४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रदेशमा कर्मचारीका लागि अवसरै अवसर : मुख्यमन्त्री पाेखरेल

रुपन्देही - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा आउने कर्मचारीका लागि अवसरै अवसर रहेको बताएका छन्। केन्द्रमा रहँदा बढी सुरक्षित हुने ठानेका कर्मचारीले एक वर्षपछि ठूलो पछुतो मान्नुपर्ने बताए।

प्रदेश ५ सरकारले प्रदेशमा समायोजन भएका कर्मचारीहरुलाई शुक्रबार पदस्थापना गराउँदै प्रदेशमा आएका कर्मचारीका लागि संघमा भन्दा धेरै अवसर रहेको बताए। ‘अहिले अनौठो लाग्छ, एक वर्षपछि केन्द्र बस्नेहरुलाई पछुतो हुन्छ’ मुख्यमन्त्री पोखरेलले भने।

उनले प्रदेशमा आएका कर्मचारीहरुलाई क्षमता विकास र आफ्नो दक्षता देखाउने अवसर रहेको बताए। उनले भने, ‘हामीले पारिवारिक वातावरणमा काम गरेका छौं, तपाईलाई समस्या भयो भन्नुस्, त्यसको दायित्व हामी लिन्छौं।’ 

सवैधानिक अधिकारको हिसाबले प्रदेश सरकार नै बलियो रहेकाले भविष्यमा केन्द्रमा रहेका कर्मचारीहरु कामविहीन हुनुपर्ने बताए। कर्मचारी समायोजजनका बेलामा प्रदेश रोज्न हिचकिचााका कर्मचारीले अहिले नै पछुतो मान्न थालेको मुख्यमन्त्रीको भनाइ छ।

प्रदेश तहमा आउँदा अभिकृत तहको कर्मचारीले निति निर्माणमा राजनितिक नेतृत्वसँग प्रत्यक्ष जोडिने भएकाले यसको ठूलो अवसर पैदा गरेको बताए। ‘यो कुरा संघमा सम्भव थिएन’, उनले भने, ‘तपाईहरु ग्रेड वृद्धिमा पनि पहिलो नम्बरमा पर्नुहुन्छ।’

मुख्यमन्त्रीले प्रदेश लोक सेवा आयोगमार्फत कर्मचारी समायोजन गर्न थाल्दा यहाँ आएका पुराना कर्मचारीलाई पदोन्नती गरिने बताए। कर्मचारी आउने वित्तिकै काममा लगाउन आफूहरुले हतार गरेको भन्दै सोचेअनुसारकै कर्मचारी आएकाले बजेट कार्यान्वयमा राष्ट्रिय लक्ष्य हासिल गर्ने मुख्यमन्त्रीले विश्वास व्यक्त गरे। 

संघीय सरकारबाट समायोजनका लागि प्रदेश ५ आएका कर्मचारीलाई विभागिय जिम्मेवारीसहितको पत्र थमौती गरेको छ। ३ हजार ५८ कुल कर्मचारी प्रदेश सरकारका लागि आवश्यक भए पनि पहिला चरणमा भने १ सय ३४ जना कर्मचारीलाई समायोजन गरिएको हो।७ वटा मन्त्रालय र त्यसमातहतका विभिन्न कार्यालयमा रहने गरी कर्मचारीलाई पदस्थापना गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। 

प्रदेश ५ का मुख्यसचिव डा. तीर्थ ढकालले अधिकांश कर्मचारीहरुले प्रदेश रोजेर आएको बताए। मुख्यसचिव ढकालले प्रदेशका ७ वटा मन्त्रालय र १४५ वटा कार्यालयमा तुरुन्तै खटिन निर्देशन दिँदै प्रदेश सरकारको विकास बजेट कार्यान्वयन र सुशासन कायम गरेर नमुना प्रदेश बनाउने अभियानमा साथ दिन अपिल गरे। 

 

प्रकाशित: १ चैत्र २०७५ १६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App