१६ चैत्र २०८० शुक्रबार
राजनीति

जनताले चाहे जनमत संग्रह : कोइराला

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले जनताले माग गरे संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा जनमत संग्रह हुनसक्ने बताएका छन्। फागु पर्वका अवसरमा बुधबार आफ्नै निवास टोखामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले धर्मसँगै जनताले संघीयता र गणतन्त्रबारे पनि जनमत संग्रह गर्नुपर्ने माग आए कांग्रेस तयार हुनुपर्ने बताएका हुन्।

‘संघीयता राख्ने कि खारेज गर्ने र गणराजतन्त्र भन्ने विषयमा जनताले माग गरे भने जनमत संग्रहमा जानुपर्छ,’ कोइरालाले भने, ‘कांग्रेस जनताको मतमा विशवास गर्ने पार्टी हो। हामी जनमत लिन डराउनु हुँदैन।’ धर्मनिरपेक्षताका बारेमा जनमत संग्रह गरिनुपर्ने धारणा बेलाबेला राख्दै आएका कोइरालाले नेपालमा ८० प्रतिशत हिन्दु धर्माबलम्बी रहेको सुनाए। ‘जनमत संग्रह गरेर यसका बारेमा जनताको राय लिनुपर्छ,’ उनले भने।

राष्ट्रिय एकता र अखण्डताविरुद्ध हुने कुनै पत र सम्झौताको पक्षमा कांग्रेस नरहेको महामन्त्री कोइरालाले स्पष्ट पारे। महामन्त्री कोइरालाले वाइड वडी, सुन काण्डसहित केपी ओली नेतृत्व सरकारका गलत क्रियाकलापविरुद्ध पार्टीले खबरदारी गर्दै आएको धारणा राखे। आगामी दिनमा पनि सरकारका गलत कामको अझै प्रभावकारी ढंगबाट खबरदारी गर्ने जिकिर गर्दै उनले भने, ‘संख्यामा हामी कम भएकाले प्रतिपक्षीको भूमिका कमजोर जस्तो देखिए पनि हामी खबरदारी गरिरहेका छौं। अब पनि जोडदार ढंगले सरकारका कमजोरीलाई बाहिर ल्याउँछौं।’

सभापति शेरबहादुर देउवासहितका नेताहरू सलफलमा पार्टीका सबै विभागहरू अबिलम्व गठन गरिने पनि दाबी गरे। १३ औं महाधिवेशन भएको तीन वर्ष पुग्दा आन्तरिक विवादका कारण सोमबार र मंगलबार गरी बल्ल निर्वाचन र अनुशासन समिति गठन भएका छन्। विधानत महाधिवेशन भएको दुई महिनाभित्र पार्टीका सबै निकाय र समिति गठनगरिसक्नु पर्ने व्यवस्था छ।

प्रकाशित: ७ चैत्र २०७५ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App