१५ चैत्र २०८० बिहीबार
राजनीति

विप्लवका कार्यकर्तामाथि हिरासतमा यातना

सिन्धुपाल्चोक जिल्ला अदालत प्रांगणमा चन्द नेतृत्व नेकपाका कार्यकर्ता ।

सिन्धुपाल्चोक– राज्यविरुद्ध अपराध गरेको आरोपमा पक्राउ गरी हिरासत लिइएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले प्रहरीले आफूहरुलाई यातना दिएको बताएका छन्। 

थुनछेक बहसको क्रममा बुधबार सिन्धुपाल्चोक जिल्ला अदालतमा प्रस्तुत गरिएका उनीहरुले आफ्ना कानुन व्यवसायी र सञ्चारकर्मीसँग प्रहरीले यातना दिने गरेको बताएका हुन्। गत फागुन १७ गते सिन्धुपाल्चोक प्रहरीले चन्दका १७ कार्यकर्ता पक्रेको थियो। राज्य विरुद्ध अपराध मुद्धा दर्ता गरी अदालतबाट अनुसन्धानार्थ म्याद लिएर जिल्ला प्रहरीको हिरासतमा राखिएका सबैले आफूहरुलाई यातना दिइएको बताए। 

‘हामी हिरासतभित्रै असुरक्षित भयौँ,’ थुनछेक बहसपछि अदालतको फैसला सुन्न प्रांगणमा प्रतिक्षा गरिरहेका बेला त्यहाँ रहेका कानुन व्यवसायी र सञ्चारकर्मीलाई घेर्दै उनीहरुले एकै स्वरमा भने, ‘हाम्रो मानव अधिकारको रक्षा गरियोस्।’ थुनुवाका चन्दका कार्यकर्ता रञ्जित ठकुरीले पक्राउ परेकै दिनदेखि हरेकजसो रात आफूहरुलाई पालैपालो जिल्ला प्रहरीकै एकान्त कक्ष लगेर शारीरिक र मानसिक यातना दिएको बताए। 

‘विभिन्न प्रश्न सोधेर मानसिक यातना मात्र दिइएन,’ उनले भने, ‘शरीरमा थप्पड लगाउँदै पैतालामा पाइपले हिर्काएर यातना दिइरह्यो।’ आफूहरु अधिकांशको पैतालामा निल डाम रहेको भन्दै उनले सबैलाई पैतला देखाउन लगाएका थिए। महिलालाई महिलै र पुरुषलाई पुरुषै प्रहरी कर्मचारी लगाएर यातना दिने गरिएको उनीहरुले बताए। ‘राति कुट्न फरक–फरक प्रहरी आउँछन्,’ कुट्नका लागि प्रहरीको छुट्टै टोली बनाइएको आशंका गर्दै उनीहरुको भनाइ दियो, ‘यातना दिने प्रहरी कहिल्यै दिउँसो देखिएका छैनन्।’

अर्का थुनुवा कार्यकर्ता अजय श्रेष्ठले आफूलाई कान र नाकबाट रगत बग्ने गरी यातना दिएको बताए। ‘प्रहरीले कानमा मुक्का हाने,’ त्रसित हुँदै उनले भने, ‘रगत बग्यो। पछि नाकबाट पनि बग्न थाल्यो।’ उनले अहिले पनि बेला–बेलामा नाक र कानबाट रगत बग्ने गरेको बताए। 

पक्राउ परेकामध्ये तीन किशोरी १८ वर्षमूनिका छन्। उनीहरुले आफूहरुलाई पनि प्रहरीले यातना दिएको छ। ‘दुबै खुट्टाका पैतालामा धेरै दिन धेरै पटक पाइपले हिर्काए,’ अदालत परिसरमै सुन्निएका पैताला र निलडाम देखाउँदै मनिषा श्रेष्ठले भनिन्, ‘उभिँदा पैतला दुख्छ। हिँडडुल गर्नै सकस भइरहेको छ।’

सरकारले चन्द नेकपाको गतिविधिमा रोक लगाउनुअघि नै उनीहरु पक्राउ परेका थिए। संगठन विस्तारको क्रममा चौतारा नगरको साँगाचोक पुगेका बेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। थुनछेक बहसको क्रममा प्रतिवादीका कानुन व्यवसायी टेकराज भण्डारीले आफ्नो पक्षलाई प्रहरीले यातना दिने गरेको भन्दै जिल्ला न्यायाधीश टीकाराम आचार्यको ध्यानाकर्षण गराएका थिए। 

जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले चन्द कार्यकर्तालाई यातना नदिएको दाबी छ। ‘हामीले कुट्न त के छाएकासम्म छैनौँ,’ प्रहरी यातनाबारे संक्षिप्त प्रक्रिया दिँदै उनले भने। 

प्रकाशित: १३ चैत्र २०७५ १५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App