७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘राष्ट्रिय एकता कमजोर पार्ने अधिकार कसैलाई छैन’

काठमाडौं – नेपाली कांग्रेसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कमजोर पार्नेगरी कसलाई सहमति र सम्झौता गर्ने छुट नभएको स्पष्ट पारेको छ। राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्पा भुषाल र राष्ट्रियसभा प्रमुख सचेतक सरिता प्रसाईले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिको अलगअलग व्याख्याले अन्योल सिर्जना गरेको जनाएका छन्।

दुई पक्षबीच भएको सहमतिमा प्रयोग जनअभिमतको आशय राउत पक्षले स्वतन्त्र मधेस राष्ट्रको लागि जनमत संग्रह हो भन्ने धारणा सार्वजनिक गर्नुले थप आशंका उब्जाएको उनीहरूले जनाएका छन्। ‘सहमतिपश्चात् राउतको जनकपुर भ्रमणमा प्रदर्शन गरिएका व्यानर, प्लेकार्ड तथा लगाइएका नाराले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई गम्भीर प्रतिकूल प्रभाव पार्ने अवस्था सिर्जना भएको छ,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सहमतिप्रति दुवै पक्ष इमान्दार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर नदेखिएको जनाउँदै उनीहरुले दुवै पक्षले सहमतिलाई आ–आफ्नो ढंगबाट व्याख्या गर्दा आशंका उत्पन्न भएको उल्लेख छ। ‘राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामाथि आँच आउने, प्रश्रय दिने सहमति तथा क्रियाकलापप्रति हामी घोर आपत्ति प्रकट गर्दछौं,’ उनीहरूले भनेका छन्।

प्रकाशित: २८ फाल्गुन २०७५ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App