१६ चैत्र २०८० शुक्रबार
राजनीति

नेविसंघमा समानान्तर समिति बनाउने सिटौला समूहको संकेत

काठमाडौं – नेपाली कांग्रेसमा तेस्रोधारको दाबी गर्दै आएको कृष्णप्रसाद सिटौलाको समूहले भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा समानान्तर समिति बनाउने संकेत गरेको छ। कांग्रेसको शक्तिशाली र प्रमुख भ्रातृ संगठनको रूपमा रहेको नेविसंघमा सिटौला समूहका प्रभाव छ।

सिटौला समूहले आफूहरूको नेतृत्व आउने अवस्था आएपछि सभापति शेरबहादुर देउवाले ‘ब्लक’ गर्न खोजेको भन्दै आपत्ति जनाएको हो। यही समितिलाई महाधिवेशन गर्न दिनुपर्नेमा सभापतिको दबाबमा नेविसंघ अध्यक्ष नैनसिंह महरलाई राजीनामा दिन लगाएर महाधिवेशनको बाटो बन्द गर्न खोजेको सिटौला समूहको निष्कर्ष छ। यसअघिदेखि नै सभापति देउवा एकलौटी ढंगबाट अघि बढे समानान्तर समिति बनाउने संकेत गरेको सिटौला समूहले यस्तो तयारी गरेको हो।

‘विधानअनुसार तदर्थ समितिले ६ महिनामा महाधिवेशन गर्नुपर्ने हुन्छ’, उनले भने, ‘त्यो सम्भावना त देखिन्न। शेरबहादुर भइन्जेल महाधिवेशन हुने मै शंका छ।’

नेविसंघ भंग भएको एक महिना हुनै लाग्दा पनि तदर्थ समिति गठन हुनसकेको छैन। तदर्थ समिति गठन गर्दा विधानअनुसार नै गर्न सिटौला समूहले यसअघिदेखि नै दबाब दिँदै आएको छ। उनीहरूले पार्टीले विधान पारित गरेकाले ३२ वर्षे उमेर हद लगाएर तदर्थ समिति ल्याउन माग गर्दै आएका छन्।

आइतबार आफू निकटका विद्यार्थी नेतालाई निवासमा बोलाएर नेता सिटौलाले अब संगठन विस्तार गर्न देशभर जान निर्देशन दिए। ‘तपाईंहरू अहिले पनि निकै क्रियाशील हुनुहुन्छ। यसरी नै लाग्नुहोस्’, उनले भने, ‘अब देशभर गएर संगठन विस्तारमा लाग्नुहोस्।’ उनले कुनै पनि भ्रातृ संगठन विघटन गर्न नहुने धारणा राखे। ‘भ्रातृ संगठनको विघटनमा म कहिल्यै छैन। लोकतन्त्र र लोकतान्त्रिक पार्टीमा तदर्थ भने आफ्नालाई प्रतिस्पर्धाविना बनाएको समिति राम्रो हुन्न’, उनले भने, ‘तपाईंहरू पनि टिके प्रथामा ध्यान नदिनुहोस्। संगठनको हितमा काम गर्नुहोस्। निरास नहुनुहोस्।’

नेता सिटौलाले सभापति देउवाले आफूहरूको समूहका लागि मात्रै नेविसंघ विघटन गरेको आरोपसमेत लगाए। ‘शेरबहादुरजी र रामचन्द्रजीहरूका विद्यार्थी नेताले राजीनामा दिइसकेका थिए। हाम्रा समूहकाले मात्र दिएका थिएनन्’, उनले भने, ‘हाम्रा लागि मात्रै विघटन गरेजस्तो भयो।’ नेता सिटौलाले पार्टीभित्र आफूहरू कमजोर देखिए पनि सौद्धान्तिक र वैचारिक हिसाबले आफूहरू अगाडि रहेको दाबी गरे। ‘हामी वैचारिक र सौद्धान्तिक हिसाबले पार्टीको मुख्य पोल हौँ’, उनले भने, ‘तपाईंहरू उच्च मनोबलका साथ वैचारिक हिसाबले अघि बढ्नुहोस्।’

सभापति देउवाले आफूहरूसँग छलफल गरेर नेविसंघको तदर्थ समिति गठन गर्ने आश्वासन दिएको उनको खुलासा छ। ‘उहाँले छलफल गरेर तदर्थ समिति ल्याउने भन्नुभएको छ’, उनले भने, ‘तर अहिलेसम्म छलफल गर्नुभएको छैन। को सँग र कहिले छलफल गर्नुहुन्छ हेर्दै जाऔँ।’ पार्टी नेतृत्वको व्यवहारमा परिवर्तनको खाँचो रहेको र यसका लगि निरन्तर दबाब दिनुपर्ने नेता सिटौलाले आफू निकटका विद्यार्थीलाई बताए। ‘यही तरिकाले पार्टी चल्दैन’, उनले भने, ‘पार्टी नेतृत्वमा व्यपक परिवर्तनको खाँचो छ। नेतृत्व सुध्रनुपर्छ।’

नेता सिटौलाले आफूहरूलाई कमजोर नआक्नसमेत सभापति देउवालाई चुनौती दिए। ‘अहिले को दह्रो को कमजोर भन्नेबेला हैन। महाधिवेशनको नतिजाले देखाउँछ’, उनले भने। सभापति सीमित व्यक्तिबाट मात्र चलेको सिटौलाको आरोप छ। ‘प्रधानमन्त्री कुनै पार्टीबाट निर्वाचित भएर आउछन्। निर्वाचित भएपछि देशको हुन्छन्। पार्टीको हैन’, उनले भने, ‘पार्टीमा पनि महाधिवेशनमा गुटबाटै निर्वाचित भएर आउने हो। तर निर्वाचित भएपछि सिँगो पार्टीको हुने हो।’

‘तलैबाट उठ्न किन डराउने?’
महासमिति बैठकबाट निर्णय भएको विधान केन्द्रीय समितिबाट उल्ट्याउँदै सभापति देउवाले बहुमतबाट पारित गरे।संस्थापनइतर समूहले महासमितिले केन्द्रीय सदस्यले स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था अन्त्य हुनुपर्ने र सभानुपातिकमा पटकपटक अवसर पाउने व्यवस्था हटाउने निर्णय गरेको र यसलाई केन्द्रीय समितिले उल्टाएको भन्दै ‘नोट अफ डिसेन्ट’ नै लेखे।

उनले सभापति देउवाले महासमितिमा गरेको प्रतिबद्धता भुलेको आरोप लगाए। ‘उहाँले नै पाए भन्दैमा केन्द्रीय सदस्यलाई तलै नसक्नुभन्नु भएको हो’, सिटौलाले भने। उनले देउवा निकट केही नेताहरू तलबाट आउन डराएको समेत आरोप लगाए। ‘आफ्नै कार्यकर्ताबाट निर्वाचित भएर आउन किन डराउने?’, उनले भने, ‘केन्द्रको राजनीति गर्ने नेता तल जानै नहुने?’ उनले आफ्ना कार्यकर्ताहरूलाई पार्टी दह्रो बनाउनतर्फ लाग्न निर्देशन दिए। ‘पार्टी बलियो भए हामी सबै बलियो हुने हौँ’, उनले भने, ‘त्यसकारण पार्टी दह्रो बनाउन लाग्नुहोस्।’

‘शेरबहादुर भइन्जेल महाधिवेशन हुँदैन’
नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले यो समितिले नै महाधिवेशन गर्ने सम्भावना हुँदाहुँदै पार्टीले विघटन गरेको दुखेसो गरे। उनले तदर्थ समितिले कुनै पनि हालतमा महाधिवेशन गर्न नसक्ने दाबी पनि गरे। ‘विधानअनुसार तदर्थ समितिले ६ महिनामा महाधिवेशन गर्नुपर्ने हुन्छ’, उनले भने, ‘त्यो सम्भावना त देखिन्न। शेरबहादुर भइन्जेल महाधिवेशन हुने मै शंका छ।’

‘मजदुरको पक्षमा विधान आएन’
सिटौला निटक विद्यार्थीहरूको भेलामा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य पनि पुगेका थिए। उनले कांग्रेसको विधान मजदुरको पक्षमा नआएको दुखेसो गरे। ‘भोट बैँक’को रूपमा रहेका मजदुरलाई पार्टीले समेट्न नसकेको दुखेसो गरे। ‘कम्युनिस्टले मजदुरको नाममा केही काम नगरे पनि नाम मात्रै लिएर चुनाव जीत्छ। यसपटक त हाम्रो पार्टीले पनि विधानमै मजदुरलाई समेट्छ जस्तो लागेको थियो तर भएन’, उनले भने, ‘पार्टीले मजदुरको हितमा पनि विधानमै व्यवस्था गरेर अघि बढ्नुपर्छ।’

 

प्रकाशित: १९ फाल्गुन २०७५ १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App