१६ चैत्र २०८० शुक्रबार
राजनीति

अन्सारीलाई सांसदको सुझाव : तपाई आफै पछि हट्नुस्

सुनुवाई समितिमा अन्सारी। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं– मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीलाई आफैं पछि हट्न सांसदहरुले सुझाव दिएका छन्। संसदीय सुनुवाइ विशेष समितिमा मंगलवार भएको सुनवाइमा सांसदहरुले अन्सारीले प्रस्तुत गरेका कागजपत्र विवादास्पद देखिएको भन्दै ‘ब्याक’ हुन सुझाव दिएका हुन्। तर अन्सारीले भने आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन्।

सुनुवाइका क्रममा सांसदहरुले अन्सारीमाथि प्रश्नको वर्षा गर्दै र्‍याखर्‍याख्ती पारेका थिए। सांसद एवं समितिका सदस्य योगेश भट्टराईले अन्सारीको दुई नागरिकता देखिएको र अन्य कागजात पनि विवादास्पद देखिएको बताए। ‘मसँग भएको नागरिकता र तपाईले यहाँ पेस गरेको नागरिकतामा हस्ताक्षर फरक फरक व्यक्तिको देखियो। कसरी फरक भयो? यस्तो विवाद देखिएकाले तपाई आफै ब्याक हुनुपर्छ।’

अर्का सदस्य सुरेन्द्र पाण्डेले पनि अन्सारीको प्रमाणपत्रमाथि नै प्रश्न उठाए। ‘पार्टी सदस्य त्यागेको र निर्वाचन आयोगले सदस्यता खारेज गरेको मिति नै फरक रहेको छ। यस्तो कसरी भयो?’ उनले प्रश्न गरे। 

सदस्य शिवकुमार मण्डलले समितिमा परेको उजुरीमाथि प्रश्न गर्ने भनी अन्सारीलाई हप्काएका थिए। अन्सारीले आफूमाथि मात्रै नियोजित रुपमा उजुरी परेको गुनासो गरेपछि मण्डलले भने, ‘समितिमा परेको उजुरीमाथि प्रश्न गर्न पाउनुहुन्छ, उजुरी त जसले नी गर्न पाउँछ।’

सांसद पूर्णकुमारी सुवेदीले अन्सारीले प्रस्तुत गरेका तथ्यहरु विवादित रहेको भन्दै आफैं पछि हट्न सुझाव दिइन। ‘तपाईले पेश गरेका तथ्य सही छैनन्। आफै पछि हटिदिनुस।’

सांसद अमृता थापाले तपाईमाथि मात्रै किन उजुरी पर्‍यो भनी प्रश्न गरेकी थिइन। सांसदहरुले उठाएको सवालको जवाफ दिँदै अन्सारीले एकपछि अर्को विषय उठाएर आफूलाई सुनियोजित रुपमा असफल पार्ने षडयन्त्र भएको टिप्पणी गरे। उनले आफू कुनै हालतमा पछि नहट्ने बताउँदै भने, ‘कि तपाईहरुले अयोग्य ठहर गरिदिनुपर्यो। होइन भने म पछि हट्नेवाला छैन्।’ 

अन्सारीको जवाफपछि सुनुवाइ समिति आन्तरिक छलफलमा जुटेको छ। समितिको हलमा रहेका पत्रकार र अन्य कर्मचारीलाई बाहिर पठाएर समितिका सदस्यहरु अन्सारीको विषयमा निर्णय लिन आन्तरिक छलफल गरिरहेका छन्।

 

प्रकाशित: २१ फाल्गुन २०७५ ०८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App