८ वैशाख २०८१ शनिबार
राजनीति

जनतासँग जनप्रतिनिधि

दोलखाको बिगु गाउँपालिकाद्वारा गत शनिबार आयोजित सार्वजनिक सुनुवाइमा नागरिकका जिज्ञासाको जवाफ दिँदै जनप्रतिनिधि । तस्बिर : रमेश खतिवडा/नागरिक

दोलखा  – जिल्लाको उत्तरी बजारको केन्द्र सिंगटीस्थित गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय परिसर। करिब दुई सय कुर्सीमा सर्वसाधारण भरिभराउ भइसकेका छन्। अगाडिको लहरमा गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का, उपाध्यक्ष सञ्जिव ओलीसहित आठवटै वडाका अध्यक्ष स्थानीयले उठाउने प्रश्नको जवाफ दिन तयार भएर बसेका छन्।

सञ्चालकले प्रश्नोत्तर कार्यक्रम सुरु भएको संकेत गर्छन्। लादुक गाउँका गोपीलाल ओलीले सुरुमै वन्यजन्तुले दुःख दिएको भन्दै किसानका समस्या उठाए। ‘कोदो लगायो, मृगले सिध्याइदिन्छ, मकै लगायो बाँदरले खाइदिन्छ, तरकारी लगायो, अन्य जनावर आएर सखाप पारिदिन्छन्। उत्पादन जोगाउनै गाह्रो प¥यो अध्यक्षज्यू,’ उनले भने। त्यसपछि गाउँपालिका अध्यक्ष खड्काले वन्यजन्तुबाट बालीनाली जोगाउन तथा पीडित किसानलाई क्षतिपूर्तिका लागि पहल गर्ने आश्वासन दिए।

यो दृश्य हो– बिगु गाउँपालिकाले स्थानीय नागरिकका गुनासा र सुझाव सुन्न गत शनिबार सिंगटीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमको। जहाँ स्थानीयले आफ्ना जनप्रतिनिधिहरूलाई प्रश्नैप्रश्न राखेर -याख-याखी पारे। वडा नम्बर ७ का रामबहादुर सोडारीले गाउँका पसलमा मूल्यवृद्धिले आकाश छोएको गुनासो राखे। ‘गाउँका पसलमा नुन, तेल, दाल किन्न जाँदा पसलैपिच्छे फरक–फरक मूल्य छ। मूल्य अचाक्ली भयो, गाउँको सरकारले नियन्त्रण गर्न पहल गर्नु पर्दैन।’ जसमा गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीले उद्योग वाणिज्य संघसहित वडास्तरको सयन्त्रसँग मिलेर दैनिक उपभोग्य सामाग्रीको मूल्यमा एकरूपता ल्याउन प्रयत्न भइरहेको जवाफ दिए।

चिलंखाका शेरसाङ्बो शेर्पाले चाहिँ वडाध्यक्ष बिहान १० देखि ५ बजेसम्म कार्यालयमा नबसेको भन्दै आक्रोश पोखे। जवाफमा वडाअध्यक्ष मधुकर गुरुङले भने, ‘वडाध्यक्ष गाउँ कार्यपालिकाको समेत सदस्य हुने कारण अन्यत्र वडामा पनि कामका सिलसिलामा पुग्नुपर्ने साथै बैठकमा गइरहनुपर्ने कारण कार्यालयमै बसिरहन गाह्रो पर्दोरहेछ। तर हामी २४सै घन्टा जनताकै काममा खटिरहेका छौं।’ कार्यक्रममा धरैजसो नागरिकले वैशाख अगाडि नै सडक निर्माण थाल्न र असारमा डोजर लगाउने काम बन्द गर्न जनप्रतिनिधिलाई सुझाव दिए।

प्रकाशित: २३ फाल्गुन २०७५ ०२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App