८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारबाट हट्ने सोच छैन : उपप्रम यादव

विराटनगर- उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा आइतवार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्ने बताए। 

सङ्घीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवले राष्ट्रिय जनता पार्टी  सङ्घीय सरकारमा नरहेकाले समर्थन फिर्ता लिनुको कुनै अर्थ नरहेको बताए। उनले तराईका जनताको चाहनाअनुसार नै राजपासँग मिलेर प्रदेश नं २ मा सरकार गठन गरेको बताउँदै शक्ति निर्माण गर्नका लागि आफ्नो पार्टीले राजपालाई पत्र लेखी पठाएकामा जवाफ नआएकाले त्यसलाई सकारात्मक रुपमा लिएको प्रष्ट पारे। 

उपप्रधानमन्त्री यादवले राज्यले विप्लव समूहको गतिविधिमाथि रोक लगाउनु आफ्नो कर्तव्य निभाएको हो, त्यो जुनसुकै सरकारले पनि गर्ने गर्छ भन्दै राजनीतिक गतिविधिको नाममा मान्छेको हत्या, लुटपाट र आङ्तक सिर्जना गरी जनतामा त्रासको वातावरण फैलाउन नपाइने बताए। 

उपप्रधानमन्त्री यादवले सिके राउतसँग भएको सम्झौतामा कहीँ पनि जनमत सङ्ग्रह उल्लेख नभएको प्रष्ट पार्दै जनमत सङ्ग्रह र जनअभिमत फरक विषय रहेको बताए। सिके राउतसँग भएको ११ बुँंदे सम्झौतामा मुलुकको सार्वभौमसत्ता र अखण्डता स्वीकार गराउनु सकारात्मक पहल भएकाे उनकाे भनाइ छ। 

उनले प्रदेशमा रहेका अतिविशिष्ट अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई मात्र सङ्घीय सरकारले आफ्नो मातहतमा राखेको बताउँदै यसबाट प्रदेशको अधिकार नखोसिएको दाबी गरे। स्वास्थ्यमन्त्री समेत रहेका यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र भएको अनियमिताका सम्बन्धमा विगतको सरकारले छानबीन गरेको र अहिले सिनेटको प्रतिवेदनअनुसार नै त्यहाँका उपकुलपतिलाई बर्खास्त गरिएको जानकारी दिए। रासस

प्रकाशित: ३ चैत्र २०७५ १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App