८ वैशाख २०८१ शनिबार
राजनीति

सभापतिदेखि मुख्यसचिवविरुद्ध उजुरी, कारबाही होला ?

काठमाडौं – नेपाली कांग्रेसका सभापतिदेखि कार्यालयका मुख्यसचिवसम्मलाई कारवाही गर्न माग गर्दै उजुरी दर्ता भएको छ। अनुशासन समितिले पार्टी हितविपरीत काम गर्नेविरुद्ध उजुरी माग गरेपछि सभापति शेरबहादुर देउवादेखि केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलसम्मलाई कारवाही माग गर्दै उजुरी दर्ता भएको हो। 

निर्वाचनमा पराजित भएको ‘ह्याङ’ले अझै नछाडेको कांग्रेसभित्र विषेश गरेर अन्तर्घातको कारवाही गर्न उजुरी परिरहेका छन्। निर्वाचन सकिएको डेढ वर्षसम्म हारको जिम्मेवारी कसले लिने भन्ने टुंगो नलागिसकेको कांग्रेसमा निर्वाचनमा भएका अन्तद्र्वन्द्व अनुशासन समितिमा परेको उजुरीले पनि प्रस्ट हुन्छ। 

यसअघि रमेश रिजालको संयोजकत्वमा रहेको समितिमा पनि अन्तर्घातका उजुरीको चाङ थियो। भीष्मराज आङ्देम्बेको संयोजकत्वमा रहेको समितिले चैत मसान्तसम्म उजुरी दर्ता गर्ने समय दिएसँगै उजुरी दर्ता गराउनेको पार्टी कार्यालयमा भीड लाग्न थालेको छ। उजुरी माग गरेको चार दिन बित्न नपाउँदै एक सय बढी उजुरी दर्ता भइसकेको पार्टीले जनाएको छ। यसअघिको समितिमा आएका उजुरीको ‘फाइल’ यो समितिले पनि पल्टाउने जनाएको छ।

सभापति देउवालाई कारवाही गर्न माग गर्दै गोरखाका महासमिति सदस्य राजेन्द्र बजगाईंले पार्टी केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराएका छन्। बजगाईंले सभापति देउवालाई इतिहास तोडमोड गरेको आरोप लगाएका छन्। 

यस्तै, उनले सभापति देउवालाई निर्वाचनअघि सरकार निर्माणमा अलोकतान्त्रिक गतिविधि गरेको आरोपसमेत लगाएका छन्। सभापति देउवाले संसदीय मर्यादा भुलेर कार्यकर्तालाई निरास पारेको भन्दै कारवाहीका लागि अनुशासन समितिसमक्ष उजुरी दर्ता गराएका हुन्। 

उनले संसदीय प्रणालीमा प्रमुखप्रतिपक्षी दलको भूमिका सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित दिनु नभएको उनको उजुरीमा उल्लेख छ। यसले कार्यकर्ताको भावनामा चोट परेको मात्र नभई पार्टीको साख नै गिरेको उजुरीमा उल्लेख छ। 

यस्तै, कार्यालयका मुख्यसचिवले पनि पार्टीको हितविपरीत काम गरेको भन्दै मुख्यसचिव पौडेलविरुद्ध पनि उजुरी परेको छ। जापानमा बस्दै आएका कांग्रेस क्रियाशील सदस्य यदुराम सापकोटाले मुख्यसचिवविरुद्ध कारवाहीको माग गर्दै उजुरी दर्ता गराएका छन्। पार्टी कार्यालयबाट विधानविपरीत गतिविधि भएको भन्दै मुख्यसचिवसहित त्यसमा संलग्नविरुद्ध कारवाही माग गरिएको छ।

सापकोटाले विभिन्न देशका जनसम्पर्क समितिमा विवाद आउनुको कारण मुख्यसचिव भएको उल्लेख गरिएको छ। मुख्य सचिवले त्यहाँको अवस्था नबुझेरै केही नेताको दबाबमा विधानविपरीत पत्राचार गरेको आरोप लगाएका छन्। यस्तै, मुख्यसचिवले केही देशको जनसम्पर्क समितिलाई कार्यसमितिविहीन बनाउन भूमिका खेलेको आरोप उजुरीमा छ। 

जनसम्पर्क समिति जापानका निवर्तमान सभापतिसमेत रहेका सापकोटाले पार्टी कार्यालयबाट हुने विधानविपरीतका गतिविधि रोक्न मुख्यसचिवसहित यसमा संलग्नलाई कारवाही गर्नुपर्ने माग गरेका छन्। ‘पार्टी सभापतिले पनि केन्द्रीय समितिको निर्णयबिना आग्रह गर्न सक्नुहुन्न। पार्टी कार्यालयबाट ठाडो आदेश जानु विधानविपरीत हो’, उनको उजुरीपत्रमा भनिएको छ।

सबै उजुरीको छानबिन हुने अनुशासन समितिले जनाएको छ। चैत मसान्तसम्म आएका उजुरीलाई छानबिन गरेर आवश्यकताअनुसार कारवाही गर्ने संयोजक आङ्देम्बेले बताए। ‘पहिलाका उजुरी पनि छन्। नयाँ उजुरी पनि आउने क्रम जारी छ’, उनले नागरिकसँग भने, ‘चैत मसान्तसम्म आएका सबै उजुरीको आवश्यक छानबिन गर्ने र आवश्यकताअनुसार कारवाही पनि गर्ने छौं।’ 

प्रकाशित: १५ चैत्र २०७५ ०९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App