८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस शीर्ष नेता महाधिवेशन केन्द्रित दौडाहामा

काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा शीर्ष नेताहरू आफ्नो गुट बलियो बनाउन जिल्ला भ्रमणमा निक्लिएका छन्।

महाधिवेशनमा आफूलाई नेतृत्वको दाबी गर्दै आएका शीर्ष नेताहरू कार्यकर्तामा पकड जमाउन जिल्ला भ्रमणमा निक्लिएका हुन्। कार्यकर्तासँग भेटघाट गर्न निक्लिएका नेताहरू पार्टीको विचार र सिद्धान्त कार्यकर्ता माझ पुर्‍याउनभन्दा पनि एक अर्काको उछितो काड्नै व्यस्त छन्।

सभापति शेरबहादुर देउवा गत फागुन २३ गते जिल्ला साताव्यापी जिल्ला भ्रमणको कार्यक्रम तय गरेपछि अन्य शीर्ष नेता पनि जिल्ला भ्रमणमा निक्लिएका छन् भने केही नेताले भ्रमण तालिका सार्वजनिक गरिसकेका छन्।

सभापति देउवाले पूर्वको मोरङबाट सुरु गरेको भ्रमण आज पोखरा हुँदै सकिएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पनि फागुन २५ बाट साताव्यापी भ्रमणमा निक्लिएका छन्। पोखरबाट सुरु भएको भ्रमणमा उनी विभिन्न कार्यक्रममा सहभागी हुँदै र कार्यकर्ता भटिरहेका छन्। चैत १ गते उनी कपिलवस्तुमा हुने कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कनेछन्।

यस्तै, महामन्त्री डा.सशांक कोइराला पनि अहिले प्यूठानमा छन्। उनी चैत २ गते तानसेन पुग्नेछन् र काठमाडौं फर्कने छन्। त्यसपछि उनले चैत १० गतेबाट जिल्ला भ्रमणको तालिका सार्वजनिजक गरिसकेका छन्।

नेता कृष्णप्रसाद सिटौला पनि केही दिन यता गृहजिल्ला झापामा छन्। उनी चैत ४ गते बोलाइएको केन्द्रीय समिति बैठकमा मात्र काठमाडौं आउने कार्यक्रम छ।

अर्का नेता प्रकाशमान सिंहले पनि चैत १० गतेबाट जिल्ला भ्रमण गर्दै छन्। उनको भ्रमण पूर्वको जिल्लाबाट सुरु हुनेछ। नेता डा.शेखर कोइराला केही समय यता निरन्तर जिल्ला भ्रमणमै छन्। उनी केही दिनपछि पूर्वका विभिन्न जिल्ला जाने बताइएको छ।

नेताहरू जिल्ला भ्रमणमा जाँदा पार्टीको विचार र सिद्धान्तमा भन्दा व्यक्तिगत फाइदामा ध्यान दिने गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्। पार्टीको नियमित महाधिवेशन आउँदो फागुनमा गर्नुपर्ने हुन्छ। त्यसमा आफ्नो स्थान सुरक्षित गर्न नेताहरूले एकअर्काको आलोचनामा उत्रिएको विश्लेषकको भनाइ छ। ‘नेताहरू जिल्ला भ्रमणमा जानु राम्रो हो। तर उहाँहरू कार्यकर्तामा पार्टीको आइडोलोजि र विचार बाँड्न होइन, आउने महाधिवेशनमा आफू कसरी सुरक्षित हुने भन्ने तर्फ लाग्नुभयो’, राजनीतिक विश्लेषक विष्णु सापकोटा भन्छन्, ‘पार्टीले केन्द्रीय समितिबाट नयाँ विचार बनाएर जाऊ भनेर निर्देशन दिएको छैन उहाँहरू आफैँ जानुभएको छ। त्यसले पनि प्रमाणित हुन्छ।’

शीर्ष नेता जिल्ला भ्रमणमा भए पनि आन्तरिक संगठन भने भद्रगोल अवस्थामा छ। महासमिति बैठकले पारित गरेको विधान केन्द्रीय समिति बैठकबाट बहुमतले पारित गरेपछि नयाँ विवाद सृजना भएको छ। यस्तै, अनुशासन समिति र निर्वाचन समिनित बहुमतबाट बनाउन खोजेको भन्दै संस्थापनइतर समूहका नेताहरूले आपत्ति जनाउँदै आएका छन्। उनीहरूले यी दुई समिति न्यायिक समिति भएकाले सर्वसम्मत रूपमा गठन गर्नुपर्ने धारणा राख्दै आएका छन्।

यस्तै, एक महिना अघिबाट खालि भएको नेविसंघको तदर्थ समिति गठन पनि अन्योलमा छ। नेताहरूको आन्तरिक विवादका कारण नेविसंघ नेतृत्वविहीन अवस्थामा छ।

पार्टीभित्र अहिले शीर्ष नेताबीच नै संवादहीनताको अवस्था छ। सभापति देउवाले १४ फागुनमा बोलाएको केन्द्रीय समिति बैठक बहिष्कारको चेतावनी दिएका असन्तुष्ट नेता र सभापतिबीच सहमति हुन सकेको छैन। सभापति देउवाले सहमतिको प्रयाससमेत नगरेको असन्तुष्ट समूहका नेताहरूको आरोप छ।

सभापति देउवाले चैत ४ गते केन्द्रीय समितिको बैठक बोलाउँदै गर्दा वरिष्ठ नेता पौडेलले सहमति नभई बैठक बोलाउनुको औचित्य नभएको बताएका थिए। वरिष्ठ नेता पौडेलले तातो पानी कुण्डमा सँगै डुब्दैमा सहमति नहुने प्रतिक्रियसमेत अदिँदै आएका छन्।

यसपटकको केन्द्रीय समिति बैठकमा पनि सहमतिको सम्भावना न्यून देख्छन् राजनीतिक विश्लेषक सापकोट। ‘पार्टीको केन्द्रीय समिति बैठका सधैँ विचारको सम्लेषणभन्दा पनि विवाद मात्र हुन्छ’, उनले भने, ‘यसपटकको केन्द्रीय समिति बैठक पनि विवाद गर्ने र मिलाउनेमै सीमित हुन्छ।’

 

प्रकाशित: २८ फाल्गुन २०७५ ०८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App