८ वैशाख २०८१ शनिबार
राजनीति

जनअभिमत भनेको जनमतसंग्रह होइन : गृहमन्त्री थापा

काठमाडाैं - गृहमन्त्री रामबहादुर थापाले सीके राउतसँग भएको ११ बुँदे राजनीतिक सम्झौताको बुँदा नम्बर २ मा उल्लिखित ‘जनअभिमत’को आशय जनमतसंग्रह नभएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले जनअभिमतको आशय जनमतसंग्रह भएको राउत पक्षको व्याख्या भए त्यसले पुरानै अवस्थामा फर्काउने बताए।

शुक्रबार सरकार र पृथकतावादी अभियान सञ्चालन गरेका सीके राउत समूहबीच ११ बुँदे राजनीतिक सहमति भएको थियो। सहमतिको बुँदा नम्बर २ मा जनअभिमतको माध्यमबाट तराई मधेसमा देखापरेको समस्या समाधान गर्न दुवै पक्ष सहमत भएको उल्लेख छ।

संसद्मा बोल्दै गृहमन्त्री थापाले जनअभिमतलाई निर्वाचन प्रक्रियाको रुपमा व्याख्या गरे पनि राउततर्फबाट सरकारसँग वार्ताको संयोजन गरेका राउतका दाइ जयकान्त राउतले नागरिक न्युजसँग विशेष कुराकानी गर्दै जनअभिमतको अर्थ जनमतसंग्रह नै भएको बताएका थिए। जयकान्तले शनिबार नागरिक न्युजसँग कुरा गर्दै भनेका थिए, ‘बुँदा नम्बर २ मा उल्लिखित जनअभिमतको अभिप्राय जनमतसङग्रह नै हो।

यो विषयलाई कसले कसरी व्याख्या गर्छन्, यो व्याख्या गर्ने मानिसको कुरा हो। यो लोकतन्त्रकै एक विधि हो र डा.राउतको चाहना पनि समस्याको समाधान लोकतान्त्रिक प्रक्रियाबाटै  समाधान गर्नुपर्छ भन्ने छ।’ राउतसँग भएको सहमति कुनै विदेशी समुहको दबाबका कारण नभएको बताउँदै गृहमन्त्री थापाले भने, ‘सरकार विदेशी दबाबमा कुनै निर्णय लिँदैन।

राउतसँग राजनीतिक सहमति गरेर सरकारले आफ्नो जिम्मेवारी निर्वाह गरेको छ।’ यस विषयमा थप्दै थापाले भने, ‘सरकारले राउत समूहसँग गरेको राजनीतिक सहमतिपछि भने सरकारले विभिन्न माध्यमबाट दबाब महसुस गरेको छ।’

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App