१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

किन छिनमै धारणा फेर्छन् देउवा?

काठमाडौं – ‘विप्लवको कामप्रति सरकारले लगाएको प्रतिबन्धको कांग्रेस स्वागत गर्छ, हाम्रै साथीहरूमाथि पनि उसको त्रास थियो। प्रतिबन्ध मात्र होइन उसलाई कारवाही नै गर्नुपर्छ’, सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विराटनगर पुगेर दिएको वक्तव्य हो, यो।

विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएको भोलिपल्ट अर्थात् बुधबार विराटनगर पुगेर देउवा विल्लवप्रति निकै आक्रमक देखिए। चुनावताका आफ्ना कार्यकर्ता पनि विप्लवको आक्रमणमा परेका थिए। त्यही कारण भावनात्मक हिसाबले बोलेका देउवाले विप्लवको पार्टीको प्रतिबन्धका विषयमा क्रमश सरकारको आलोचना बढेपछि बोली फेरे। शनिबार पाल्पा पुगेका उनले राजनीति दललाई प्रतिबन्ध लगाएर मात्र समस्याको समाधान नहुने भन्दै वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने बताए। उनको बोलीको अडान एक हप्तामै फेरियो।

शीर्ष नेतादेखि अन्य तहका नेताहरुले विप्लवबारे विभिन्न अभिव्यक्ति दिन थालेपछि कांग्रेसको धारणा के भन्नेमै अन्योल छायो। यसको   ‘डिफेन्स’ पार्टीले गर्नुपर्‍यो। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले देउवाको ‘दुई जिब्रे बोली’को प्रतिरक्षा गर्दै विज्ञप्ति जारी गरे। विज्ञप्तिमा देउवाले ‘निषेध हैन वर्ताले समाधान’ भनेको भन्दै रक्षा गरिएको छ।

देउवा यो साता दुई विषयमा विवादमा परे। सरकारले गतसाता सीके राउतसँग गरेको सम्झौतामा सुरुमा सकारात्मक भएको भन्दै स्वागत गरे। तर केही समयपछि देउवाले बोली फेर्दै यो सम्झौता राष्ट्रघाति भएको प्रतिक्रिया दिए।

अध्ययन नगर्ने नेताका रूपमा देउवाले आफैं आफूलाई प्रस्तुत पनि गर्न भ्याए। सभापति देउवाले सरकार र राउतबीच सम्झौता भएको चार दिनपछि गत मंगलबार आफूले उक्त दस्तावेज नै नपढेको स्पष्ट पारे। ‘सीके राउतसँग भएको संझौतालाई हामीले राष्ट्रघाति सम्झौताका रूपमा लिएका छौं। तर मैले पढ्न पाएको छैन, पढ्छु। देश टुक्र्याउने कुरा हामीलाई स्वीकार्य हुँदैन।’

देउवाले चाँडै बोली फेरेपछि यसको असर पार्टीलाई भएको विश्लेषण हुन थालेको छ। देउवाले दिएका अभिव्यक्ति व्यक्तिगत नभई पार्टीको हुने भन्दै उनको आलोचना सुरु भएको हो। प्रमुख प्रतिपक्षी दलको सभापति र संसदीय दलका नेताको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भएको राजनीतिक विश्लेषक जुगल भुर्तेल बताउँछन्। ‘जिम्मेवार पार्टीको सभापतिले गैरजिम्मेवारीपूर्ण तरिकाले बोल्नुभयो। यो खेद जनक छ’, उनले भने, ‘सभापतिले बोलेपछि त्यो उहाँको मात्र धारणा हुँदैन, त्यो पार्टीको धारणाका रूपमा बुझिन्छ। त्यसकारण सभापतिले बोल्दा विचार पुर्‍याउनुपर्छ।’

सभापति देउवाले आफ्ना धारणा हतारमा सार्वजनिक गरेको उनको तर्क छ। ‘सभापतिले आवेशमा आएर बोल्न हुँदैन। प्रतिपक्षको पनि आफ्नै भूमिका छ। धेरैसँग सल्लाह लिएर बोल्नुपर्छ। सभापतिको सल्लाहकार को छन् भन्ने पनि थाहा छैन। सल्लाह गर्नुहुन्छ जस्तो पनि लाग्दैन’, विश्लेषक भुर्तेल भन्छन्, ‘उहाँले सुरुमा भावनामा बोल्नुभयो होला, पछि पार्टीमा छलफल भएपछि र सबैले बुझाएपछि यसलाई सामान्य नदेखेपछि बोली फेर्नुभएको हुनसक्छ।’

नेपाली राजनीतिमा कांग्रेस सभापति देउवाले मात्र बोली फेरेको नभई धेरैजसो नेताले यसै गर्ने विश्लेषक भुर्तेलको तर्क छ। ‘उदारवादी दलका सभापति भएका कारण उहाँ (देउवा) बारे टिप्पणी गर्न सहज छ। नेपालका धेरै नेताहरूमा उमेर बढ्दै जाँदा यो प्रवृत्ति देखिन्छ’, उनले भने, ‘डिसिजन मेकिङको प्रक्रियामा कसरी बोल्ने भन्ने स्टेण्डर सबै नेतामा हुनुपर्छ। आफ्ना नेताले के बोल्ने भन्ने आधिकारिक संयन्त्रमा छलफल हुनुपर्‍यो।’ 

सभापति देउवाले सरकार र राउतबीचको सम्झौता र विप्लवका विषयमा बोली फेरेपछि अहिले पार्टीभित्र हलचल छ। सभापतिले पार्टीका शीर्ष नेतासँग छलफल नगरी दुर्गामी महत्त्वका विषयमा प्रतिक्रिया दिएको भन्दै सभापतिको आलोचना सुरु भएको हो। ‘सभापतिले दर्गामी महत्त्वका विषयमा बोल्दा अन्य नेताहरूसँग पनि छलफल गर्नुपर्छ। सभापतिले आफ्ना धारणा फेर्न मिल्दैन’, कांग्रेस नेता गुरुराज घिमिरेले भने, ‘सभापतिले पढेको छैन भन्नु गैरजिम्मेवार हो। गम्भीर विषयमा बोल्दा ध्यान पुर्‍याउनुपर्छ।’

प्रकाशित: ३ चैत्र २०७५ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App