६ वैशाख २०८१ बिहीबार
राजनीति

बाबुराम भन्छन्ः सेना परिचालन प्रधानमन्त्री मातहत ल्याउँदा सैन्य ‘कु’को खतरा

काठमाडौं– नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउने तयारीप्रति असन्तुष्टि जनाएका छन्। सोमवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले प्रधानमन्त्रीको एक्लो निर्णयले सेना परिचालन गर्न पाउनेगरी आउन लागेको विधेयकमा असन्तुष्टि जनाएका हुन्।

‘सुरक्षा परिषद्लाई कुण्ठित गरी प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने प्रावधान राखेर मस्यौदा भइरहेको पाइएको छ’, उनले भने, ‘सुरक्षा परिषद्बाटै सेना परिचालन गर्ने प्रचलन संसारभर छ।’ सुरक्षा परिषद्को बैठक बस्न नसक्ने परिस्थितीको कल्पना गर्नु नै हाँस्यास्पद रहेको उनको भनाई छ। यस्तो व्यवस्थाले सैन्य ‘कु’लाई निमन्त्रणा गर्ने उनले बताए।

पत्रकार सम्मेलनमा सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध, नागरिकता विधेयक, सिके राउतसँगको सम्झौता लगायतका विषयमा बोलेका थिए। 

‘राउत निःशर्त आफ्ना पूर्व मान्यता र अडानलाई परित्याग गर्न तत्पर भएका हुन् भने त्यो निश्चय नै स्वागतयोग्य कुरा हो। तर, सम्झौतामा उल्लेखित शब्दको भावना र घटनाक्रम त्यस्तो देखिएको छैन’, सीके राउतको प्रसंग कोट्याउँदै उनले भने, ‘न्यायिक प्रक्रियामा रहेको व्यक्तिसँग हठात सम्झौताले सरकारले न्यायिक प्रक्रियामा हस्तक्षेप गरेको र सेटिङ्ग राज्यको विकृत अभ्यासतिर उद्यत भएको पुष्टि हुन्छ।’  

प्रकाशित: ४ चैत्र २०७५ ०९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App