८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री ओली सवार जहाज होल्डमा परेकाे भन्दै मन्त्रालयद्वारा छानबिन समिति गठन

काठमाडौं – प्रधानमन्त्री सवार जहाज होल्डमा परेपछि त्यसको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ। 

मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी बिहीबार समिति गठन भएको हो। समितिमा मन्त्रालयका कानुन महाशाखाका उपसचिव सूर्यवंश शर्मा कँडेल, उपसचिव प्रकाश शर्मा ढकाल, नेपाली सेनाका क्याप्टेन सुवास थापा र नागरिक उड्डयन प्राधिकरणकी निर्देशक नविना कर्माचार्य छन्। कर्माचार्यलाई समितिको सदस्यसचिव बनाइएको छ।

हवाई ट्राफिक जाम भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा प्रधानमन्त्री ओली चढेको जहाज गत मंगलबार २० मिनेट आकाशमै होल्ड गरिएको थियो। अन्य जहाजलाई होल्डमा राखेर भीभीआईपीको उडान अवतरणलाई प्राथमिकता दिइन्छ। तर, मंगलबार त्यस्तो भएन। 

प्रधानमन्त्री ओली झापाको सुखानी काण्डका अगुवा मारिएको दिन पारेर गरिएको कार्यक्रममा पुगेर फर्किंदै थिए। झापाको भद्रपुर विमानस्थलबाट यती एअरलाइन्सको जहाजमार्फत अपराह्न ५ः३० तिर काठमाडौं आइपुगेका ओली आकाशमै २० मिनेट होल्ड भएका हुन्। हवाई चापका कारण ओली सवार जहाज आकाशमै होल्ड भएको हो। 

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार भीभीआईपीको उडान हुँदा पहिले नै जानकारी हुन्छ। पाइलटले पनि एअर ट्राफिक कन्ट्रोललाई उडानमा भीभीआईपी रहेको जानकारी गराउँछन्। मंगलबार प्रधानमन्त्री ओली चढेको जहाजमा त्यसो भएन। पाइलटले पनि एअर ट्राफिकलाई उडानमा भीभीआईपी रहेको जानकारी गराएनन्। जसले गर्दा जहाज हवाई चापको कारणले गर्दा होल्ड हुने अवस्थामा पुगेको हो। 

जहाज होल्डमा गएपछि मात्रै पाइलटले उडानमा प्रधानमन्त्री रहेको जानकारी गराएका थिए। विमानस्थलका एक अधिकारीका अनुसार जहाजमा प्रधानमन्त्री रहेको जानकारी पाएलगत्तै प्राथमिकता दिएर जहाज अवतरण गरिएको थियो। प्रधानमन्त्री चढेको जहाज अवतरण गर्ने बेला धावनमार्गमा कतार एअरवेजको जहाज थियो।

उक्त जहाजलाई तत्काल उड्न लगाएर प्रधानमन्त्री सवार यतीको जहाज अवतरण गराइएको विमानस्थल कार्यालयले जानकारी दियो। विमानस्थलका अनुसार जहाज आकाशमा १२ मिनेट मात्रै होल्ड भएको छ। तर, मन्त्रालयले जहाज २० मिनेट होल्ड भएको जनाएको छ। 

भीभीआईपी चढेको जहाज अवतरण हुन लाग्दा एअर ट्राफिक व्यवस्थापन गरेर प्राथमिकताको साथ उडान गराइन्छ। अन्य उडानसमेत क्लियर गरेर भीभीआईपी उडानलाई अवतरण गराउने चलन छ। त्यसैगरी, विमानस्थलमा दमकल, सुरक्षाकर्मी, इन्धनलगायतलाई पनि तयारी अवस्थामा राखिन्छ। मंगलबार त्यस्तो तयारी थिएन।  

 

प्रकाशित: २३ फाल्गुन २०७५ १५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App