६ वैशाख २०८१ बिहीबार
राजनीति

पार्टीको भावी नेतृत्व सम्हाल्न तयार रहेको शशांकको संकेत

नेपालगन्ज– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको भावी नेतृत्व सम्हाल्न आफू तयार रहेको संकेत गरेका छन्। कांग्रेस बाँकेको कार्यालय नेपालगन्जमा सोमबार कार्यकर्तालाई सम्बोधन गर्दै उनले आसन्न महाधिवेशनमा आफू पनि नेतृत्वका लागि प्रमुख दावेदार रहेको संकेत गरे। 

कार्यकर्तालाई उनले भने, ‘मलाई तपाईहरुले साथ दिनुस्, म पनि तपाईहरुकै साथमा हुनेछ, पार्टीलाई एक ढिक्का बनाएर लैजान तपाई हामी सबै लागौं न।’ पार्टीको आसन्न महाधिवेशनमा भावी नेतृत्वका लागि कोइराला परिवारबाटै उम्मेदवारी दिने चर्चा चलिरहेका बेला विपी पुत्र समेत रहेका महामन्त्री कोइरालाले गरेको यस्तो संकेतलाई नेता कार्यकर्ताले अर्थपूर्ण रुपमा लिएका छन्। 

भाषणको पुरै समय पार्टीको आन्तरिक समस्याको विषयमा केन्द्रित रहेका उनले पार्टी पूर्व सभापति सुशील कोइरालाको निधनपछि बाँके जिल्लालाई आफूले विशेष नजरले हेरेको दाबी गरे। उनले पूर्वपार्टी सभापति स्वर्गीय कोइरालाको गृह जिल्लालाई आफूले अभिभावकत्व दिन तयार रहेको पनि संकेत गरे। महामन्त्रीको यस्तो संकेतले कार्यक्रममा उपस्थित नेता कार्यकर्ताले अब आउने प्रतिनिधी सभा निर्वाचनमा बाँके–२ स्थित स्वर्गिय कोइरालाको निर्वाचन क्षेत्रबाट उनी चुनाव लड्न सक्ने पनि अड्कलबाजी गरेका छन्। 

नेताहरुको विभाजनले पार्टीलाई फाइदा नगर्ने महामन्त्री कोइरालाको भनाई छ। नेतृत्वको आलोचना गरेर पार्टीमा सुधार नआउने महामन्त्री कोइरालाले बताए। ‘नेतृत्वको आलोचना गरेर कसैलाई फाइदा हुँदैन’, उनले भने ‘आपसी मन मुटावले पार्टीको अस्तित्व नै संकटमा पर्न सक्छ।’ नेपाली कांग्रेस एक ढिक्का भएपछि कसैले पनि हराउन नसक्ने महामन्त्री कोइरालाले ठोकुवा गरे। 

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल मिलेर मात्र पार्टी एक ढिक्का हुन सक्ने बताए। कोइरालाले थपे, ‘मैले शेरबहादुर जी र रामचन्द्र जीलाई पटक पटक तपाईहरु मिल्नुस भनेर भन्ने गरेको छु, उहाँहरु मिलेपछि पार्टीलाई नै फाइदा हुने हो।’ आफूले अहिलेसम्म पार्टीभित्र गुटबन्ध नगरेको उनले जिकिर गरे। 

अर्को प्रसंगमा उनले सरकार अधिनायकवादतर्फ उन्मुख भएकाले मुलुकमा खतराको घण्टी बजिरहेको टिप्पणी गरे। सेना, न्यायपालिकामा समेत सरकारले हस्तक्षेप गरिरहेको भन्दै उनले त्यसको प्रतिकार गर्न कांग्रेस एक हुनुपर्नेमा जोड दिए। 

पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दिपक गिरीले शीर्ष नेताहरुले एक आपसमा माला लगाउँदै पार्टीलाई एक भएर अगाडि लैजाने कुरा गरिरहे पनि व्यवहारमा एकता नदेखिएको बताए। उनले अब सबै मिलेर पार्टीलाई सशक्त बनाउन आग्रह गरे। 

अर्का केन्द्रीय सदस्य किशोरसिंह राठौरले सरकार दिनप्रतिदिन अलोकप्रिय बनिरहेको ठोकुवा गरे। पार्टीलाई क्रियाशील र गतिशील बनाउनुको विकल्प नभएको उनको भनाई छ। 

यस्तै केन्द्रीय सदस्य बद्री पाण्डेले सरकारले काम गर्ने ढंग नपुर्याइरहेको भन्दै अहिलेको संविधानलाई सरकारले बाँदरको हातमा नरिवल जस्तो बनाइरहेको आरोप लगाए। यसैगरी केन्द्रिय सदस्य कल्याण गुरुङले लोकतन्त्रका मूल्य मान्यतामा कांग्रेसले कुनै सम्झौता हुन नदिने बताए। 

कार्यक्रममा कांग्रेस बर्दियाका सभापति एवम् प्रतिनिधी सभाका सांसद सञ्जय गौतम, बाँके सभापति किरण कोइराला, उपसभापति सुनिलनरसिंह राणा लगायतले पार्टीको अवस्था र एकतामा जोड दिएका थिए। 

सो क्रममा पार्टी महामन्त्री कोइरालाले नेपाली कांग्रेस बाँके कार्यालय भवनको दोस्रो तल्ला उद्घाटन गरे। जिल्ला सचिव तप्त पौडेलका अनुसार कुल ११ लाख ३९ हजार रुपैयाँको लागतमा एउटा हलसहित ४ कोठे दोस्रो तल्ला निर्माण सम्पन्न भएको हो। महामन्त्री कोइराला आइतबार बर्दियाका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। उनी सोमबार नेपालगन्ज र कोहलपुरमा कार्यकर्तालाई सम्बोधन गरेर बेलुका नै दाङ प्रस्थान गरेका छन्।

प्रकाशित: ११ चैत्र २०७५ १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App