम गरिरहनु भएको छ’, अनुशासन समितिका देउवानिकट एक सदस्यले भने, ‘त्यस्ता जिल्ला सभापतिको गतिविधिलाई हामी सुक्ष्म रूपमा हेरिरहेका छौं।’

प्रकाशित: २२ चैत्र २०७५ १०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App