१६ चैत्र २०८० शुक्रबार
राजनीति

नरम देखियो देउवाविरोधी समूह

काठमाडौं– सभापति शेरबहादुर देउवालाई दबाब दिन भेला भएका नेपाली कांग्रेसका जिल्ला सभापतिहरू केही नरम देखिएका छन्। 

पूर्वनिर्धारित कार्यतालिकाअनुसार दुई दिनको बैठकका लागि भेला भएका जिल्ला सभापतिहरूले बैठकलाई विषयान्तर नै गर्न खोजेका हुन् । यसअघि सभापति देउवाको खरो आलोचना गर्ने असन्तुष्ट खेमाका जिल्ला सभापतिहरू पछिल्लो समय सभापति देउवविरुद्ध बोल्नै छाडेका छन्। 

पार्टीको अनुशासन समिति गठन भएपछि कारवाहीमा पर्ने डरले सभापतिविरुद्ध बोल्नै छाडेका हुन् । सभापति देउवालाई गलाउने रणनीतिका साथ बसिएको बैठकमा जथाभावी नबोल्ने निर्णय नै भएको एक जिल्ला सभापतिले बताए । ‘पार्टीमा अनुशासन समिति बनेको छ । यसबाट बच्नु पनि पर्छ’, उनले नागरिकसँग भने, ‘हामीले बैठकको बारेमा व्यक्ति तोकेर के बोल्ने भनेर निर्णय गरेपछि मात्रै प्रतिक्रिया दिन पाउने निर्णय गरेका छौं ।’

महासमिति बैठकमा जिल्ला सभापतिहरूले केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि हुन बुथबाटै निर्वाचित भएर आउनुपर्ने र समानुपातिकमा एकपटक भन्दा बढी अवसर दिन नहुने माग गरेका थिए । उनीहरूको मागलाई केन्द्रीय समितिबाट सम्बोधन गर्ने महासमिति बैठक समापन गर्दै सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घोष गरेका थिए ।

तर केन्द्रीय समिति बैठकले उनीहरूको माग नसिमेटेपछि आक्रोसित बनेका जिल्ला सभापतिले माग सम्बोधन नभए विषेश महाधिवेशनको पहल थाल्ने चेतावनी दिएका थिए । यो विषयले बैठकमा प्रवेश पाएको सभापतिहरूले बताएका छन् । अधिकांश जिल्ला सभापतिहरूले महासमितिले दिएको म्यान्डेट केन्द्रीय समितिले पालना नगरेका कारण विषेश महाधिवेशनको पहल थाल्नुपर्ने धारणा राखे। 

बैठकमा अधिकांश संस्थापनइतर समूहका जिल्ला सभापतिको उपस्थिति छ। जिल्ला सभापतिले ५१ जना उपस्थिति रहेको दाबी गरेका छन्।

त्यहीअनुसार देउवालाई घेराबन्दी गर्ने उद्देश्यले भेला डाकेका थिए । बुधबार र बिहीबारका लागि डाकिएको बैठक अत्यन्तै गोप्य छ । चाक्सिबारीस्थित एक होटलमा भएको बैठकमा पत्रकारलाई समेत निषेध गरिएको थियो । भेलामा पार्टीलाई दबाब दिँदा विधान सच्याउन सकिने छलफल भएको पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङले बताए । ‘विधान छपाईमा गइसकेको छैन’, उनले भने, ‘हामीले उठाएका दुई मुद्दा आम कार्यकर्ताको भावनाअनुसार नै हो । त्यसकारण हाम्रो निर्णयले पार्टीले विधान सच्याउँछ भन्ने विश्वास छ ।’

बैठकमा अधिकांश संस्थापनइतर समूहका जिल्ला सभापतिको उपस्थिति छ। जिल्ला सभापतिले ५१ जना उपस्थिति रहेको दाबी गरेका छन्। 

बिहीबारसम्म उपस्थिति हुने उनीहरूको दाबी छ । बैठकमा सभापतिको गृहजिल्ला डडेलधुरका सभिापति कर्ण मल्लको पनि उपस्थिति छ । उनी सभापतिनिकट मानिए पनि पछिल्लो समय देउवासँग असन्तुष्ट छन् । संस्थापनइतर समूहले हेटौँडामा भएको जिल्ला सभापतिको भेलाबाटै उनी यो समूहमा आएको दाबी गरेको छ। 

यो भेला पार्टीलाई कमजोर बनाउन नेतृत्वविरुद्ध गुट खडा मात्रै गरेको मकवानपुर सभापति ईन्द्र बानियाँको निष्कर्ष छ । ‘यो भेला होइन मेला हो । देशमा यस्तो विषम् परिस्थिति छ । बरू प्रदेश २ मा उद्धारमा खटिनु नि! यो भेला विधानमै नभएको भेला हो’, उनले भने, ‘महासमितिमा यी दुई मुद्दा हामीले पनि उठाएका हौं । केन्द्रीय समितिबाट बहुमतले विधान पारित हुनु दुखद् हो । तर अनुशासन समिति, निर्वाचन समिति र नियमावली समिति सर्वसम्मत गठन भइसकेको छ । यो त पार्टी नेताले नै मेरो पक्षमा यति छन् भनेर देखाउन खोजे जस्तो भयो ।’

तर संस्थापन समूहका सभापतिले भने यो भेला कसैको विरुद्धमा नभएको स्पष्ट पारेको छ। ‘यो कोही व्यक्ति विशेषको भेला हैन । पार्टीलाई संस्थागत बनाउँदै भोलिका दिनमा सवल र सक्षम बनाउन र तल्ला तहको हितका लागि हो’, काठमाडौं सभापति सबुज बानियाँले भने,‘कसैलाई तेजोबध र घेराबन्दी गर्ने हाम्रो उद्देश्य हैन।’

संस्थापन समूहले लगाएको आरोप जस्तो यो बैठक अवैधानिक नभएको काठमाडौं सभापति बानियाँको दाबी छ । ‘जिल्लाको संगठनको जिम्मेवारी लिएरका जिम्मेवार नेता बैठक हो । यसलाई कसरी अवैधानिक भन्नुहुन्छ त्यो उहाँहरूको प्रष्ट्याउनुहोला’, उनले नागरिकसँग भने। 

आफूहरूले उठाएका दुई मुद्दालाई कसरी अघि बढाउने भन्नेबारे बिहीबार मात्रै निर्णय हुने नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले बताए । ‘सबैले आफ्नो धारणा राखिरहनु भएको छ’, उनले भने, ‘बिहीबार मात्रै निर्णयमा पुग्छौं ।’

बैठकमा बारा र पर्सामा आएको आँधीबाट प्रभावितलाई सहयोग गर्ने निर्णयसमेत भएको काठमाडौं सभापति बानियाँले बताए । ‘हामीले पीडितलायई सहयोग गर्ने निर्णय ग-यौं’, उनले भने, ‘कति सहयोग गर्ने भन्ने कुन जिल्लाले कति घोषणा गर्छ त्यसमा भर पर्छ । यो बैठकको अन्तिममा टुंगो लाग्छ ।’

 

प्रकाशित: २० चैत्र २०७५ १५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App