२२ श्रावण २०७७ बिहीबार
राजनीति

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलवार आयोजित समारोहमा डा यादवले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम वार्षिक प्रतिवेदन पेश गरेका हुन्। 

आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्तले आव २०७४/७५ मा आयोगबाट सम्पादित प्रमुख कार्यबारे जानकारी दिएका थिए। आव २०७४/०७५ मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएको तथा निर्वाचनसँग सम्बन्धित ऐन र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त नभएका अवस्थामा प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, राष्ट्रियसभा सदस्यको निर्वाचन एवं ७७ वटै जिल्ला समन्वय समितिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको विवरण राष्ट्रपतिसमक्ष प्रस्तुत प्रतिवेदनमा उल्लेख छ। 

निर्वाचन व्यवस्थापनका लािग सामान्यतः १२० दिनको अवधि आवश्यक पर्ने भए तापनि ८२ दिनमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सफल भएको आयोगले जनाएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति सम्पूर्ण सरोकार पक्षको सहयोगमा अहोरात्र खटिएर सबै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र निर्वाचनबाट ३८ हजार ५०० जनप्रतिनिधि निर्वाचित भएको आयोगले जनाएको छ। यसबीचमा तीन वटै तहका सरकार सञ्चालनमा आएको र सङ्घीयताको पूर्ण कार्यान्वयन भई मुलुक समृद्धिको दिशामा अघि बढेको प्रतिवेदनमा समेटिएको छ। 

राष्ट्रपतिले प्रस्तुत प्रतिवेदन प्रधानमन्त्री कार्यालयमार्फत ससंद्मा पठाइने बताउँदै निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको र नेपालको संविधानमा व्यवस्था भएबमोजिमका निर्वाचन तोकिएको समयमा सफलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिएको आयोगले जनाएको छ। सो अवसरमा निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह, निमित्त सचिव शङ्करप्रसाद खरेललगायत अन्य कर्मचारीको उपस्थिति थियो। रासस

प्रकाशित: २१ फाल्गुन २०७५ १७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App