५ वैशाख २०८१ बुधबार
राजनीति

रेल किन्न बजेट थप

काठमाडौं - सरकारले जनकपुर–जयनगर–कुर्था खण्डमा चलाउन ८४ करोड ६५ लाख रुपैयाँमा दुइटा रेल किन्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन सरकारको प्राथमिकतामा रहेको बताउँदै आएका थिए। तर खरिद प्रक्रिया सुरु नगरिँदा नेपालमा रेल चलाउने प्रयास भाषणमा सीमित हुने हो कि भन्ने आशंका व्याप्त थियो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३५ किलोमिटरको जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चलाउन ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैयाँ बजेट स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

मन्त्रिपरिषदबाट स्वीकृत ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैयाँमा दुईवटा रेल किनी जनकपुर–कुर्था खण्डमा चलाइने भएको छ।

विगतमा सञ्चालन हुँदै आएको जनकपुर–जयनगर रुटलाई कुर्थासम्म बढाई मर्मत सम्भार गरेपछि रेल चलाउन लागिएको हो। मन्त्रिपरिषद्को निर्णयपछि रेल विभागले भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडसँग खरिदको प्रक्रिया सुरु गर्नेछ। विभागका महानिर्देशक बलराम मिश्रले केही दिनभित्र कोकन रेलवेजसँग रेल खरिद सम्झौता हुने बताए। उनका अनुसार कोकन रेलवेजसँग सम्झौता भएको करिब तीन महिनामा पहिलो रेल नेपाल आइपुग्नेछ। ‘पहिलो रेल आएको एक–डेढ महिनामा दोस्रो रेल पनि आइपुग्ने अपेक्षा गरेका छौं,’ उनले भने।

चालु आर्थिक वर्षको बजेटमा सरकारले रेल खरिदका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। त्यति रकममा दुइटा रेल खरिद गर्न नपुगेपछि मन्त्रिपरिषद् बैठकले थप बजेट खर्च गर्ने स्वीकृति दिएको हो। कोकन रेलवेजले रेलको मूल्य सरकारसमक्ष पठाइसकेको छ। नेपाली अधिकारीहरू रेल र त्यसको सञ्चालनबारे त्यति जानकार नभएका कारण भारतीय पक्षसँग निर्भर छन्। रेल सञ्चालन सुरु गर्न चालक र अन्य प्राविधिक कर्मचारी पनि भारतबाटै आउने बताइएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भने कोकन रेलवेजले तोकेको मूल्यभन्दा केही रकम घटाइएको बताए। रेल खरिद गर्न रेल विभाग र कोकन रेलवेजबीच सीधै सम्झौता हुने बताइएको छ। महासेठले साढे एक वर्षपछि रेल जनकपुर–बर्दिबास (६९ किलोमिटर) मा सञ्चालन हुने बताए। हाल कुर्थादेखि बर्दिवाससम्म रेलमार्ग निर्माण कार्य जारी छ। जनकपुर–जयनगर–कुर्था रेलमार्ग निर्माण भारत सरकारकै सहयोगमा भएको हो। विभागका महानिर्देशक मिश्रले भारतसँग खरिद गर्न लागिएका रेल डिजेलबाट विद्युत् उत्पादन भएर सञ्चालन हुने (डेमो) प्रविधिमा आधारित भएको बताए।

‘खरिद प्रक्रियामा रहेको डेमो रेल तीन–चार सय किलोमिटरसम्म चलाउन निकै उपयोगी मानिन्छ,’ मिश्रले भने, ‘त्यसमा इन्जिन पनि दुईवटा हुन्छन्।’ यो रेलमा एकपटकमा एक हजार दुई सयजनासम्मले यात्रा गर्न सक्छन्।

यसैबीच मन्त्रालयले मेची–महाकाली विद्युतीय रेल सञ्चालनका लागि नौ सय ४५ किलोमिटर (लिंकसहित एक हजार ५६ किलोमिटर) को विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न भइसकेको जनाएको छ। बर्दिबास–निजगढ खण्डको बर्दिबास–लालबन्दी क्षेत्रमा जग्गा अधिग्रहण गरी मुआब्जा बाँड्ने प्रक्रिया पनि सुरु भइसकेको मन्त्रालयले जनाएको छ।

पुरानो रेल संग्रहालयमा राखिने
जीर्ण भएर ६ वर्षदेखि थन्किएको रेल संग्रहालयमा राखिने भएको छ। विभागका महानिर्देशक मिश्रले जनकपुर–जयनगर खण्डमा चल्दै आएको रेल विश्वमै पुरानो भएकाले संग्रहालमा राखिन लागेको जानकारी दिए।

प्रकाशित: ८ चैत्र २०७५ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App