१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘विरोध गराई देखेर प्रम आश्चर्यचकित’

बुटवल/भैरहवा - प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावादी विचार, व्यवहार र संगठन रूपान्तरित हुँदा पनि चित्त दुखाउने मान्छेहरू देखेर आफू आश्चर्यचकित भएको बताएका छन्। शुक्रबार लुम्बिनी प्रेस क्लबले गौतम बुद्ध विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

पत्रकारको जिज्ञासामा विप्लव र सिके राउतको प्रसंग जोड्दै प्रधानमन्त्री ओलीले भने, ‘विप्लवलाई विध्वंसकारी गतिविधि नगर्नू, आतंककारी क्रियाकलाप नगर्नू भन्दा र सिके राउतलाई विखण्डनको मुद्दा छुटाएर मूलधारको राजनीतिमा ल्याउँदा चित्त दुखाउने मान्छे पनि छन्।

तिनीहरूको विरोध गराई देख्दा आश्चर्य लाग्छ। हामी कसैले पनि त्यति क्षणिक राजनीति गर्नुहुँदैन।’ देशको सावैभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै ओलीले भने, ‘शान्तिको बाटोबाट हामी सबै हिँड्नुपर्छ, शान्ति सुव्यवस्था मुख्य कुरा हो, अब विरोध होइन विकासतिर लाग्नुपर्छ। जुन राजनीति अपानाएर सिके राउत समूह मूलधारको राजनीतिमा आयो र हामीले विप्लव समूहलाई त्यसैगरी आउन भनेका छौं।’

‘हिंसात्मक गतिविधि नियन्त्रण गर्दा झनै बबार्दै भो भनेर बुद्धिजीवी हुँ भन्नेहरू बुरुक–बुरुक उर्फन्छन्,’ ओलीले भने, ‘त्यो देखेर झन् आश्चर्य लाग्छ।’ प्रधानमन्त्री ओलीले केही बुद्धिजीवी भनिनेहरू र केही संचारमाध्यमहरूले सरकारप्रति आँखा चिम्लिएर विरोध गरिरहेको आरोप पनि लगाए।

त्यसैगरी, प्रधानमन्त्री ओलीले मुलुकमा हिंसा मच्चाउनेहरूलाई नियन्त्रण गर्न खोज्दा ‘केही शक्तिहरू रोइकराइ गरिरहेको’ बताएका छन्। बुटवल–नारायणगढ चार लेन सडक शिलान्यास तथा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले सो कुरा बताएका हुन्। ‘हिंसा मच्चाउनेहरूका पक्षमा कसैले पनि रोइकराइ गर्नुहुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘अब देशमा बम पडकाउन, उत्पात मच्चाउन, मान्छे मार्न पाइँदैन। यो कुरा सबैले बुझे हुन्छ। कसैले रोइकराइ गर्दैमा कारबाही रोकिँदैन।’

यसैबीच प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डको स्तरोन्नति गर्दै चार लेनको बनाउने आयोजनाको शिलान्यास गरेका छन्। शिलान्यासका क्रममा प्रधानमन्त्री ओलीले देशमा विकासको महाअभियान चलिरहेका उल्लेख गर्दै भने, ‘अबको पाँच वर्ष सडक युगको हुनेछ, त्यसपछि सुरुङ युग सुरु हुनेछ।’

प्रकाशित: ९ चैत्र २०७५ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App