६ वैशाख २०८१ बिहीबार
राजनीति

संस्थापन भन्छ– अब ढिला भइसक्यो, असन्तुष्ट नेता भन्छन्– बहुमतको साक्षी बस्दैनौं

काठमाडौं – संस्थापन समूह र असन्तुष्ट समूहको दोहोरीका कारण नेपाली कांग्रेस अनिर्णयको बन्दी बनेको छ।

पछिल्लो समय केन्द्रीय समितिमा रहेको विषयमा विवाद हुँदा कांग्रेस अहिले आन्तरिक लफडामै छ। प्रमुख प्रतिपक्षी दल यसरी आन्तरिक कलहमै बरालिँदा प्रतिपक्षको भूमिकामा भने कमजोर देखिएको छ। 

गत १४ फागुनमा बस्न नसकी स्थगित भएको केन्द्रीय समितिको बैठक चैत ४ गते बोलाइएको छ। यो बैठकमा पनि कांग्रेसको विवादले निकास पाउने सम्भावना निकै न्यून छ। 

संस्थापन समूहले पेल्न खोजेको आरोप असन्तुष्ट समूहको छ भने संस्थापन समूहले असन्तुष्ट समूहका कारण काम गर्न नसकिएको भन्दै प्रतिरक्षा गर्दै आएको छ। महासमिति बैठकपछि महासमितिको निर्णय कार्यान्वयनबाट सुरु भएको विवाद अहिले अनुशासन समिति र निर्वाचन समितिमा आएर अड्किएको छ। महासमितिका निर्णयलाई केन्द्रीय समितिबाट बहुमतले पारित गरे पनि अनुशासन समितिमा भने देउवा समूहले बाहिर नराम्रो सन्देश जाने भन्दै भरसक सहमतिको प्रयास गरिरहेको छ। 

संस्थापनइतर समूहले अनुशासन र निर्वाचन समिति न्ययिक समिति भएको भन्दै बहुमतबाट निर्णय गर्न नमिल्ने जनाउँदै आएको छ। सभापति शेरबहादुर देउवा समूहले अनुशासन समितिको संयोजक केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेलाई बनाउने तयारी गरिरहेको छ। तर आङ्देम्बेको नाममा असन्तुष्ट खेमाका नेताहरूले आपत्ति जनाएका छन्। 

सोमबार बस्ने केन्द्रीय समिति बैठकमा पनि संस्थापन समूह र संस्थापनइतर समूहले आआफ्नै रणनीति तय गरेका छन्। संस्थापन समूहले यसपटक भने जसरी पनि निर्णय गर्ने रणनीति बनाएको छ। बिहीबार सभापति निवास बूढानीलकण्ठमा बसेको संस्थापन समूहको छलफलले सहमतिका लागि गरिएको प्रयास असफल भए अब भने बहुमतीय प्रक्रिया अपनाउनुपर्ने निष्कर्ष निकालेको स्रोतले बताएको छ। यता असन्तुष्ट समूहका नेताहरूले पनि यसअघि पटकपटक छलफल गरेर कुनै पनि हालतमा बहुमतले निर्णय गर्न नदिने निष्कर्ष निकालिसकेको छ। 

‘उहाँहरू काम पनि गर्न दिनुहुन्न। सहमतिमा पनि आउनुहुन्न। अनि देउवाले काम गरेन भनेर प्रचार गर्नुहुन्छ’, संस्थापन समूहका एक नेताले भने, ‘असन्तुष्ट समूहले सभापतिलाई असफल बनाउन लागेको छ। त्यही कारण पार्टी कमजोर हुँदै गएको हो। पार्टीका संरचना बनाउने बेला सधैँ उहाँहरू यस्तै हो।’

सभापति देउवाले १४ फागुनमा सहमतिका लागि भन्दै बैठक स्थगित गरेका थिए। तर यो बीचमा सभापति देउवा जिल्ला भ्रमणमै केन्द्रित भए। यसबीचमा सहमतिको कुनै प्रयास नभएको असन्तुष्ट खेमाका नेता प्रकाशमान सिंहले बताए। 

आङ्देम्बेलाई असन्तुष्ट समूहले कुनै पनि हालतमा अनुशासन समितिको संयोजक हुन नदिने सुइँको पाएको सभापति समूहले सोमबार बस्ने बैठकमा बुहमतीय प्रणालीबाट अनुशासन र निर्वाचन समिति बनाउने संकेत गरेको छ। ‘अब ढिलाइ र अबेला मात्र होइन। कुबेला भइसक्यो’, संस्थापन समूहका नेता एनपी साउदले भने, ‘अब पनि सहमति नभए, वैधानक प्रक्रिया अपनाउनुपर्छ। नभए पार्टीमा गतिरोध आउँछ। सोमबारको बैठकमा जसरी पनि निर्णय हुन्छ।’

यसअघि पटकपटक बुहमतको निर्णयबाट झस्किएको असन्तुष्ट समूह पनि अनुशासन समिति बहुमतीय प्रक्रियाबाट गठन हुनबाट जसरी रोक्ने तयारीमा छ। केन्द्रीय समितिमा अनुशासन समितिको ‘हलो अड्काइरहेको’ असन्तुष्ट समूहले बैठक बहिष्कार गरेर भए पनि बहुमतबाट निर्णय हुन रोक्ने रणनीति तय बनाएको छ। यो समूह आफूहरूले राखेको विचारबाट पछि हट्ने पक्षमा देखिँदैन।

निर्वाचन समिति र अनुशासन समिति भागबण्डाबाट बने निष्पक्ष निर्णय गर्न नसक्ने भन्दै यो समूहले सबैलाई मान्य हुने समिति ल्याउनुपर्ने धारणा राख्दै आएको छ। ‘हामी हाम्रो विचारबाट पछि हट्दैनौं। यसअघि जसरी अघि बढेका थियौं अब पनि त्यसरी नै अघि बढ्छौं’, नेता सिंहले नागरिकसँग भने, ‘बहुमतीय प्रक्रियाबाट न्यायिक समिति बनाउँदा अलोकतान्त्रिक हुन्छ। संस्थापन समूहले बहुमतको बाटो अपनाए हामी त्यसको साक्षी बस्दैनौं।’

 

प्रकाशित: १ चैत्र २०७५ १०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App